बोक्सी भन्दै कुटपिट गर्नेविरूद्ध मुद्दा

काठमाडौं, बोक्सी आरोपमा एक महिलालाई कुटपिट गर्ने जोरपाटीका आठजनाविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुख्य अभियुक्त जोरपाटी—२ नयाँबस्तीका तारा दाहाल, ज्ञानेन्द्र दाहाल र दिलीपकुमार तिमिल्सेनासहितका नाममा मुद्दा चलाइएको अदालतले जनाएको छ ।
जोरीपाटी-९ नयाँबस्तीकी सुनिता पुडासैनीलाई बोक्सी भन्दै ९ चैतमा तारा र उनका श्रीमान् ज्ञानेन्द्रले कुटपिट गरेका थिए । दाहाल दम्पतीको कुटपिटबाट पुडासैनीको आँखामा गम्भीर चोट लागेको थियो । उनै दाहाल दम्पतीसहित आठ अभियुक्तविरुद्ध सोमबार सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको हो । पीडित पुडासैनीका तर्फबाट विष्णुहरि तिमिल्सेना, बालकुमारी तिमिल्सेना, सीता तिमिल्सेना, निर्मला तिमिल्सेना र नमराज तिमिल्सेनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
सोमबार मुद्दा चलाउँदा सीता, ज्ञानेन्द्र र दिलीपलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अन्य अभियुक्त फरार रहेका कारण उपस्थित गराउन नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सबै अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । ज्यान मार्ने उद्योगमा आठजनालाई १५ वर्ष कैद सजायको माग गरिएको छ ।
पीडित सुनिताकी दिदी नाता पर्ने ताराले बोक्सी आरोपमा हँसिया, खुर्पा, कोदालो र पन्युले उनको शरीर र आँखामा खोपेका थिए । सन्तानविहीन ज्ञानेन्द्र र तारालाई काभ्रेका धामी ६४ बर्षीय भवानीशंकर गौतमले बोक्सी लागेका कारण सन्तान नभएको बताएपछि उनीहरुले दिदी पर्ने बानेश्वरकी सीता तिमल्सेनालाई पहिले बोक्सीको आरोप लगाएका थिए । -सौस

प्रतिक्रिया