नेपालमा कम्युनिस्ट आन्दोलनको विस्तार

नेपालमा कम्युनिस्ट आन्दोलन चर्चाको चुलीमा पुगेको छ । २००६ सालमा भारतको कलकत्तामा  पुष्पलालको नेतृत्वमा गठन गरिएको पाँचजना युवाको सानो समूह नै आज देशमा नेपाल कम्युनिस्ट पार्टीभित्रका एक दर्जन साना ठूला गुटको माउ हो । तिनै गुटको एउटा घटक देशमा १० वर्ष जनयुद्धको नाममा संघर्षरत रहेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी-माओवादी) पनि हो । त्यस्तै ०२८ देखि सुरु भएको झापा किसान संघर्षबाट उत्थान भएको नेपाल कम्युनिस्ट पार्टी -एकीकृत माक्र्सवादी-लेनिनवादीे) पनि आज यसै आन्दोलनको एक प्रमुख धार बनेको छ । यसबाहेक यिनै दुई स्कुलिङको नजिकबाट वा त्यसैभित्रबाट अवतरित चिन्तनले अगुवाइ गरेका समूह नै यस आन्दोलनका सहायक शाखा बनेर रहेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनभित्र झापा किसान आन्दोलन या झापा किसान विद्रोह पृष्ठभूमि र त्यसको संघर्षबारे यहाँ केही चर्चा गर्ने जमर्को गरिएको छ ।
००६ सालमा नेकपाको गठनपछि नै देशभित्र यसको प्रभाव विस्तार हुन थाल्यो । साथै काठमाडौं उपत्यका र त्यस बाहिरको भूभागमा किसान क्षेत्रमा यसले आफ्नो प्रभाव जमाउँदै लग्यो । किसानलाई त्यसबेलाको जमिन्दारी प्रथाले भूदासकै जस्तो सामन्ती शोषण गरिरहेको अवस्था थियो । किसानको जमिनमाथि कुनै हक नै हुन्नथ्यो । जमिन्दारले चाहेमा असार/साउनमा आधा धान बाली लगाएका जोताहा किसान पनि जमिनमा बाली लगाउन नपाई सहजै धपाइन्थे । रुँदै त्यस्ता किसान अन्यत्र गएर गरी खान बाध्य हुन्थे । बाली लगाउन पाउने किसानले पनि चर्को ब्याज दरमा आफूले कमाएको जमिनकै मालिक जमिन्दारबाट मात्र अन्न बेसाउनुपर्ने बाध्यकारी नियमभित्र थिए । गोरु, हलो, बीउ, किसानको स्वास्थ्य उपचार र लुगाफाटाका निम्ति लिइने ऋण र त्यसको ब्याजले मंसिर र पुसमा उत्पादन हुने धानको आधा भाग जो किसानले पाउँथे, त्यसबाट ऋण तिर्नै पुग्दैनथ्यो । किसान खेती गर्थे, आधा उत्पादन जमिन्दारकै हुन्थ्यो । आधाले ऋण तिर्न नै नपुगेपछि खलोबाट जम्मै धान जिमिदारकै ढिकुटीमा पुर्‍याउनुपथ्र्यो । खाली बोरा र रित्तो हात आफ्नै झुप्रामा फर्केर खुइय्य गर्ने अवस्था किसानको थियो । त्यसबेला गोरु जमिन्दारकै हुन्थे र बीउ पनि जमिन्दारले नै दिने चलन थियो । गोरुको भाडा जसलाई ‘पाना’ भनिन्थ्यो र बीउ जति लाग्थ्यो, त्यसको दोब्बर किसानको मूल उत्पादनबाट झिकिन्थ्यो । पाना चर्को थियो । १० मनदेखि २० मनसम्म प्रति हल गोरु प्रतिवर्ष किसानको उत्पादनबाट जमिन्दारले निकाल्थे । ब्याज २५ प्रतिशतभन्दा माथि नै नगद, जिन्सी सबैमा लगाइन्थ्यो । यस्तो प्रक्रियाबाट जमिन्दारका नजरमा खराब नठानिएका जोताहा किसान बर्सेनि जग्गा जोतिरहन्थे ।
जग्गा मालिक यस्तै प्रक्रियाबाट किसानको उत्पादन खलोबाटै जम्मै जफत गरिरहन्थे । यस्तो शोषणको जर्जरमा फसेका किसानबीचमा नेकपाको विद्रोहको आह्वानले ठूलै आँधी निम्त्यायो । झापादेखि कञ्चनपुरसम्मको तराईका मैदानमा ००७ पछि खलियान जफत गर्ने, जोताहा किसानबाट जमिन बेदखल गर्न नदिने अभियानजस्तै गरी आन्दोलन ठाउँ ठाउँमा सचेत रुपमा हुँदै गए । झापामा त ००७ पछि बीउ, कृषि औजार र ब्याजदर सस्तो र सहज बनाउन र किसानले लगाएको धान बालीमा धान काट्ने, उठाउने र धान दाइँ गरेबापत जमिन्दारले ऋणमा कट्टा गर्न नपाउने गरी सैकडा १० -मुरीमा दुई पाथी धान) उब्जनीबाट किसानले पाउने आन्दोलन भयो, जसलाई त्यहाँ ‘दिने’ आन्दोलन भनिन्छ । त्यसका लागि किसानले खलोमा ‘दाइँ बन्द’ समेत गरे र किसानका यी सर्त मान्न जमिन्दार तयार भएका थिए । यसरी किसानकै आन्दोलनले राजा महेन्द्रले ०२१ सालमा भूमिसुधार कार्यक्रम घोषणा गरेर बाली, अधियाँ प्रथा अन्त्य गरी सम्पूर्ण उत्पादनमा ठेक्काप्रथा र जोताहा किसानलाई मोहियानी हक दिने कानुन बनाउनु पर्‍यो ।
किसानको लामो संघर्षबाट प्राप्त भएको किसान हकहितको आंशिक अधिकार-जोताहा किसानको जमिन जोत्न पाउने मोहियानी हक र मोहियानी हक छाड्न या छोडाउन खोजे जमिनकै २५ प्रतिशत मूल्य वा जमिनै पाउने हकमाथि पुनः जमिनदारले गैरकानुनी धावा बोल्न थाले । त्यसपछि झापामा कम्युनिस्ट आन्दोलनबाट प्रभावित युवाले जमिन्दार वर्गविरोधी आन्दोलनका लागि किसानलाई आह्वान गरे । ०२८ सालदेखि हिंसात्मक रुपमा प्रकट भएको यो आन्दोलनको बीजारोपण भने ०२४/२५ सालदेखि नै किसानहरू जमिन्दारहरूको यो नयाँ रुपको गैरकानुनी शोषणविरुद्ध कानुनी लडाइँमा लागेपछि भएको थियो । सरकारको भूमिसुधार निकाय वा न्याय निकायहरू किसानका पक्षमा होइन, जमिन्दारवर्गकै पक्षपोषणतिर प्रस्टिएपछि किसानका अगुवा सशक्त प्रतिकारतिर लागे । यस्तै दौरानमा नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशीहरू समेतका अगुवा युवा विभिन्न स्थानमा गुरिल्ला स्क्वाड निर्माण गर्दै त्यहाँ राजनैतिक नेतृत्व गर्न थाल्नु भयो । यसै अभियानमा कृष्ण कुइँकेल, नारायण श्रेष्ठ सहभागी हुँदै अगाडि बढ्नु भयो ।
पूर्वी झापा, मध्य झापा र पश्चिम झापामा नयाँ विद्रोही संगठन र त्यस मातहतका गुरिल्ला स्क्वाड विभिन्न रुपमा सक्रिय थियो । यिनै संगठनले नै त्यसबेला जमिन्दार वर्गविरुद्ध जेहाद छोडेको थियो । गुरिल्ला स्क्वाडमार्फत जनसेना निर्माण गर्दै जनगणतन्त्र स्थापना गर्ने लक्ष्यका साथ सुरु गरिएको झापा विद्रोहका अगुवाहरू थिए,  नेत्र,  रामनाथ,  वीरेनलगायत योद्धा । प्रतिक्रियावादी सत्ताले अगुवा कमरेडहरू नेत्र, रामनाथ, वीरेन, कृष्ण र नारायणहरूलाई २१ फागुन ०२९ मा सुखानी जंगलमा जेल सरुवाका नाममा हत्या गर्‍यो । संगठनको कमजोर स्थिति र प्रतिक्रियावादीको तीव्र दमनपछि त्यसबेलाको नेतृत्वले राजनैतिक प्रतिकार गर्न सकेन र नै गुरिल्ला संघर्षको विकास हुन सकेन । नेकपा
-माले) को गठन र त्यसपछि झन् ०३७ सालपछिको नेकपा -माले) क्रमशः सशस्त्र संघर्षको लाइनबाट स्खलन हुँदै आज एमाले हुन पुग्यो । माक्र्सवादी चिन्तनबाट चिप्लेर संसदीय राजनीतिमा मात्र सीमित भएको एमाले  आज हिजोको झापा विद्रोह र २१ फागुनको नामबाटै तसिर्ंदैछ । झापा विद्रोहबारे राजनैतिक चर्चा गरे अहिलेको एमालेको बाटो धमिलो हुने भएकाले झापा संघर्षको चर्चा गर्दा पनि अहिलेको संसदीय राजनीतिका काला धब्बाजस्तै गरी चित्रण गर्ने गरिन्छ ।
तर पनि झापा कालका राजनैतिक योद्धाका रक्तरञ्जित पदचापहरू महान् छन् र ती छोपिंदैनन् । अहिलेका संसदीय खेलभन्दा भिन्न छन् । त्यसैले नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोह र त्यसका सहिद महान् छन् ।  यस आन्दोलनको परिणाम र उपलब्धिबारे कम्युनिस्ट जगत्ले समग्र मूल्यांकन गर्न जरुरी छ । निर्भीकतापूर्वक भन्ने हो भने अहिले अस्तित्वमा रहेका साना-ठूला सबै कम्युनिस्ट घटक झापा विद्रोहकै ब्याज खाएर हुकिर्दैछन् । यो इतिहास हो, वास्तविकता हो र यथार्थ पनि यही हो ।

प्रतिक्रिया