माओवादी कार्यदलभित्रै विवाद

काठमाडौं, ३ वैशाख । एकीकृत नेकपा (माओवादी)को संस्थापन पक्षले गठन गरेको एउटा कार्यदलले आफैभित्रका खेमाबीच खिचलो बढेपछि तोकिएको कार्यभार पूरा गर्न नसक्ने परिस्थिति उत्पन्न भएको छ ।
गत १५ चैतमा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संस्थापन पक्षको अनौपचारिक बैठकले पार्टी जिम्मेवारी बाँडफाँडका लागि तीनसदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा कृष्णबहादुर महरा, देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल रहेका छन् ।
कार्यदललाई कुन नेतालाई कुन जिम्मेवारी दिने भन्ने बारेमा सिफारिस गर्ने जिम्मेवारी दिइएको थियो तर संस्थापन पक्षका तीनवटै खेमाले धेरै पदमा दाबी गरेपछि कार्यदलले निर्णय गर्न सकेको छैन ।
एउटै पार्टी तर दुई कार्ययोजना लिएर अघि बढिरहेको माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य खेमामा दुईवटा समूह देखिएका थिए । त्यसलाई उछिन्दै अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको संस्थापन पक्षमा तीनवटा खेमा आ-आफ्ना माग र योजनाका साथ अघि बढ्न थालेका छन् । संस्थापन
पक्षमा दाहालका अतिरिक्त उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आ-आफ्नो खेमा बनाएर विभिन्न पदमा आफ्नो खेमाका नेताहरूलाई जिम्मेवारी दिन दबाब दिइरहेका छन् ।
माओवादीका संस्थापनपक्षीय एक पोलिटब्युरो सदस्यका अनुसार केही समयअघि ललितपुरको सानेपास्थित समिट होटलमा बसेको संस्थापनपक्षीय बैठकमै तीनवटा खेमाले आ-आफ्नो अडान प्रस्तुत गरेका थिए । अध्यक्ष दाहालले दोस्रो दिनको बैठकमा ‘विचारसमूह भंग गरौँ’ भन्ने प्रस्ताव राखेका थिए तर उपाध्यक्ष भट्टराई पक्षका पोलिटब्युरो सदस्य नवराज सुवेदी, हिसिला यमी र केन्द्रीय सदस्य कुमार पौडेलले ‘आफूहरूले भन्दा पहिले अध्यक्षहरूले नै विचारसमूह बनाएकाले हिले विचारसमूह भंग हुन नसक्ने’ भनाइ राखेका थिए ।
संस्थापन पक्षभित्र विशेषगरी नेवाः राज्य समितिको इन्चार्ज हत्याउन तीनवटै खेमाका नेताले लविङ तीव्र पारेका छन् । नेवाः राज्य समितिका इन्चार्ज मोहन वैद्य पक्षधर हितमान शाक्य छन् । आफ्नो लाइनको रक्षा र कार्यक्रम लागू गर्न अध्यक्ष दाहालले नेवाः राज्य समितिमा अर्थमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुनलाई इन्चार्ज बनाउने मनसाय राखेका छन् । पुनलाई बनाउन नसकिए पोलिटब्युरो सदस्य शक्तिबहर बस्नेत वा जनार्दन शर्मामध्ये एकलाई बनाउन दाहाल खेमाले पहल गरिरहेको छ ।
त्यसैगरी भट्टराई खेमाले अहिले सह-इन्चार्जसमेत रहेकी हिसिला यमीलाई इन्चार्ज बनाउनुपर्ने अडान राखेको छ । यमी नेवाः भूमिकै रहेकी र सह-इन्चार्जको भूमिकासमेत निर्वाह गरिरहेकीले उनलाई नै बनाउनुपर्ने यस खेमाको अडान छ । नेवाःको इन्चार्जका लागि श्रेष्ठ खेमाको कसरत पनि कम छैन । स्रोतका अनुसार श्रेष्ठ खेमाले अध्यक्ष दाहालसमक्ष स्थायी समिति सदस्य गिरिराजमणि पोखरेललाई नेवाः राज्य समितिको इन्चार्ज बनाउनुपर्ने माग राखेको छ ।
यसका अतिरिक्त देशभरका वैद्य पक्षले नेतृत्व गरेको राज्य समिति तहको संरचनामा आफूनिकट नेताहरूलाई जिम्मेवारी दिलाउन तीनवटै खेमाको प्रयास जारी छ ।
भट्टराई पक्षधर एक केन्द्रीय सदस्यको भनाइमा तीनवटै खेमा आ-आफ्नो अडानमा रहेकाले तिनका एक-एकजना नेता सम्मिलित कार्यदल बनाउनुपरेको हो । कार्य विभाजनबारे निक्र्योल गर्न गठन गरिएको कार्यदलमा रहेका महरा दाहाल खेमाका, पौडेल भट्टराई खेमाका र पोखरेल श्रेष्ठ खेमाका हुन् । स्रोतका अनुसार भट्टराई खेमाले भूगोलका १३ वटा राज्य समितिमध्ये आफूहरूले ६ वटा र कम्तीमा ३० जिल्लाको इन्चार्ज पाउनुपर्ने अडान राखेको छ । लिम्बुवान, भोजपुरा र अवध राज्य समितिमा अहिले भट्टराई पक्षधर इन्चार्ज छन् । नेवाः, किरात र थारूवानको पनि इन्चार्ज पाउनुपर्ने यस खेमाको अडान छ ।
त्यसैगरी श्रेष्ठ खेमाले कम्तीमा चारवटा राज्य समिति र २० देखि २५ वटा जिल्ला इन्चार्ज पाउनुपर्ने माग राखेको छ । यस खेमाका विश्वनाथ साह मात्र मिथिला राज्य समितिका इन्चार्ज छन् । ‘लिम्बुवान, नेवाः र मगरात वा तमुवान राज्य समितिको इन्चार्ज आफूहरूलाई दिनुपर्ने श्रेष्ठ खेमाको माग छ,’ दाहाल खेमाका एक पोलिटब्युरो सदस्यले भने । भट्टराई खेमालाई ६ र श्रेष्ठलाई चारवटा दिए आफूहरूको भागमा भूगोलका ३ वटा राज्य समिति मात्र रहने भएकाले दाहाल खेमा दुवै समूहको माग पूरा गर्न तयार छैन ।
‘पार्टीदेखि जनवर्गीय संगठनसम्म तीनवटै समूह देखापरे । यसलाई मिलाउने कोसिस भइरहेको छ । त्यसैले तीनवटै विचारसमूहमा आबद्ध नेताहरू सम्मिलित कार्यदल बनाइएको हो,’ श्रेष्ठ खेमाका एक पोलिटब्युरो सदस्यले भने, ‘कार्यदलले मिलाउन नसके तीन नेताले नै पहल गर्लान् ।’
पोलिटब्युरो सदस्य राम कार्की भने दाहाल र वैद्य एक ठाउँमा आएर इतिहासको समीक्षा गरी पार्टी एकता नगरुन्जेल धेरैवटा समूह देखापरिरहने बताउँछन् । उनले भने ‘गुटगुटमा बाँडिएर इतिहासको समीक्षा र पार्टी निमार्ण हुन सक्दैन । फरक प्रवृति भए पनि जनयुद्ध लडेर आएका नेताहरू एक नभएसम्म गुट देखापरिरहन्छन् ।’

प्रतिक्रिया