प्रहरी यातनापछि आत्महत्या

वीरगन्ज, ४ वैशाख । बारा गन्जभवानीपुर-८ का ४५ बर्षीय राजेश जयसवालले प्रहरी यातनाका कारण आत्महत्या गरेको खुलासा भएको छ । प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेलगत्तै जयसवालले १३ चैतमा घरमै पासो लगाएर आत्महत्या गरेको पाइएको हो ।
घरायसी विवादमा पत्नी लालमतीदेवीले पतिविरुद्ध उजुरी दिएकी थिइन् । उजुरीपछि गन्जभवानीपुर प्रहरी चौकीले जयसवाललाई नियन्त्रणमा लिएर साँझ छाडेको थियो । स्थानीयका अनुसार प्रहरीले उनलाई घरबाटै कुटपिट गर्दै लगेको थियो भने साँझ घर र्फकने क्रममा उनी कपडाले मुख छोपेर फर्केका थिए । उनको पिँठ्युमा निलडाम
देखिएको थियो ।
आत्महत्यापछि जयसवालको शव परीक्षण नगरी प्रहरीकै निर्देशनमा १४ चैतमा दाहसंस्कार गरिएको थियो । दाहसंकारका लागि प्रहरीले नै दाउरा उपलब्ध गराएको स्थानीयले बताए । जयसवालले आत्महत्या गरेकै दिन गन्जभवानी प्रहरी चौकीका असइ प्रदीपशंकर सिंहले स्थानीय लेखनदासबाट कालगतिले मृत्यु भएको निवेदन लेख्न लगाएर पत्नी लालमतीदेवीलाई हस्ताक्षर गराएका थिए ।
असइ सिंहले जयसवालको कालगतिले मृत्यु भएको दाबी गरे । उनले भने, ‘नियन्त्रणमा लिँदा जयसवालले अत्यधिक मदिरा र गाँजा सेवन गरेका थिए । हामीले सम्झाइबुझाइ गरेर छाडेका हौँ ।’ चौकीका एक प्रहरीका अनुसार असइ सिंहले जयसवाललाई निर्घात कुटपिट गरेका थिए ।
सोमबार जयसवालकी पत्नी लालमतीदेवीले सञ्चारकर्मीसँग पतिले झुन्डिएर आत्महत्या गरेको बताइन् । ‘पुलिसले पोस्टमार्टम गर्दा झमेला हुन्छ, तिमी पनि फस्छौ भनेर तर्साएपछि डराएर कालगतिले नै मरेको भन्ने कागजमा सही गरेँ,’ उनले भनिन्, ‘कागज असइ साबले नै लेख्न लगाएका हुन् । लास जलाउन पनि उहाँले नै दाउराको व्यवस्था गर्नुभएको थियो ।’
पतिसँग कचकच भएपछि प्रहरीमा रिपोर्ट गरेको उनले स्विकारिन् । उनले भनिन्, ‘असइ साब आएर पतिलाई लिएर गए । दिउँसो ४ बजे छोराले खबर गरेपछि घर आउँदा उहाँले झुन्डिएर आत्महत्या गरिसक्नु भएछ ।’ उनी गाउँकै निजी विद्यालयमा भान्सेका रुपमा कार्यरत छिन् ।
असइ सिंहले कालगतिले मृत्यु भएको र गरिब परिवार भएका कारण पोस्टमार्टम नगराइएको बताए । जयसवालका दुई छोरी र एक छोरा छन् ।  बाराका एसपी दानसिंह बोहोराले यो विषयमा जानकारी नभएको बताए । उनले प्रहरीले  यातना दिएकै कारण कसैले आत्महत्या नगर्ने दाबी गरे । ‘प्रहरीकै कारण कसैको ज्यान जानु हुँदैन,’ उनले भने, ‘मंगलबार नै म असइ सिंहलाई बोलाएर छानबिन गर्छु र दोषी पाइए कारबाहीको भागीदार हुनेछ ।’

प्रतिक्रिया