अस्पतालमा शिशु छाडेर आमा फरार


नेपालगन्ज, ३ वैशाख । बर्दिया मगरागडी-९ की फूलारानी चौधरी अस्पतालमा छोरी जन्माएर फरार भएकी छन् । २७ चैतको राति छोरी जन्माएकी चौधरी फरार भएपछि नवजात शिशुलाई अस्पतालले संरक्षण दिइरहेको छ भने प्रहरीले उनको खोजी गरिरहेको छ ।
नेपालगन्ज मेडिकल कलेजको आइसियुमा चौधरीले जन्माएकी छोरीको उपचार भइरहेको छ । प्रसूति व्यथाले च्यापेका अवस्थामा बाबु बलबहादुर थारूले छोरी फूलारानीलाई अस्पतालमा भर्ना गरेका थिए । कम तौलको बच्चा जन्मिएपछि आइसियुमा उपचार गरेर आमालाई डिस्चार्ज गरिएको थियो । त्यसयता चौधरी र उनका बाबु फर्केर आएनन्, अस्पतालका डा. पियुष कनौडियाले भने, ‘हामीले नै बच्चाको रेखदेख गरिरहेका छौँ ।’ उनका अनुसार अहिले बच्चाको अवस्था सामान्य छ ।
अस्पतालमा बच्चा पाएर फरार भएपछि चौधरीलाई खोजी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी उदय तामाङले बताए । उनले भने, ‘बाँके र बर्दियामा खोजी गरिरहेका छौँ तर फेला पार्न सकेका छैनौँ ।’ फूलारानीले अस्पतालमा पतिको नाम नरेश चौधरी लेखाएकी छन् । तर, नवजात छोरीलाई भेट्न नरेश पनि अस्पताल आएका छैनन् ।
अस्पतालमा बच्चा जन्माएर फरार हुने आमा फूलारानीमात्रै होइनन् । यसअघि पनि भेरी अञ्चल अस्पताल र शिक्षण अस्पतालमै बच्चा जन्माएर आमा बेपत्ता भएका उदाहरण छन् । बर्दिया गुलरिया-८ की २३ वषर्ीया सुनिता पौडेल गत ४ मंसिरमा अस्पतालमा छोरी जन्माएपछि बेपत्ता भएकी थिइन् । उनी र उनको परिवार अहिलेसम्म सम्पर्कमा छैनन् भने आइसियुमा उपचार क्रममा उनले जन्माएकी छोरीको मृत्यु भइसकेको छ ।
मंसिरयता अञ्चल अस्पतालमा सन्तान जन्माएर चार आमा बेपत्ता भएका छन् । तीन छोरी र एक छोरालाई जन्माएर आमाहरू बेपत्ता भएको अस्पताल प्रमुख डा.नरेन्द्र रायले बताए । ‘पतिपत्नी भन्दै आउँछन्, बच्चा जन्मिएपछि बाहिर जान्छु भनेर बेपत्ता हुन्छन्,’ उनले भने, ‘त्यसपछि न बाबु आउँछन् न आमा नै ।’
महिला विकास कार्यालय बाँकेकी प्रमुख शोभा शाहले कानुनी प्रक्रिया पुर्‍याएर छोरा एक व्यक्तिलाई दिइएको र छोरीहरू काठमाडां नक्सालस्थित बालस्याहार केन्द्रमा पठाइएको बताइन् ।

प्रतिक्रिया