२४ दिन ढिलो गरी मनाइयो नयाँ वर्ष !

काठमाडौं, ३ वैशाख । यस वर्ष पनि नयाँ वर्ष १ वैशाखमा धुमधामका साथ मनाइयो । यही दिन सूर्य मेष राशिमा प्रवेश गर्छ, यही आधारबाट नयाँ वर्ष १ वैशाखमै मनाउने गरिएको हो । खगोलविद् भने नयाँ वर्ष मनाउन २४ दिन ढिलाइ भइसकेको बताउँछन् । २४ दिनपहिले अर्थात् ७ चैतमै नयाँ वर्ष मनाउनुपर्ने उनीहरूको सुझाब छ ।
उनीहरूका अनुसार हरेक ७१ वर्षमा एक दिन बढी हुने गर्छ । अनायंश -सूर्यको गति) हरेक ७१ वर्षमा एक दिन अघि बढ्ने गर्छ । ०६९ सालसम्म आइपुग्दा सूर्यको गति २४ दिन अघि बढिसकेको छ ।
२४ दिनलाई मिलाउन सरकारले ०६५ सालमा ०६७ को चैत महिना हटाउने निर्णय गरेको थियो । पर्व मिलान गर्न भनी संस्कृति मन्त्रालयले ०६७ को चैत महिना हटाउने निर्णय गरेको भए पनि हिन्दूवादीको विरोधपछि निर्णय फिर्ता लिएको थियो । पर्व मिलान गर्न गठित पुरातत्त्व विभागका तत्कालीन प्रमुख जलकृष्ण श्रेष्ठको संयोजकत्वमा रहेको कार्यदलले दिएको सुझाबका आधारमा ०६७ को चैत महिना हटाउने निर्णय मन्त्रालयले गरेको थियो ।
हरेक वर्ष दुई दिन र रात बराबर हुने गर्छ । उत्तरी र दक्षिणी गोलार्धमा १ कात्तिक र १ वैशाखमा दिन र रात बराबर हुन्छ । यो दिन पृथ्वीको भूमध्यरेखाको सिधा माथि सूर्य पर्छ । तर, सूर्यको गति २४ दिन अगाडि भइसकेकाले पछिल्लो समयमा दिन र रात बराबर हुँदैन । २४ दिनलाई अगाडि ल्याउँदा ७ चैत र ७ असोजमा दिन र रात बराबर हुन्छ ।
विक्रम सम्बतको सुरुआत गरिँदा १ वैशाखमा दिन र रात बराबर थियो । त्यसको ७१ वर्षसम्म कुनै समस्या आएन । ७१ वर्षपछि भने एक/एक दिन बढ्दै गयो । यही गतिबाट ०६९ सम्म आइपुग्दा सूर्य २४ दिन अगाडि आइसकेकाले नयाँ वर्ष पनि त्यही आधारबाट मनाउनुपर्ने तर्क खगोलविद्हरूको छ ।
‘नयाँ वर्ष मनाउन २४ दिन ढिलो भइसकेको छ, हामीले चैत ७ गते नै नयाँ वर्ष मनाउनुपथ्र्यो,’ ज्योतिषी सुनील सिटौला भन्छन्, ‘नयाँ वर्ष मनाउन ढिलो हँुदा यसबाट मौसम, कृषि र मान्छेको आयुमा समेत प्रभाव पार्छ । त्यसैले यसलाई मिलाउन जरुरी छ ।’
हिन्दूवादी भने २४ दिनलाई मिलान गर्दा धर्म, संस्कृति, चाडपर्व र परम्परामा खलल पुग्ने भन्दै २४ दिन हटाउन उपयुक्त नहुने बताउँछन् । सूर्यको गति अघि बढिसकेपछि एउटा निश्चित बिन्दुमा पुगेर फेरि पछि र्फकने भएकाले २४ दिन हटाउन आवश्यक नहुने तर्क उनीहरूको छ । ‘पर्वमा केही सुधार गर्न आवश्यक छ तर एकैपटक चैत महिना हटाउँदा यसले धर्म, संस्कृति, परम्परा, चाडपर्वमा गम्भीर प्रभाव पार्छ,’ हिन्दूधर्मसम्बन्धी ज्ञाता डा. वासुदेवकृष्ण शास्त्री भन्छन्, ‘यो हिन्दूधर्म मास्ने षड्यन्त्र हो । यसलाई लागू गर्न दिनुहँदैन ।’
भारत सरकारले पनि सन् १९५१ मा यस्तैखाले निर्णय गरेको थियो । बढी भएको दिन मिलाउन गठन गरिएको पञ्चांग सुधार समितिले दिएको प्रतिवेदनका आधारमा २४ दिन मिलाउने निर्णय भएको थियो । तर, यसरी बढी समय मिलाउन पर्वमा समस्या पर्ने भएकाले सो निर्णय लागू गरिएको थिएन ।
ज्योतिषी डा. लोकराज पौडेल पर्व मिलाउने जिम्मा हिन्दूवादीलाई नै सुम्पनुपर्ने बताउँछन् । ‘धर्मनिरपेक्ष देशमा यो जिम्मा सरकारले हिन्दूवादीलाई नै सुम्पनुपर्छ । पर्व मिलाउन आवश्यक रहेछ भने हामी आफैं गृहकार्य गछौं,’ डा.पौडेलले भने ।

प्रतिक्रिया