पीडितलाई राहत दिन आलटाल’

काठमाडौं, ४ वैशाख । छोराले अन्तरजातीय बिहे गरेका कारण हत्या भएका दैलेखको तोली-२ धनीगाउँका सेते दमाइर्को परिवारले आठ महिनामा पनि न्याय पाउन सकेको छैन । सो घटना आफ्नो पालाको नभएको भन्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राहत दिन नमानेको पीडित पक्षको भनाइ छ ।
सेतेका छोरा सन्तबहादुरले राजकुमारी शाहीलाई बिहे गरेपछि गत १३ भदौमा उनको हत्या भएको थियो । ‘तल्लो जातका केटाले छोरी लगेको’ भन्दै केटीकी फुपू बिन्दकला शाहीको नेतृत्वमा आएको समूहले घरमै खुकुरी प्रहार गरी सेतेको हत्या गरेको थियो । बिन्दकला हाल पुर्पक्षका लागि जेलमा छिन् । आफ्ना बुबाको हत्यापछि गाउँमा असुरक्षा महसुस गरी सुरक्षाकै खोजीका क्रममा दुई महिनाअघि काठमाडौं आएका सन्तले आफूहरूले राहत पाउन नसकेको बताए ।
‘हामीले न राहत पायौँ न त आफूसँग पैसा छ,’ उनले भने, ‘राहतका लागि सरकारी निकाय मात्र होइन नेता, मन्त्रीको घर धाइयो, व्यर्थै भयो ।’ आफन्तको कोठामा दुईजना बस्नुपर्दा समस्या भएको उनले बताए । राहतका लागि सबै सरकारी प्रक्रिया पुर्‍याए पनि सरकारले भने न्याय दिन अस्वीकार गरेको उनी बताउँछन् ।
सेते दमाईं सहिद घोषणा संघर्ष समितिका संयोजक अमर सुनारले पनि प्रधानमन्त्रीले पहिला राहतका लागि पहल गर्ने आश्वासन दिए पनि अहिले आएर उनी आफ्नो पालाको घटना नभएको भन्दै पन्छिएको बताए । डा. भट्टराई ११ भदौमा प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । उनी प्रधानमन्त्रीमा निर्वाचित भएको पर्सिपल्ट १३ गते सेतेको हत्या भएको थियो ।
२६ फागुनमा सन्तको जोडीसहितको टोलीसँगको भेटमा प्रधानमन्त्रीले क्षतिपूर्ति दिन आफू सकारात्मक रहेको आश्वासन दिएका थिए । आश्वासन पूरा नभएपछि १२ चैतमा संघर्ष समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सातबुँदे मागसहित ज्ञापनपत्र बुझाइएको जनाएको छ । ‘प्रधानमन्त्रीले सुरुमा विरोध नगर्नोस्, क्षतिपूर्ति दिन म सकारात्मक छु भन्नुभयो । अहिले भने वास्तै गर्नुहुन्न,’ संयोजक सुनारले भने ।
सभासद् विनोद पहाडीको नेतृत्वमा संसदीय छानबिन टोली गठन भई टोलीले पीडितलाई १० लाख क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरिसकेको छ । क्षतिपूर्तिको माग गर्दै १७ भदौदेखि दुई दिन व्यवस्थापिका-संसद् अवरुद्धसमेत गरिएको थियो । सरकारले पीडितलाई क्षतिपूर्ति दिने र छानबिन टोली बनाउने प्रतिबद्धता जनाएपछि संसद् सुचारु भएको थियो ।

प्रतिक्रिया