“छोरीको माया मारेर बन्दुक समातेँ”

राजनीति नै किन रोज्नुभो ?
समाजमा देखिएको उत्पीडन, सामन्तको दमन, पुलिस प्रशासनले हुनेखानेकै पक्षमा फैसला गर्ने परिपाटी, अनि महिलालाई दुःख दिने सामाजिक संस्कारले पीडाबोध भयो । यी समस्याको अन्त्य गर्ने शक्ति राजनीतिक पार्टी हो भन्ने लाग्यो । त्यसमा पनि कम्युनिस्ट पार्टी प्रभावकारी हुन्छ भनेर तत्कालीन मालेको सम्पर्कमा गएँ ।
कति वर्षको उमेरमा लाग्नुभयो ?
तेह्र वर्षकी थिएँ त्यतिबेला । मालेले चलाएको आन्दोलनमा सहभागी भए पनि संगठित भने थिइनँ ।
कसैको प्रेरणा पनि थियो कि ?
यसमा म आफ्नै दाजु सहिद रीतबहादुर खड्कालाई गुरु मान्छु । उहाँकै प्रेरणाले मलाई विचार, सिद्धान्त र वर्गीय लडाइँबारे सिकायो ।
महत्वाकांक्षा कस्तो थियो ?
मान्छेले मान्छेलाई गर्ने शोषण, अन्याय, अत्याचारको अन्त्य । जुनसुकै प्रकारका विभेद अन्त्य भएको समाज निर्माण ।
युद्धकालीन क्षण कस्ता थिए ?
सकारात्मक-नकारात्मक दुवै छन् । मैले नेतृत्व गरेको मैनापोखरी मोर्चा, ढाडेदेउलाङ भिडन्तमा तीन-चार दिन खानै खान पाएनाँैं । त्यसअघि किलो सेरा टुको अपरेसनमा तीन दिन पानीको छाँगाभित्र बसेर बाँच्नुपरेको थियो । तामाकोसी भिडन्तका बेला सेना हातले समाउन सकिने गरी आमनेसामनेको अवस्थामा थियो । सिन्धुपाल्चोकको ठोकर्पामा भएको हवाई आक्रमणमा छोरी साथमै थिई । छोरीको सुरक्षा गर्नु कि नेताको ! तत्काल निर्णय गरेँ- छोरी त फेरि पनि जन्माउन सकिन्छ । नेता मरे जन्माउन समय लाग्छ । छोरीलाई माया मारेर चौरमा छाडिदिएँ र नेताको सुरक्षा गर्न बन्दुक समातेँ ।
छोरी के भन्छिन् अहिले ?
ममीले मलाई दूध खान नदिएको, सानामा एक्लै छाडेको भन्छे । यी कुरा सुन्दा र विगत सम्झँदा असीमित पीडा हुन्छ । आमाले भन्दा माया गर्ने दाजु गुमाएँ, छोरीमान्छेको सबैभन्दा बहुमूल्य चिज इज्जत हो, त्यो रक्षा नहुँदासम्मको यातना खेपँे । सात महिनाकी छोरी छाडेर लडाइँमा जानुपरेको थियो ।
युद्धमा लाग्दा वैयक्तिक जीवन खल्लो भएको अनुभूति हुँदैन कहिलेकाहीँ ?
अहिलेसम्म त्यस्तो कुनै पश्चात्ताप छैन । आन्दोलनको त्यतिबेलाको लक्ष्य र गन्तव्य अनि अहिलेको अवस्था देख्दा समग्रमा केही असन्तुष्टि त छन् । निष्ठापूर्वक लडेको लडाइँका बेला जनतालाई दिलाएको विश्वासमा केही शंका छन् आफंैप्रति । निराशा त होइन तैपनि कुन बाटो हिँडिँदै छ भनेर कहिलेकाहीँ झस्किन्छु । सानै उमेरबाट कार्यकारी पद सम्हाल्दै आएकाले होला, सपनामा पनि जिम्मेवारी कसरी पूरा गर्ने भनेर देख्थेँ । व्यक्तिगत जीवनबारे सोच्दै सोचिएन ।
बिपनामा जनताप्रतिको जिम्मेवारी कत्तिको पूरा भएको पाउनुहुन्छ ?
हो, हिजो जनतालाई भनेजसरी लडेर नै सत्ता लिन सकिएन । सम्झौतामा जानुपर्ने भयो । बाटो परिमार्जन गरेर अघि बढ्नु परिस्थितिले पैदा गरेको बाध्यता हो । त्यही बाध्यताका कारण अहिले हिँडेको बाटो अनिवार्य थियो, छ ।
पार्टीभित्रको एउटा पक्ष त अझै लडेरै सत्ता लिने भन्छ नि ?
सपना देख्न सबैलाई छुट छ । बाटो, शैली परिवर्तन गर्दैमा सोचाइ परिवर्तन हुँदैन । हुनु पनि हुँदैन । शान्तिपूर्ण ढंगबाट वा अलि ढिला गरेर भए पनि देशलाई समृद्ध बनाउन लाग्नुपर्छ । श्रमिक वर्गको हितसहितको योजना अनि आर्थिक, सांस्कृतिक, सामाजिक रूपान्तरणमार्फत समृद्ध राष्ट्र बनाउने लक्ष्यमा यसले अवरोध गर्दैैन ।
युद्धमा महिला भएकै कारण भोग्नुपरेका समस्या कस्ता रहे ?
५४ सालमा २८ दिन बेपत्ता हुँदाको अवधिमा भोगेका यातना महिला भएकै कारणले थिए । सायद पुरुषले त्यस्तो यातना पाएनन् पनि ।
युद्ध-मोर्चामै सुत्केरी हुनुभो, शारीरिक कठिनाइ भोग्नुपरेन ?
त्यसलाई गर्वका रूपमा पनि त लिन सकिन्छ नि । कहिलेकाहीँ शारीरिक रूपमा असहज हुनु स्वाभाविकै हो । पुरुषले त बच्चा चाहेर पनि जन्माउन सक्दैनन् नि ! प्रकृतिले हामीलाई यो मामलामा गौरव गर्ने ठाउँ दिएको छ । महिलालाई जति पीडा छ, त्यति नै सहन सक्ने क्षमता पनि प्रकृतिले दिएको छ । बच्चाको साल काट्दाकाट्दै फोनबाट निर्देशन गर्दै थिएँ ।
सरकार पक्षको यातना भोगिरहँदा कस्तो सोचाइ आउँथ्यो ?
अधिक यातनाले बेहोस भएर होसमा आउँदा धुलिखेलको चिसो ठाउँमा थिएँ । त्यति बेला आमा, बुबा वा आफ्नो व्यक्तिगत जीवनको चित्र आएन । मैले खेपेको यातनाले भोलिका दिनमा समृद्ध अनि समानतामा आधारित समाज बोकेको नयाँ नेपाल यस्तो होला भन्ने चित्र आयो ।
नमारिनुपर्ने मान्छे मारिए कि तपाईंबाट ?
आफैंले त एकजना पनि मारिनँ तर मेरो कमान्डमा धेरै मरे । तलबाट आएको सूचना गलत हुँदा नमारिनुपर्ने मान्छे पनि मरे । युद्ध भनेको नापेर वा तौलेर त हुँदैन नै, तर गलत सूचना दिने कार्यकर्तालाई कारबाही हुन्थ्यो ।
युद्धमा जनतालाई बाँडेका सपना कति पूरा भए ?
सपना आफैँ त पूरा हुँदैन, लागिपर्नु पर्छ । परिस्थितिअनुसार फरकफरक बाटा छानिन्छन् । हो, हिजो पढ्दै गरेका भाइबहिनीलाई स्कुल छुटाएर युद्धमा लग्यौँ । आज परिस्थिति फेरिएको छ । हाम्रो जीवनशैली सामान्य छ । हामीभन्दा सिनियरहरू गाउँमा नै छन् । हिजो बन्दुक पड्काउनुपथ्र्यो, आज दिमाग खियाउनुपर्छ । आर्थिक हिसाबले त कमजोरै छाँैं  तर हिजो जनताको घरबाट भरुवा बन्दुक लिएर पड्काउँदा जुन आनन्द आउँथ्यो, आज त्योभन्दा चौगुना आनन्द देशको आर्थिक विकासको परिकल्पनामा आउँछ ।
मन्त्री भएपछि त्यति बेलाका दुःख केही धूमिल पनि हुँदै छन् कि ?
होइन, झनै सम्झना आउँछन् । त्यसैले त जनताप्रति प्रतिबद्ध भएर काममा लागिन्छ । सबै दुःख बिर्सिएर त जनताको कामै गर्न सकिँदैन नि !
युद्धकालमा भत्काइएका संरचना बनाउनतिर कत्तिको संवेदनशील हुनुहुन्छ ?
एकाध सरकारी कार्यालय मात्र बाँकी होला, नत्र अरू सबै बनिसकेका छन् । नेपालमा २७ वर्ष भएछ क्षेत्रीय सडक बन्न लागेको तर  दोलखामा एउटा पनि थिएन । अहिले सात  क्षेत्रीय सडक छन् । यस्ता धैरै योजना छन् । हामीले लगानी गर्ने होइन, त्यसका लागि सहज वातावरण बनाउने हो । जनता र सरकार अनि जनता र निर्माण एजेन्सीहरूका बीचमा पुलको काम गर्ने हो जनप्रतिनिधिले । त्यो काम मैले क्षमताले भ्याएसम्म गरेकी छु ।
प्रस्तुतिः चमिना भट्टराई

प्रतिक्रिया