धादिङमा सहकारी फस्टाउँदो

धादिङ, २ वैशाख । जिल्लामा सञ्चालित सहकारी संस्था फस्टाउँदै आएको छ । जिल्लामा बचत तथा ऋणको कारोबार गर्ने सहकारीको तुलनामा उत्पादनमूलक सहकारीको वर्चस्व रहेको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ । सञ्चालित सबै सहकारी संस्थाले उल्लेख्यरूपमा प्रगति गर्न सफल भएको कार्यालयले जनाएको छ । जिल्लाको ५० वटै गाविसमा सहकारी स्थापना भइसकेको छ ।
सञ्चालित सहकारी संघ/संस्थाको सेयर पुँजी गत वर्षका तुलनामा यस वर्ष दोब्बर वृद्धि गरिएको कार्यालयले जनाएको छ । धादिङमा गरिब, पिछडावर्ग, महिला, दलित, जनजाति, र दुर्गम क्षेत्र आदिको न्यूनीकरणमा सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न थालेको बताइएको छ । उत्पादन वृद्धि, गरिबी तथा असमानता न्यूनीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जनामा सहकारीको भूमिका ठूलो रहेको डिभिजन सहकारी कार्यालय धादिङका सहकारी अधिकृत रुद्रप्रसाद पौडेलले जानकारी दिए । जिल्ल्मा सञ्चालित सहकारी संस्थाका तुलनामा पुरुषभन्दा महिला बढी आबद्ध रहेको कार्यालयले जनाएको छ ।
चालु आवको फागुन मसान्तसम्म जिल्लामा २६ वटा कृषि सहकारी, पाँच बचत तथा ऋण सहकारी, दुइटा लघु जलविद्युत् सहकारी र एक सञ्चार सहकारी दर्ता भएको कार्यालयले जनाएको छ । दर्ता भएका सहकारीमध्ये करिब एक सय ५० वटा कृषि सहकारी र सानाकिसान सहकारी रहेको कार्यालयले जनाएको छ । त्यस्तै तरकारी तथा फलफूल, दुग्ध उत्पादक, मौरीपालन सहकारी संख्या पनि उल्लेख्यरूपमा रहेको छ । धादिङमा बचत तथा ऋण सहकारीको संख्या करिब ९० वटा मात्र रहेको छ ।
गत आवका तुलनामा चालु आवमा सहकारी संस्था वृद्धिदर १४ दशमलव ७७ प्रतिशत, सदस्य संस्था वृद्धिदर २३ दशमलव ६८ प्रतिशतले वृद्धि भएको पौडेलले जानकारी दिए । सहकारी संघ/संस्थाको १६ करोड १५ लाख सेयर ९२ हजार सेयर पुँजी, ४६ करोड ९७ लाख सेयर ४१ हजार निक्षेप संकलन गरी ८१ करोड ५९ लाख सेयर ४१ हजार कर्जा लगानी रहेको पौडेलले जानकारी दिए । जिल्लामा पाँचवटा विषयगत जिल्ला संघ, तीन सय ३४ वटा प्रारम्भिक सहकारी संस्था दर्ता भएका छन् । सो सहकारीमा ४४ हजार चार सय ९१ जना महिला र ३२ हजार आठ सय ६५ पुरुष गरी कुल ७७ हजार पाँच सय आठ जना सहकारीमा आबद्ध रहेको कार्यालयले जनाएको छ ।
१७ सहकारी खारेजी प्रक्रियामा
जिल्लामा यस वर्ष १७ वटा सहकारी संस्था खारेजीको प्रक्रियामा रहेको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ । विगत दुई वर्षदेखि वाषिर्क साधारणसभा नगरेको, वाषिर्क लेखापरीक्षण नगरेको, सञ्चालक समितिको बैठक नबसेको, कतिपय सहकारीको कार्यायलसमेत नभेटिएको, मासिक विवरण नबुझाएको भन्दै खारेजी प्रक्रियामा गएको डिभिजन सहकारी कार्यालय धादिङका सहकारी अधिकृत रुद्रप्रसाद पौडेलले जानकारी दिए ।
सहकारी ऐन ०४८ को दफा ३४ मा कुनै पनि सहकारी संघ/संस्थाले लगातार दुई वर्षसम्म साधाराणसभा र कारोबार नगरी निस्कृय रहे दर्ता खारेज हुने व्यवस्था छ । खारेजीमा परेका संस्थामा इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था, रुद्रायणी बचत तथा ऋण सहकारी संस्था, मालिका चेपाङ बचत तथा ऋण सहकारी संस्था, बिज्युलुङ युङ्वा बचत तथा ऋण सहकारी संस्था रहेका छन् । त्यस्तै सफल कृषि बहुउद्देश्यीय सहकारी संस्था, महादेव बहुउद्देश्यीय सहकारी संस्था, जोगीमारा कृषि बहुउद्देश्यीय सहकारी संस्था, नवजनजागरण कृषि बहुउद्देश्यीय सहकारी संस्था, राम्चे बहुउद्देश्यीय सहकारी संस्था, समग्र ग्रामीण विकास कृषि बहुउद्देश्यीय सहकारी संस्था, जनमुखी कृषि बहुउद्देश्यीय सहकारी संस्था, ज्यामङ कृषि बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । चण्डीभूमि दुग्घ उत्पादक सहकारी संस्था, छत्रे दुग्घ उत्पादक सहकारी संस्था, महांकाल दुग्घ उत्पादन सहकारी संस्था, शिलादेवी तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था र धुनीबेसी ग्रामीण विद्युत् सहकारी संस्था पनि खारेजीको सूचीमा परेका छन् । कार्यालयले गत वर्ष पनि निष्कृय रहेको आठवटा विभिन्न प्रकृतिका सहकारी खारेजी गरेको थियो । सूचना म्याद सकिने एक हप्ता बाँकी रहेको र केही सहकारी भने सम्पर्कमा आएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया