समायोजन कार्यविधी पारित

काठमाडौं, ३ वैशाख । सरकारले लडाकु समायोजन प्रक्रियामा बिशेष समितिले शनिबार गरेका निर्णयलाई अनुमोदन गरेको छ ।

मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले समायोजन कार्यविधी–२०६९ पारित गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिए ।

माओवादी लडाकुलाई सेनामा समायोजन गर्दा गठन हुने माहानिर्देशनालय, गठन प्रक्रिया, खर्च, लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको पारिश्रमिक तथा मापदण्ड लगायतका सम्पूर्ण समायोजनक प्रकृयालाई समेटिने गरि समायोजन कार्यविधी–२०६९ पारित गरेको हो ।

मन्त्री पुनले पारित कार्यविधी–२०६९ अनुसार सेना समायोजन गरिने बताए । उनले शान्ति प्रकृयामा दलहरुबीच सहमति भइसकेपछि अब संविधान निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको बताए ।

दलहरुका बीच सहमति जुटाउन सबैको सहयोग अपरिहार्य रहेको भन्दै उनले संविधान निर्माणमा सहयोग गर्न सरकारले सबैसँग अपील गरेको बताए ।

त्यसै गरेर सरकारले जेठ–१४ गते सम्म कसैलाई पनि बन्द हड्ताल जस्ता कार्यक्रम नगर्न÷नगराउन पनि आह्वान गरेको मन्त्री पुनले बताए ।

सत्तारुढ राष्ट्रिय जनमुक्ति पार्टीको बन्दका बिषयमा समेत मन्त्रिपरिषदमा छलफल भएको थियो ।

त्यस क्रममा मन्त्रीहरुले सरकारमा रहेका दलहरुबाटै बन्द आह्वान गर्ने कार्य आपत्तिजनक रहेको भन्दै श्रम मन्त्री माथबरसिंह थापाको आलोचना गरेका थिए ।

प्रतिक्रिया