लगानी विविधीकरणतर्फ बिमा संस्थान

राजेन्द्रप्रकाश लोहनी – अध्यक्ष, राष्ट्रिय बिमा संस्थान

नुवाकोटमा जन्मेहुर्केका लोहनीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय लोहनीले ०४९ को निर्वाचनमा जिविसमा र ०५१ को प्रतिनिधिसभाको निर्वाचनमा असफलता हात पारे पनि उनले ०५६ को निर्वाचनमा एमालेका तर्फबाट संस्ाद्मा निर्वाचित हुन सफल भए । उनले त्यतिखेर संसद्को अर्थ र लेखासमितिमा उल्लेखनीय भूमिका खेलेका थिए । माधव नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले लोहनीलाई संस्थान सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेका हुन् । अर्थ र लेखासमितिमा उल्लेखनीय भूमिका निर्वाह गरेपछि बिमा संस्थानको अवस्था सुधार गर्न उनलाई त्यतिखेर नियुक्त गरिएको हो । उनले हालसम्म संस्थानमा धेरै सुधारका काम गरिसकेका छन् । संस्थानको विभिन्न गतिविधिमा केन्दि्रत रहेर सौर्यका उद्धव सिलवालले लोहनीसाग गरेको कुराकानी

बिमामा गएर के गर्नुभयो ?
बिमा संस्थानको अवस्था सारै खस्केको थियो । संस्थानले ६ वर्षदेखि लेखा परीक्षणसमेत गर्नसकेको थिएन । म यहाँ आएपछि सर्वप्रथ्ाम ६ वर्षको लेखापरीक्षण अद्यावधिक गर्ने काम गरँे । लेखापरीक्षणको काम गर्न नसक्दा यसको छविमा नै प्रश्न उठेको थियो । अहिले दुई वर्षको लेखापरीक्षणको कार्य सकिएको छ । संस्था नाफामा सञ्चालन भइरहेको छ ।
तपाईंले त जनशक्ति विस्तार पनि गर्नुभयो होइन ?
तपाइर्ंले एकदमै ठिक भन्नुभयो ।
मैले संस्थानमा कामगर्ने कर्मचारीको अभाव महसुस गरी दक्ष कर्मचारीको रूपमा खुला प्रतिस्पर्धाबाट १८ अधिकृतलाई रोजगारीको अवसर
सिर्जना गराउँ ।
संस्थानको इतिहासमा ०४५ देखि नै थप जनशक्ति विस्तार गर्न सकिएको थिएन । यो कार्य अत्यन्तै महत्त्पूर्ण थियो । कर्मचारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने सम्बन्धमा सूचना नै क्यान्सिल गर्नुपरेकोजस्तो विभिन्न बाधाअड्चनसमेत सिर्जना भएको थियो । यो के हो त भन्दा, राम्रो काम गर्न खोज्दा विभिन्न किसिमको अवरोध सिर्जना गर्ने परिपाटी संस्थानमा रहेको छ भन्ने नै हो ।
संस्थानमा युनियन राज हाबी भयो भनिन्छ नि ?
धैरैजसो संस्थामा दलका भातृसंगठन नै युनियनका रूपमा छन् । एउटा संस्थानमा विभिन्न दलका नाममा मात्रै ५०/५५ जना युनियनका रूपमा कामै नगर्ने कर्मचारी पनि रहने गरेका छन् ।
ती कर्मचारीले युनियनका नाममा विभिन्न सेवासुविधा लिने गरेका छन् । युनियनका नाममा सञ्चालन खर्चदेखि फर्निचरलगायतका विभिन्न सुविधा उनीहरू लिन्छन् तर काम गर्देनन् । तिनै मान्छे नेता भएर सधैंभरि व्यवस्थापनलाई सताउने परिपाटी हामीकहाँ छ । यो नै अहिलेको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ ।
राजनीतिक परिवर्तनसँगै तालुक मन्त्रालयले काममा असहयोग त गर्देनन नि ?
संस्थानमा प्रायजसो मन्त्रीले नै संस्थाको प्रमुख नियुक्त गर्छन् तर सम्बन्धित मन्त्रालयका कर्मचारीले भने यसलाई गलत दृष्टिले हेर्ने गरेका छन् । फेरि संस्थानमा जाने त्यस्ता व्यक्तिका काममा मन्त्रालयले नै असहयोग गर्ने गरेका कारण संस्थानले तत्कालै काम गर्न सक्दैन ।
बिमा संस्थानमा पनि यस्तै समस्या देखियो । संस्थान सुधारका लागि गर्नुपर्ने मुख्य कुरामा शाखा विस्तार गर्ने, बिमाको पहुँच बढाउने, लेखापरीक्षण निर्धारित समयभित्र गराउने तथा सूचना-प्रविधि र दक्ष कर्मचारीलाई ल्याउनेतर्फ तत्काल ठोस कार्य अघिबढाउनु पर्नेमा राजनीतिमा भएको परिवर्तन र यसबाट उत्पन्न समस्याले संस्थानको विकासलाई तीव्र गतिमा लान सकिएको छैन ।
बिमाको पहुँच कहाँसम्म पुगेको छ ?
सान्दर्भिक प्रश्न गर्नुभयो । अहिले बिमा अनिवार्य भइसकेको छ । बिमाविना केही गर्न नसकिने अवस्था सिर्जना भएको छ । जस्तै, इन्टरनेट र मोबाइल जति नै  आवश्यक छ अहिले बिमा पनि ।
अहिले पाँच प्रतिशत नागरिक मात्रै बिमामा आबद्ध छन् । अझै ९५ पनि प्रतिशत मानिस यसको सञ्जालभित्र आबद्ध हुन सकेका छैनन् । यो नै अहिलेको सबभन्दा जटिल समस्या हो ।
निजी कम्पनी संग प्रतिस्पर्धा गर्न त कठिन होलानी ?
बिमा बजारमा नाफा आर्जन गर्न सक्ने देखेरनै निजी कम्पनीहरु आकषिर्त भएका होलान । निजी कम्पनीको मुख्य उदेस्य भनेकै नाफा कमाउनु हो भने सरकारी स्वामित्वको संस्थाको नाफा मात्रै नभई सेवा भावना मुख्य रहेका छन । जस्को नाफा कमाउने मात्रै लक्ष्य हुन्छ त्यस्त्ाा कम्पनी संग सेवा प्रदान गर्ने संस्थालाई दाज्न मिल्दैन ।
राजनीतिसँगै संस्थानमा हुने परिवर्तनलाई कसरी लिनुहुन्छ ?
राजनीतिक परिवर्तनसँगै संस्थाका प्रमुख तथा अध्यक्षमा हुने फेरबदलले त्यस्ता संस्थाको प्रगति ओझलमा पर्ने गरेका छन् । किनकि मन्त्री फेरबदल भएपछि उसले हेर्ने दृष्टिमा ठूलो भिन्नता आउने गरेको छ । त्यस्ता मन्त्रीले आफ्नो पार्टीको मान्छे खोज्ने, पहिलेको सरकारले नियुक्ति गरेको व्यक्तिलाई असहयोग गर्ने तथा काम नै गर्न नदिने वातावरण सिर्जना गर्ने गरेका छन् । यो बिमामा मात्रै नभई समग्र संस्थानको अवस्था हो ।
पछिल्लो समय संस्थानले लगानी विविधीकरण गर्नखोजेको जस्तो देखिन्छ नि ?
हाम्रो नाफा भनेको पि्रमियमको पैसा नै हो । यसलाई बैंकमा निक्षेप राखेर प्राप्त ब्याजको आम्दानीबाट संस्था चलिहरेको छ । यतिले मात्रै भएन भनेर हामीले लगानीको विविधीकरणतर्फ अध्यन गरिरहेका छौँ ।
माथिल्लो तामाकोसीमा संस्थानले दुई अर्ब ऋण् लगानी गरेको छ भने २० करोड रुपियाँ बराबरको सेयर खरिदमा लगानी गरेको छ । त्यसैगरी ऊर्जा विकास बंैकमा एक अर्ब लगानी गरेको छ ।
सेयरमा पनि लगानी गर्न खोजेको हो ?
सेयरमा लगानी गर्ने सम्बन्धमा केही समय अघिदेखि नै कुरा चलेको हो । बजारमा संस्थागत लगानीको अभाव देखिएका अवस्थामा हाम्रोजस्तो संस्था बजारमा ग्ए सकारात्मक सन्देश जान्छ भन्ने अवधारणाअन्तर्गत अध्ययन भइरहेको छ । अध्ययनटोलीले प्रतिवेदनसमेत पेस गरिसकेको छ । यससम्बन्धमा कसरी अघिबढ्न सकिन्छ भन्ने मेकानिजम बनाइसकेपछि मात्रै बिमाले सेयरमा लगानी गर्न सक्छ तर पनि अहिलेको मुख्य बिमाको मौजुदा समस्या समाधान गर्नु नै हो ।

प्रतिक्रिया