आत्मसमर्पण होइन साइकोमेनिया

निर्धारित समयभन्दा दुई दिनअगाडि नै जनमुक्ति सेनाको शिविर नेपाली सेनाको जिम्मा लगाइयो । शिविरका लडाकु तथा हातहतियार सेनाले जिम्मा लिएपछि यसलाई सकारात्मक रूपमा लिई स्वागत गर्ने र आत्मसमर्पण गरेको भनी माओवादीभित्रबाटै विरोध भएको छ । यो कार्यलाई एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्रीले क्रान्तिप्रति विश्वासघात गरेको भनी सडकमा समेत विरोध भएको छ ।
यसरी हेर्दा के जनमुक्ति सेनालाई सिध्याइएको हो वा क्रान्तिप्रति धोका भएको हो वा विश्वासघात भएको हो भन्नेजस्ता प्रश्नका बारेमा स्पष्ट हुनु जरुरी छ । साथै चैत मसान्तमा सेनाको जिम्मामा जनमुक्ति सेना हस्तान्तरण गर्ने कार्यक्रम रहेकामा दुई दिनअगाडि नै एकाएक जिम्मा लगाएपछि केही प्रश्न खडा हुन गएका छन् । यही सेनाका नाममा दुवैथरीले अड्को थापेर संविधान निर्माणमा अवरोध गर्ने तथा बार्गेनिङ गर्ने काम हुँदै आएकोलाई यसले ब्रेक लगाएको छ । नेपालको राजनीतिमा रहेको कठिन र गाँठो परेको परिस्थितिको अन्त्य भएकाले यसबाट नेपालको तरल राजनीतिलाई तरंगित गरिदिएको देखिन्छ ।
सेना समायोजन र शान्तिप्रक्रियालाई अगाडि बढाउने क्रममा यसअघि नै समायोजनमा जाने, शैक्षिक अवकाश रोज्ने र पुनस्र्थापनामा जानेको वर्गीकरण भई स्वैच्छिक अवकाश र पुनस्र्थापनामा जाने लडाकुले शिविर छाडिसकेका छन् । अहिले शिविरमा रहेका नौ हजार सात सय समायोजनको पर्खाइमा रहेको र सेनामातहत रहन इच्छुकहरू केही प्राविधिक विवादले मात्र शिविरमा रहेका थिए तर केही विवाद बाँकी रहँदा र दुई दिन बाँकी रहँदै सेनालाई शिविर लडाकु र हतियार हस्तान्तरण गर्ने निर्णय हुनुलाई चामत्कारिक निर्णयका रूपमा लिइएको छ । यसले लामो विवादको क्रमभंगता हुन पुगी दुई सेनाको अवधारणा समाप्त भएको छ । जनमुक्ति सेनाका लडाकुसमेत सेनाकै अंगका रूपमा स्थापित हुन पुगेका छन् । समायोजनको पर्खाइमा रहेका र नेपाली सेनाको अंग बन्नका लागि प्रतिक्षारत रहेकाहरूको प्रतीक्षाको घडी समाप्त भएको छ । जनमुक्ति सेनाका लडाकुलाई सेनाको जिम्मामा पठाउने जुन निर्णय एमाओवादीका अध्यक्ष प्रचण्डले गरे त्यो जोखिम मोलेरै गरेका छन् । यसबाट शान्तिप्रक्रियालाई बन्धक बनाएर राजनीति गर्ने जुन काम भइरहेको थियो त्यसको अन्त्य हुन पुगेकालाई सुखद् मानिनुपर्छ ।
जनमुक्ति सेनाको नाममा संसदवादीहरूले किचलो थापी संविधान लेखनलाई अवरुद्ध गरिरहेको अवस्था थियो । माओवादीभित्रकै असन्तुष्ट पक्षले पनि सम्मानपूर्ण समायोजन भनी अडान लिइरहेको थियो । संविधान निर्माण र शान्तिप्रक्रियामा समेत यसले अवरुद्ध बनाएको कसैबाट छिपेको छैन । विभिन्नखाले चलखेल भइरहेको अवस्थामा जुन साहसिक निर्णय माओवादीका अध्यक्ष प्रचण्डले अवरुद्ध राजनीतिको निकास भएकाले यसबाट नयाँ नेपालका लागि बाटो खुलेको छ । यसबाट जनमुक्ति सेनाकै नाममा मुलुकमा अवरोध खडा गरी जनताको संविधान बन्न नदिई प्रतिगमनलाई मौका दिने जुन संसद्वादीहरूले काम गरेका थिए, त्यो स्थितिसमेत अन्त्य भएको छ । सेनाको शिविरमा प्रवेश र जनमुक्ति सेनाका लडाकुको ब्यारेकको यात्रा नेपालको राजनीतिका लागि अविस्मरणीय र युगान्तकारी घटनाका रूपमा रहन पुगेको छ ।
यो कार्यले शान्ति बिथोल्न र समायोजन प्रक्रियालाई अवरुद्ध गर्न सक्रिय रहेका सबैको षड्यन्त्रलाई रोकेको छ । यदि सेनालाई जिम्मा लगाउन दुई दिन पर्खेको भए शिविरभित्र र बाहिरका गतिविधिले यो प्रक्रियालाई बिथोल्ने थियो । यही काम हुन सक्ने खतरा महसुस गरेर नै सेनालाई लडाकुका ब्यारेक बुझाएर दुर्घटनाबाट जोगाउने काम भएको छ । यसले गर्दा पाँच वर्षदेखि अनिश्चित, अन्योलपूर्ण स्थितिमा रहेका लडाकुको समस्याले निकास पाएको छ । यसअघि यी शिविरमा रहेका लडाकुको नाममा विभिन्न स्वार्थ भएका शक्तिहरूले आफ्नो अभीष्ट पूरा गर्नका लागि प्रयोग गरिरहेकामा यो घटनाले निराश पारेको हुनुपर्छ । निश्चिय नै सेनाको शिविर प्रवेशपछि क्रिया प्रतिक्रिया हुनुलाई सामान्य घटनाका रूपमा लिइनुपर्छ । जनमुक्ति सेनाको १५ वर्ष लामो निरन्तरता, १० वर्षे जनयुद्ध, पाँच वषर्ीय अनिश्चित ब्यारेकीय जीवनको अन्त्य गरी एकाएक स्थितिमा परिवर्तन हुँदा सामान्य घटना र असन्तुष्टि देखिनु स्वाभाविक हो ।
जहाँसम्म सम्मानजनक समायोजन नभएको, आत्मसमर्पण भएको र क्रान्तिलाई धोका दिएका जस्ता कुरा एमाओवादीभित्रकै असन्तुष्ट पक्षबाट उठिरहेको छ त्यसलाई स्वाभाविक रूपमा लिइनुपर्छ । वास्तवमा यो कार्य माओवादीभित्र रहेको एक पक्षीयको साइकोमेनिया वा प्रत्येकलाई नकारात्मक दृष्टिले हेर्ने र अविश्वास गर्ने नकारात्मक सोचका रूपमा रहेको देखिन्छ । मनोविज्ञानसम्बद्ध वैज्ञानिकहरूले हालै गरेको अनुसन्धानले के पत्ता लागेको छ भने मानिसमा दुई खालको मस्तिष्क हुन्छ । एउटा ठूलो र अर्को सानो । ठूलो मस्तिष्कले सकारात्मक सोचको तरंग पैदा गर्छ भने सानो दिमागले नकारात्मक सोच पैदा गर्ने एक किसिमको तरल वस्तु पैदा गर्दछ । यसबाट निराशा, कुण्ठा, नकारात्मक सोचको जन्म हुन्छ । यसले विद्रोह, हत्या वा उथलपुथलमा रमाउने गर्छ । हिटलरले प्रत्येक वर्ष युद्ध र २० वर्षमा महायुद्धको परिकल्पना गरेका थिए । यो नकारात्मक दिमागले जहिले पनि विद्रोह, हिंसा, हत्या र नकारात्मक कुराभित्र सौन्दर्य देख्छ । ठीक यसको विपरीत सकारात्मक सोचले सबै कुरालाई शान्ति, विकास र सहयोगमा सौन्दर्य देख्छ । यदि कुनै ग्लासमा आधा पानी राखिएको छ भने सकारात्मक सोचले आधा पानी भरिएको देख्छ भने नकारात्मक सोचले त्यही ग्लासलाई आधा खाली देख्छ । अहिलेको आत्मसमर्पण देख्नु वा यसलाई ढोका खुलेको देख्नु पनि यही साइकोमेनिया हो ।
जनमुक्ति सेना अहिलेको समायोजनका लागि तयार भएर बसेका थिए । यो कार्य पाँच वर्षअघि नै सकिनुपर्ने थियो तर विदेशीसमेतको षड्यन्त्रले रोकिँदा पाँच वर्ष विलम्ब भइसकेको अवस्था छ । यसबाट मुलुक अरू कठिन स्थितिमा पुगेको छ । यो परिघटनालाई आत्मसमर्पणका रूपमा भन्दा पनि स-सम्मान समायोजन भएका रूपमा लिइनु पर्छ । यो घटनाले जनमुक्ति सेनाको महान् त्याग र बलिदानलाई मान्यता दिने काम भएको छ । दोस्रो कुरो सेनामा समायोजन भई जनमुक्ति सेना राष्ट्रिय सेनाका रूपमा स्थापित हुनु भनेको जनमुक्ति सेनाको सम्मान हुनु हो । उनीहरूको कामलाई सम्मान गर्नु र मान्यता प्राप्त गर्नुलाई आत्मसमर्पण मान्नु हुँदैन । माओवादीको असन्तुष्ट पक्षले सम्मानजनक समायोजनका कुरा गरेका छन् । यो गर्नुपथ्र्यो तर अहिले यो पक्षको लक्ष्य र उद्देश्यसमेत स्पष्ट देखिँदैन । शिविरमा सेना राखेको नाममा मुलुकलाई बन्धक बनाउने शक्तिलाई अल्झो चुडाउनु र राष्ट्रिय सेनामा स-सम्मान स्थान प्राप्त गर्नु आत्मसमर्पण मान्न सकिँदैन । एकाध पदका लागि राष्ट्रको महान् उद्देश्यमाथि आघात पार्नु हँुदैन । यो कार्यबाट जनमुक्ति सेनाको टाउकामा दोष थोपरेर राजनीति गर्ने शक्तिको षड्यन्त्रलाई पराजित गरेको हुँदा यो आत्मसमर्पण होइन । यसलाई आत्मसमर्पण ठान्नु साइकोमेनिया मात्र हो ।
-लेखक एनेकपा माओवादीका सल्लाहकार हुन् ।

प्रतिक्रिया