स्वैच्छिक अवकाश रोज्ने लडाकु बढे

कैलाली, ४ वैशाख । माओवादीका पूर्व जनमुक्ति सेनाको कैलालीस्थित सातौ डिभिजनको सहायक शिविर लोकेश स्मृति ब्रिगेड गोरंगेका ३ सय ८६ जना लडाकुले स्वैच्छिक अवकाश रोजेका छन् ।

सेना समायोजन तथा रेखदेख विशेष समितिको टोलीले आइतबार १ सय ९४ र शनिबार १ सय ९२ गरी अवकाश रोजेका ३ सय ८६ जनालाई अवकाश रकमको चेक दिएर विदाई समेत गरेको छ ।

गोरंगेमा ५ सय ५ जना लडाकु थिए । अव गोरंगे शिविरबाट सेनामा समायोजन जाने लडाकुको संख्या १ सय १९ जना छन् ।

अघिल्लो पुनःवर्गिकरणमा तोकिएको संख्या भन्दा बढी सेना समायोजन रोज्ने लडाकु भएपछि समितिले लडाकुहरुलाई अवकाश रोज्ने मौका दिन पुनःवर्गिकरण गरिरहेको हो ।
आइतबार गोरंगेमा पुनःवर्गिकरण सकिएको छ । सेना समायोजन तथा रेखदेख विशेष समिति टोली संयोजक गोपालसिंह बोहराले आजदेखि सातौं डिभिजनको सहायक शिविर लिस्नेगाम स्मृति ब्रिगेड बडैपुरमा पुनःवर्गिकरणको काम शुरु गरेको बताएका छन् । बडैपुरमा ५ सय ५० जना लडाकु रहेका छन् ।

बडैपुरको पुनःवर्गिकरण गर्ने काम सकिएपछि सातौं डिभिजनको मुख्य शिविर रहेको तालबन्दमा पुनःवर्गिकरण शुरु हुने बोहराको भनाई छ । सातौं डिभिजनमा पुनःवर्गिकरणका लागि बोहराको नेतृत्वमा १२ जनाको टोली खट्टिएको छ ।

यसअघि अधिकांश लडाकुले सेना समायोजनमा जान चाहेको भएपनि हालै लडाकु र शिविर नेपाली सेनाको मातहतमा राखिए पछि अधिकांश लडाकुले असन्तुष्टी जनाउदै स्वैच्छिक अवकाश रोजेको बताइएको छ ।

सातौं डिभिजनमा ३ हजार १ सय ३१ लडाकु रहेकोमा यसअघिको वर्गिकरणमा १७ सय ६२ जना लडाकुले समायोजन रोजेका थिए ।

प्रतिक्रिया