अझै परीक्षा भएन वायुसेवा निगममा

काठमाडौं, ४ वैशाख । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि आवेदन मागेको ६ महिना भइसक्दा पनि परीक्षा गराउन सकेको छैन । आन्तरिक कारण भन्दै निगमले परीक्षा सञ्चालन नगरेको हो ।
लामो समयसम्म परीक्षा नहुँदा तनाव भएको आवेदकहरूको गुनासो छ । निगमले वरिष्ठ सहायक, वरिष्ठ लेखासहायक, लेखाअधिकृत र प्रशासनअधिकृत पदका लागि गत १७ कात्तिकमा आवेदन मागेको थियो । चारवटा पदमा एक सय १९ जनाका लागि करिब २५ हजार प्रतिस्पर्धामा उत्रिएका भए पनि उनीहरूले अहिलेसम्म परीक्षा दिन पाएका छैनन् ।
निगम मानव संशाधन विभागअनुसार परीक्षा सञ्चालनका लागि स्टाफ कलेजलाई आग्रह गरिएको छ तर कलेजले बढी रकम माग गरेकाले समस्या भइरहेको बताइएको छ । ‘हामीले प्रतिव्यक्ति प्रतिपद पाँच सय रुपियाँ उठाएका छौँ, कलेजले सात सय रुपियाँ मागेको छ,’ निगमका एक अधिकारीले भने । संख्या धेरै भएकाले आफैंले परीक्षा गराउन सक्ने अवस्था नरहेको निगमको भनाइ छ । घाटा खाएरै भए पनि असार मसान्तसम्ममा परीक्षा गराउने योजना निगमको छ ।
निगम प्रवक्ता राजुबहादुर केसीले आवेदक धेरै भएकाले परीक्षाका लागि समय लागेको भए पनि प्रक्रियाअन्तर्गत नै परीक्षा गराउने दाबी गरे । परीक्षा सञ्चालनका लागि लोकसेवा आयोगलाई पनि अनुरोध गरिएको उनले जानकारी दिए । निगममा रिक्त रहेका थुपै्र पदमा पर्यटनमन्त्री तथा सञ्चालक समिति सदस्यहरूले करारमा भर्ना गरेकाले पनि परीक्षा गराउन गाह्रो भएको बताइएको छ । ‘यिनैले आन्दोलन गरेर पनि परीक्षा रोक्न सक्छन्,’ निगमका एक अधिकारीले भने । पर्यटनमन्त्री लोकेन्द्र विष्टको सिफारिसमा दैनिक एक/दुईजना आफन्त तथा कार्यकर्ता निगममा आउने गरेको बताइएको छ । हालसम्म मन्त्रीको सिफारिसमा करिब ६० जना कर्मचारी करार तथा ज्यालादारीका रूपमा भर्ना भइसकेको निगमस्रोतले जनाएको छ । त्यस्तै, सञ्चालक समिति सदस्यहरू भन्सार विभागका महानिर्देशक टंकमणि शर्मा र पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले समेत निगममा आफन्तलाई जागिर दिलाएको बताइएको छ ।
निगमले खुला गरेको माग संख्या हालसम्मकै बढी हो । पदका लागि परेको आवेदन पनि रेकर्ड नै कायम भएको छ । हवाई उडानमा निरन्तर घाटामा रहेको संस्थानले आह्वान गरेको विज्ञापनमा पदसंख्या भन्दा एक सय ९३ गुणाबढी आवेदन परेको छ ।
निगमले नियमितरूपमा पदपूर्तिको आवेदन खुला नगर्दा एकैचोटि यति धेरै आवदेन परेको हो । जागिरका लागि बाह्य व्यक्तिहरूले दलालीसमेत थालेको भन्दै निगम व्यवस्थापनले विज्ञप्ति जारी गर्नुपरेको थियो । हाल निगममा एक हजार पाँच सय कर्मचारी छन् ।

प्रतिक्रिया