समायोजन प्रक्रियाप्रति नै असन्तुष्ट

सुर्खेत, ५ बैशाख । छैटौ डिभिजन सुर्खेतका सेक्शन कमाण्डर रहेका गुठु-६ सुर्खेतका मनराज देवकोटा नेपाली सेनामा समायोजन हुने इच्छा हुदाहुदै पनि स्वैच्छिक अवकाश रोज्न बाध्यभएको बताएका छन् । समायोजनको नाममा पार्टीले धोका दिएकाले  आफु बाध्य भएर अवकाश राजेको उनले जानकारी दिए ।
नेपाली सेनामा समायोजन हुादा अपहेलना हुने र आत्मसम्मान पनि नहुने भएकाले अवकाशमा जाने निर्णय गरेको उनले बताए । २०६२ सालदेखि माओवादी युद्धमा लागेका देवकोटाले ‘जनमुक्ति’ सेनाको लगानी र त्यागलाई पार्टी नेतृत्वले वेवास्ता गरेको बताए ।
‘पार्टीले आफ्नो अडान छोड्दा हाम्रो त्याग, तपश्या र बलिदान बालुवामा पानी हालेजस्तो भयो’ उनले भने । उनले भने, ‘हाम्रै कारण नेताहरु सरकारमा पुगे तर अहिले नेताहरुले हामीलाई नै वेवास्ता गरे ।’
त्यसैगरी सेक्सन सह-कमाण्डर अमर खड्काले समायोजन प्रक्रिया अन्योलपूर्ण रहेकाले सेनामा जाने इच्छा भएर पनि अवकाशर रोजेको बताए । २०६२ सालदेखि माओवादी युद्धमा लागेका मेहेलतोली, दैलेखका खड्काले सेनामा समायोजन हुदा पुरानै शैक्षिक योग्यता कायम गरेको र योग्यता अनुसारको दर्जा नपाउने भएकाले पनि समायोजनमा जान नचाहेको बताए । कक्षा ७ मा पढ्दा पढ्दै माओवादीको प्रलोभनमा परी पढाई छोडेर युद्धमा लागेको बताउने खड्काले अवकाशमा गएर पनि आफुलाई सुख नहुने बताए ।
देवकोटा र खड्का मात्रै होइन छैटौं डिभिजनमा पुनर्वर्गीकरणको काम नसकिदै करिब ६० प्रतिशत लडाकुले स्वैच्छिक अवकाश लिइसकेका छन् । पुनर्वर्गीकरणमा रहेका एक हजार ५ सय ५९ जना लडाकुहरुमध्ये सोमबारसम्म नौ सय आठ जनाले स्वैच्छिक अवकाश लिएका छन् । सेना समायोजन विशेष समितिका सदस्य डा.दिपक प्रकाश भट्टका अनुसार पुनर्वर्गीकरण प्रक्रिया जारी रहेकाले अवकाश लिनेहरुको संख्या अझै बढ्न सक्नेछ । भट्टले पुनर्वर्गीकरणको कार्य अझै एक साता लम्बिने जानकारी दिए ।

प्रतिक्रिया