शिविरमा अनियमितता

एकीकृत नेकपा माओवादीभित्र आर्थिक अनियमितता मौलाउँदै गएको घटनाहरूबाट प्रष्ट हुन्छ । पार्टीको शीर्ष नेतृत्वदेखि तल्लो तहका कार्यकर्तासमेत आर्थिक मामिलामा अति कमजोर देखिएका छन् । यसको ज्वलन्त प्रमाणका रुपमा शिविरमा रहेका आफ्नै लडाकुको शोषणलाई लिन सकिन्छ । शिविरमा रहेका लडाकुबाट मासिक रुपमा उठाइएको रकममा ठूलो अनियमितता भएको खबर प्रकाशमा आएको छ । अहिले त्यही अनियमितताको विषयलाई लिएर लडाकुहरूले आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् । र, हात्तीखोर शिविरमा अनियमितताको विरोध गर्ने चार लडाकुलाई बन्धक बनाइएको खबर बाहिर आएको छ । माओवादी लडाकुका सात मुख्य शिविरमध्ये चितवनस्थित तेस्रो, नवलपरासीस्थिति चौथो र सुर्खेतस्थित छैटौँ डिभिजनमा अत्यधिक अनियमितता भएको दाबी लडाकुले नै गरेका छन् । आफूहरूबाट मासिक रुपमा उठाइएको रकमको हिसाबकिताब पारदर्शी ढंगले यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् । कमान्डरहरूबाट आफ्नै लडाकु शोषित भएको घटनाले एमाओवादीको नीतिप्रति नै अविश्वास फैलिएको छ । शीर्ष नेतृत्वकै निर्देशनमा सरकारले दिएको रकमबाट मासिक एक हजार बुझाएका लडाकु आफ्नो शोषण भएको बुझेपछि आक्रोशित बनेका हुन् । यस विषयमा एमाओवादी नेताहरूले पारदर्शी भएर हिसाबकिताब देखाउन सक्नुपर्छ । यो लडाकुको मात्र होइन, राज्यकै चासोको विषय पनि हो ।
शोषण, दमन, उत्पीडन र गरिबीबाट जनतालाई मुक्त पार्ने, भ्रष्टाचार र आर्थिक अनियमितता निर्मूल पार्दै शोषणरहित समाज निर्माण गर्ने उद्देश्यको नारामा आकषिर्त गरिएका लडाकु आफैँ शोषित बन्नु साँच्चै दुःखद् घटना हो । एमाओवादी पार्टीको भनाइ र गराइमा पहिलेदेखि नै एकरुपता थिएन । यस घटनाले उक्त पार्टीमाथि अझ प्रशस्त शंका गर्ने ठाउँ सुरक्षित गरिदिएको छ । पार्टीले ठूलो धनराशि संकलन गरेको र त्यो सम्पूर्ण सम्पत्ति पार्टी नेतृत्वले एकलौटी बनाएको आवाज पनि पार्टीभित्रैबाट उठिरहेको छ । उपाध्यक्ष वैद्य समूहले आफूहरूलाई आर्थिक नाकाबन्दी गरेर संस्थापन पक्षले हिसाबकिताब लुकाएको आरोपसमेत लगाएको छ । यस्ता अनगिन्ती आरोपबाट घेरिएको एमाओवादी नेतृत्वलाई पछिल्लो घटनाले शोषक, सामन्त र कृतघ्नमा रुपान्तरण गर्दै लगेको बुझ्न सकिन्छ ।
मुलुकको सबैभन्दा ठूलो दलका रुपमा स्थापित, सर्वहारा वर्गको पार्टी र न्यायपूर्ण व्यवहार गर्छौं भन्ने नेताहरूले आफ्नै लडाकुलाई चरम शोषण गर्नुभन्दा अन्याय अरु के हुन सक्छ ? आफ्नो घरबार र ज्यानको माया मारेर १० वर्षे सशस्त्र संघर्षमा होमिँदै राष्ट्र र जनतालाई मुक्ति दिलाउने सपना साूचेका लडाकु आफ्नै कमान्डरले गरेको शोषणविरुद्ध आन्दोलित हुनु पर्ने अवस्थामा पुगेका छन् । आर्थिक अनियमितता गर्नु हुँदैन, पारदर्शी हुनुपर्छ भन्ने तर आफ्नै हिसाबकिताब माग्ने लडाकु शिविरमै कुटिएका र थुनिएका छन् । यो घृणायोग्य कार्य हो । आदर्शवादी भाषण गर्ने एमाओवादी नेतृत्वले शिविरमा भएको अनियमितताको फेहरिस्त बाहिर ल्याउनुपर्छ  किनकि लडाकुलाई मासिक भत्ता राज्यकोषबाट दिइएको हो । त्यो जनताको सम्पत्ति हो । सदुपयोग भए राम्रो हो नत्र उल्फाको धन फुपूको श्राद्ध गर्न पाइँदैन । पुनस्र्थापनामा जाने लडाकुलाई राज्यले उपलब्ध गराएको चेक खोसिनु, पाएको भत्ता कटौती हुनु तर कमान्डरहरू भने अथाह सम्पत्तिको मालिक बन्नुले एमाओवादीको चरित्रमाथि नै आशंका उत्पन्न हुन पुगेको छ । नेतृत्वले यस्ता कामकारबाही तुरुन्त सच्याएर यथार्थ विवरण पारदर्शी ढंगले जनसमक्ष ल्याउनु पर्छ ।

प्रतिक्रिया