निजी विद्यालयमा पुस्तक व्यापार


काठमाडौं, ३ वैशाख । अनामनगरस्थित ब्लुमिङ स्कलर्स एकेडेमीले विद्यालयबाटै विद्यार्थीलाई पाठयपुस्तक बिक्री गरिरहेको छ । ब्लुमिङनजिकैको अर्को अक्सिडेन्टल पब्लिक स्कुल आफैले विद्यार्थीलाई पाठयपुस्तक नबेचेको भए पनि त्यही विद्यालयकै शिक्षक नारायण कार्कीलाई ‘पुस्तक सूची’ दिएर विद्यार्थीलाई त्यहीँ पठाउने गरेको छ ।
यी दुई उदाहरणले निजी विद्यालयले कसरी व्यापार गरिरहेका छन् भन्ने प्रस्ट पार्छन् । अधिकांश निजी विद्यालय कि विद्यालय हाताभित्रै पुस्तकको व्यापार गरिरहेका छन् कि त शिक्षक वा आफन्तलाई पुस्तक पसल खोलिदिएर कमिसनको व्यापार गरिरहेका छन् । शिक्षा विभागले विद्यालयमा पुस्तक बिक्रीवितरण नगर्न निर्देशन दिए पनि त्यसको बेवास्ता गर्दै निजी विद्यालयले मनपरी गरिरहेका छन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको विकृति नियन्त्रण अनुगमन समितिले करिब एक दर्जन विद्यालयबाट पाठयपुस्तक बेचिँदै गरेको फेला पारेको थियो । अनुगमन समितिका संयोजक प्रविन निरौलाले कतिपय ठाउँमा विद्यालय आफैले बेचेको र केहीमा अरूले पसल खोलेर बेचेको पाइएको बताए ।
संयोजक निरौलाका अनुसार मैतिदेवीस्थित न्यु समिट, सानेपास्थित जेम्स स्कुल प्राइमरी सेक्सन, कुपन्डोलको नाइटिंगल स्कुलमा पुस्तक बेचिएको भेटिए । त्यसैगरी लिटिल एन्जेल्स स्कुलमा अर्कै मान्छेले स्कुलभित्रै पुस्तक बेच्ने गरेको पाइएको निरौलाले बताए । उनले भने, ‘कतिपयले हामी पुगेपछि हटाए, केहीले बेचेर सकिसकेका थिए ।’ नाइटिंगल स्कुलले नाम मात्रको पसल राखेर पुस्तक बेचेको पाइएको छ । केही विद्यालयले अरूको बिल प्रयोग गरेर विद्यालय हाताभित्रै पुस्तक बिक्री गरिरहेका छन् ।
स्रोतका अनुसार विद्यालयले प्रकाशनगृहबाट ५० प्रतिशतसम्म कमिसनमा पुस्तक लिएर विद्यार्थीलाई धेरैमा दस प्रतिशत छुट दिई बिक्री गर्ने गरेका छन् ।
निजी विद्यालयहरूको संगठन प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले केही विद्यालयले अझै पनि विद्यालय हाताभित्रैबाट पुस्तक बिक्री गरेको स्वीकार गरे । ‘यस वर्षदेखि विद्यालयमा पुस्तक व्यापार धेरै घटेको छ,’ अध्यक्ष पोखरेलले भने, ‘विद्यालयबाट पुस्तक नबेच्न हामीले पनि निर्देशन जारी गरेका छौँ ।’ प्याब्सनले विद्यालय स्वयंले विद्यालय हाताबाट पुस्तक बेच्न नहुने जस्ता आचारसंहिता जारी गरेको छ ।
कतिपय विद्यालयले वैधानिक भएरै व्यापार गरिरहेका छन् । विद्यालयछेउमै पसल दर्ता गरेर सञ्चालन गरी व्यापार गर्ने काम पनि भइरहेको छ । यस्तो वैधानिक व्यापारमा पुतलीसडकस्थित डनबस्कोलगायतका विद्यालय लागेका छन् ।
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयलाई कारबाही गर्न नसकेर सरकारले नालायकीपना देखाएको बताए । ‘आफैले बनाएको नियम उल्लंघन गर्नेलाई सरकारले खोजीखोजी कारबाही गर्नुपर्नेमा अरूले देखाउँदा पनि कारबाही नगरेर नालायक बनेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘निजी विद्यालयले सरकार चलाएका छन् ।’ काठमाडौंका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालले पुस्तक बेचेको जानकारी पाए तुरुन्त कारबाही गरिने बताए । विद्यालयछेउमा पसल राखेर पाठयपुस्तक बिक्री गरेको एउटा उजुरी आएपछि त्यो पसल हटाइसकिएको जानकारी उनले गराए ।

प्रतिक्रिया