‘देहव्यापारको समाचारले पौडेलको हत्या’

काठमाडौं, ४ वैशाख । नेपाल पत्रकार महासंघले झापाका पत्रकार यादव पौडेलको हत्या समाचार प्रकाशन र प्रशारण गरेकै कारण भएको ठहर गरेको छ ।

महासंघले आज सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार होटेल सञ्चालिका र उनका सहयोगीले पत्रकार पौडेलको हत्या गरेको दाबी गरेको हो । ‘होटेल सञ्चालनमा आएको ठीक दुई महिना पछि पत्रकार पौडेलेको हत्या त्यही होटलमा हुनु संयोगमात्रै मान्न सकिन्न ।’ रिपोर्टमा भनिएको छ ।

महासंघका अनुसार प्रत्यक्षदर्शी, प्रहरी प्रशासन, अनुसन्धानमा खट्टिएका अधिकारी लगायतसंगको कुराकानी र प्राप्त तथ्यका आधारमा पत्रकार पौडेलको हत्या गरिएको थियो । अन्य फरार अभियुक्तलाई तत्काल पक्राउ गरेर कारबाहीको माग समेत रिपोर्टमा गरिएको छ ।
पत्रकार पौडेलले सोमनाथ ढकाल र मञ्जु ढकाल अर्थात फूलमाया कार्कीले यस अघि सञ्चालन गरेको ‘फेवाताल होटल’ मा हुने गरेको देहव्यापार वारे समाचार प्रकाशन र प्रशारण गरेको महासंघले उल्लेख गरेको छ ।

त्यस पछि सञ्चालकहरुले होटेलको नाम फेरेर ‘होटल पूर्वाञ्चल एण्ड सेकुवा कर्नर’ खोलको प्रतिवेदनमा उल्लेख छ । देहव्यापारको समाचारका प्रकाशन भएको केही महिना पछि हत्या हुनु समाचारकै कारण हत्या भएको महासंघको अनुमान छ ।

रिपोर्टका अनुसार पत्रकार पौडेललाई तीन तलाबाट खसालेर हत्या गरिएको भन्दै हत्याको थप सत्यतथ्य पत्ता लगाउन सरकारले बनाउने भनिएको न्यायाधिक आयोग तत्काल बनाउन माग गरिएको छ ।

हत्याको छानविन गर्न पत्रकार महासंघले अध्यक्ष शिव गाउँले संयोजकत्वको सात सदस्सीय मिशन टोली गठन गरेको थियो । टोलीका सदस्यमा पोष्ण केसी, जगत नेपाल, मोहनकाजी न्यौपाने, गाणेश पाखरेल, गोविन्द चन्द्र क्षेत्री र तारामणी सापकोटा रहेका थिए ।

प्रतिक्रिया