सहमति नजिक पुगेका छौः दलहरु


काठमाडौं, ४ वैशाख । संविधानका बिवादित बिषयमा सहमित खोज्न दुई दिन एक रात रिसोर्टमा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले निकासको नजिक पुगेको दाबी गरेका छन् ।
राजधानीको एक रिसोर्टमा आज सम्पन्न बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले बिवादित सबै बिषयमा छलफल भएको भन्दै सहमति नजिक पुगेको बताए । उनले भने, ‘सबै बिषयमा छलफल भएको छ, सहमति नजिक पुगेका छौ, अब मसिनो छलफल गर्नु बाँकी छ ।’

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि बिवादित सबै बिषयमा छलफल भएको बताए । उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउने देखि सबै बिषयमा सहमतिको नजिक पुगेको छौं ।’
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले पनि सबै बिषयमा सहमति भईसकेको भन्दै आन्तरिक छलफलका लागि ठोस निर्णय नगरिएको बताए । उनले भने, ‘मिश्रित निर्वाचन प्रणाली तथा पहिचना र सामथ्र्यका आधारमा राज्य पुनःसंरचना गर्ने सहमति भएको छ ।’

राज्य पुनःसंरचनामा भएको सहमतिका बारेमा जातीय संगठनहरु तथा पार्टीमा आन्तरिक रुपमा छलफल गर्ने भन्दै गच्छेदारले बुधबार बस्ने शीर्ष बैठकले सबै बिषय टुङगाउने बताए । उनले भने, ‘सबै बिषयमा सहमति भएको छ, पर्सी टुङगो लाग्छ ।’

रिसोर्ट बसाई क्रममा एक, सामूहिक र बिभिन्न चरणमा छलफल गरेका छलफलहरुले संविधानका बिवादित बिषय शासकीय स्वरुप, राज्य पुनर्संरचना, न्यायप्रणाली लगायतमा छलफल गरेका थिए ।

संविधानसभाको कार्यव्यवस्था परामर्श समितिले भोली वैशाख–५ गतेभित्र विवादित विषयमा सहमति खोजी गर्न नेताहरुलाई अन्तिम पटक समय दिएपछि उनीहरु रिसोर्टको छलफलमा जुटेका हुन् । बैठक पुनः बुधबार बस्ने भएको छ ।

शीर्ष बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईका साथै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, नेता देव गुरुङ, हितमान शाक्य र खिमलाल देवकोटा सहभागी छन् ।

कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेताहरु रामशरण महत, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी तथा मीनेन्द्र रिजालको पनि सहभागिता छ ।

एमालेबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र केपी ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा नेताहरू भीम रावल र सुरेन्द्र पाण्डेको सहभागिता छ ।

मधेसी मोर्चाबाट मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, फोरम (गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष राजकिशोर यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी, तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरुको सहभागिता रहेको बुझिएको छ ।

प्रतिक्रिया