छोरी भेट्न आइन् फुलारानी

नेपालगन्ज, ४ वैशाख । ‘मरिन् भन्ने ठानेर अस्पतालमा छाडेर गएका हौँ,’ बर्दिया मगरागडी-९ का बलबहादुर थारूले भने, ‘नातिनी जीवितै रहेको खबरले आजको दिन जीवनकै खुसीको दिन भयो ।’
२७ चैतमा बुहारी फुलारानीलाई लिएर अस्पताल आएका थारूले २८ चैतमा बच्चा मरेर आमालाई डिस्चार्ज गरेको ठानेर बुहारी लिएर घर फर्किएको बताए । ‘बच्चाभित्र लिएर गए, आमालाई बाहिर निकाले,’ थारूले भने, ‘मेरै कारण नातिनी र आमाबाबुबीच यत्रो दिन भेट भएन, अस्पतालले पनि केही भनेन ।’
सोमबार सौर्य दैनिकमा पृष्ठ पाँचमा प्रकाशित ‘अस्पतालमा छोरी छाडेर आमा फरार’ शीर्षकको समाचार गाउँलेले थारू परिवारमा पुर्‍याएपछि उनीहरू अस्पताल आएका हुन् ।
‘बिहानै राम्रो खबर सुन्न पाइयो,’ थारूले भने, ‘अपांग छोराबुहारीलाई मैले अन्याय गरेजस्तो देखियो तर नियत राखेर होइन ।’ छोरा नरेशले एक वर्षअघि फुलारानीलाई विवाह गरेका थिए । सामान्य खेती किसानी गरेर परिवार पाल्दै आएका थारूका छोराबुहारी नै बोल्न सक्दैनन् ।
कान नसुन्ने र बोल्न नसक्ने थारू दम्पतीले छोरी अस्पतालमा खेलिरहेको देख्नेबित्तिकै गालामा म्वाइँ खाएका थिए । उनीहरूले छोरी राम्री छ भन्दै आँखाले संकेत गरेका थिए ।
बच्चाको तौल कम पाएपछि अस्पतालले २७ चैतको राति नै शिशुलाई आइसियुमा राखेर आमालाई डिस्चार्ज गरेको थियो । अस्पतालमा शिशु छाडेर आमा बेपत्ता भएपछि प्रहरी र अस्पतालले उनको परिवारलाई खोजिरहेको थियो भने यही बेहोराको समाचार सौर्यमा प्रकाशित भएको थियो ।

प्रतिक्रिया