विद्युत् टर्बाइन टेस्ट ल्याब सञ्चालनमा

काठमाडौं, २ वैशाख । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा स्थापना गरिएको दक्षिण एसियाकै पहिलो विद्युत् टर्बाइन टेस्ट ल्याब सञ्चालनमा आएको छ ।
गत मंसिरमा भौतिक पूर्वाधार निर्माणपछि उद्घाटन गरिएको उक्त ल्याब सञ्चालनमा आएको हो । ल्याबका लागि आवश्यक उपकरण आउन बाँकी रहेकाले ल्याब सञ्चालनमा आइसकेको थिएन । सबै उपकरणहरू ल्याइसकिएकाले अहिले ल्याब टर्वाइन आएमा परीक्षण गर्ने अवस्थामा छ ।
‘भौतिक पूर्वाधार निर्माण भइसकेको छ, थप आवश्यक उपकरण विदेशबाट ल्याइसकेका छौँ, अब टर्वाइन टेस्ट गर्न आएमा तुरुन्तै गर्न सकिने अवस्थामा पुगेका छौँ,’ केयु स्कुल अफ इन्जिनियरिङका डिन डा. भोला थापाले भने । उनका अनुसार टर्वाइन परीक्षणका लागि ल्याएपछि पनि त्यसको आवश्यकताको आधारमा कतिपय उपकरणहरू विदेशबाट ल्याउनुुपर्ने हुन्छ ।
ल्याब सञ्चालनपछि तीन सय किलोवाटसम्मको प्रत्यक्ष रूपमा र त्योभन्दा माथिका टर्वाइनहरू नमुना परीक्षणका रूपमा नेपालमै परीक्षण गर्न सकिन्छ । टर्वाइनको गुणस्तर, कार्य क्षमता र अवस्थालगायतबारे ल्याबबाट परीक्षण गर्न सकिन्छ । अहिले स-साना टर्वाइन परीक्षण भारतलगायतका दक्षिण एसियाका देशमा हुन्छ भने ठूलाका लागि जर्मनी, नर्वेलगायतमा देशमा लैजानुपर्ने अवस्था थियो । अब दक्षिण एसियाका अन्य मुलुकले पनि नेपालमा आएर टर्वाइन परीक्षण गर्न सक्नेछन् । ‘दक्षिण एसियाका अन्य देशमा यति ठूलो क्षमताको टर्वाइन परीक्षण गर्ने ल्याब छैन, यो दक्षिण एसियाकै पहिलो ठूलो ल्याब हो,’ डिन थापाले भने ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङद्वारा विभिन्न गैरसरकारी संघ/संस्थाको सहयोगमा स्थापना गरिएको उक्त टर्वाइन सञ्चालनमा आएपछि टर्वाइन परीक्षणका लागि करोडौं खर्चेर विदेश जानुपर्ने अवस्थाबाट विद्युत् लगानीकर्ताहरू मुक्त भएका छन् । नर्वेजियन सहयोग निकाय -नोराड) को ६० प्रतिशत, केयुको २० प्रतिशत र अन्य १९ जलविद्युत् क्षेत्रका सक्रिय सरकारी र गैरसरकारी निकायको २० प्रतिशत गरी १० करोडको लागतमा ल्याब भवन बनेको हो ।
‘पहिले टर्वाइनको टेस्ट सिधै आयोजनाको कार्य क्षेत्रमै गएर हुन्थ्यो, अब टर्वाइनको कार्य क्षमता ल्याबबाट थाहा हुने भएको छ,’ पावर टेक नेपालका सुरेन्द्र माथेमाले थपे, ‘पहिला विदेश लानुपर्ने अवस्था थियो, अब ठूला टर्वाइनसमेत देशमै  परीक्षण गर्नका लागि बाटो खुलेको छ ।’
ल्याबको अभावमा नेपालमै बन्ने स-साना टर्वाइनहरू विनापरीक्षण उपयोग गर्ने गरिएको छ । टर्वाइनको गुणस्तर परीक्षण नगर्दा धेरै जलविद्युत् आयोजनाका टर्वाइन बर्सेनि बिग्रने र काम नलाग्दा आयोजनाले करोडांै घाटा बेहोर्नुपर्ने अवस्था थियो । नेपालमा एक सय किलोवाटसम्मको टर्वाइन बनाउने करिब १५ वटा कम्पनी छन् तर उनीहरूले कुनै परीक्षण नगरी टर्वाइन आयोजनाका लागि पठाउने गरेका थिए । ‘ल्याबले टर्वाइनको गुणस्तरबारे परीक्षण गर्न धेरै सजिलो भएको छ,’ ल्याबकी सहायक अनुसन्धानकर्ता सुपि्रया कोइरालाले भनिन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले टर्वाइनको कार्यक्षमता ५५ प्रतिशत भए पुग्छ भने पनि ८५ प्रतिशतसम्म पुर्‍याउन सके टर्वाइनमा आउने समस्या कम हुन सक्छ तर यसअघि टर्वाइनको गुणस्तर नाप्ने निकायकै अभाव थियो ।
यहाँ स्थापना गरिएको ल्याबको ३० मिटर खुला हेड र १५० बन्द हेड छ । टर्वाइन टेस्टका लागि ल्याब उद्घाटनपछि स-साना टर्वाइन प्रयोग गर्ने आयोजनाका लगानीकर्ताले परीक्षणका लागि अनुरोध गरे पनि उपकरण अभावमा परीक्षण  गर्न ल्याबले सकेको थिएन । अब भने सबै टर्वाइनको परीक्षण गर्नसक्ने अवस्थामा ल्याब पुगेको हो । केयुले अहिले ल्याबका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन तालिम दिनका लागि कोर्स तयार गरिरहेको छ । ‘वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग मिलेर तयार गरिरहेका छौँ, टर्वाइन उत्पादनको प्रविधि, डिजाइनर निर्माण, गुणस्तर मापनका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कोर्ष बनाउन लागेका हौँ,’ ल्याबका अनुसन्धानकर्ता विराजसिंह थापा भन्छन् । अहिले केयुले विद्युत्को टर्वाइनभित्र बालुवाका कारणले आउने समस्या न्यूनीकरणका लागि अनुसन्धानसमेत गरिरहेको छ । आवश्यक दक्ष जनशक्तिका लागि केयुले छ जनालाई नर्वे पठाएकामा चारजना तालिम लिएर फर्केका छन् भने दुईजना आउन बाँकी छन् । ल्याब सञ्चालनपछि केयुमा अध्ययनरत विद्यार्थीलाई अभ्यास तथा अनुसन्धानमा समेत सहयोग पुगेको छ । पहिला पिएचडी र मास्र्टस गर्ने विद्यार्थीलाई रिसर्च र अभ्यास गर्न विदेश जानुपर्ने बाध्यता थियो । अब यहीँ बसेर नयाँ टर्वाइन डिजाइन, अनुसन्धान गर्न सहयोग पुगेको छ । टर्वाइन ल्याब स्थापनापछि उक्त ल्याबबारे जानकारी लिनका लागि स्वदेश तथा विदेशबाट केयु पुग्ने क्रम पनि पछिल्लो समयमा बढेको केयुले जनाएको छ ।
केयुले मोडेल बनाउनका लागि नर्वेजियन राजदूतावासमा १० मिलियन डलरको प्रस्तावसमेत पेस गरेको छ । टर्वाइन उद्योग सञ्चालन भएमा ठूला टर्वाइनका लागतमा आधा मूल्य, बिजुलीको भाउ र विद्युत् आयोजनाको लागत घट्ने साथै रोजगारी पनि पाउने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया