डन्डी बियोमा सबलाई हराउथ्यौं

भाइबहिनीहरू, म २०१० साल असार २३ गते गुल्मीको भटकुवा भन्ने गाउँमा जन्मिएको हुँ । त्यति बेला भटकुवा ‘गाउँ पञ्चायत’ मा थियो, अहिलेचाहिँ रूरू गाविसमा पर्छ । मेरो बुबा खुमानन्दलाई मानिसहरू सानो पण्डित भनेर चिन्थे । आमाको नामचाहिँ चोलाकान्ता हो । हजुरबुबा नारायणप्रसाद त्यति बेलाका कहलिएका पण्डित हुनुभएकाले बुबालाई सानो पण्डित भनिएको होला । हजुरबा र साहित्यकार लेखनाथ पौडेलले सँगै पढ्नुभएको रे ! उहाँहरू मिल्ने साथी हुनुहुँदो रहेछ ।
हाम्रो घरमा १२-१५ गाई जहिल्यै हुन्थे । भैँसी पनि पाल्थ्यौँ । स्कुल लागेका बेला घरको काम खासै गर्नु पर्दैनथ्यो । बिदाको समयमा चाहिँ प्रशस्तै गर्नुपथ्र्यो । म घरको साहिँलो छोरा । गाई लिएर जंगलमा चराउन जानुपथ्र्यो । जंगलमा फलफूल खान पाइने भएकाले गोठालो जान रमाइलै लाग्थ्यो । ठूलोवन, थोर्गाको वन र धारापानीका वनमा आँप, किम्बु, ऐँसेलु, चुत्रो, आरूजस्ता फलफूल पाइन्थे । गाईहरू आफ्नै धुनमा चरिरहन्थे, मचाहिँ रूखमा चढिहाल्थेँ । साँझ पर्न थाल्दा गाईहरू सुरुसुरु घरतिर लागिहाल्दा रहेछन्, ऐँसेलुतिरै भुलिरहेको मलाई पत्तै हुँदैनथ्यो । एकपटक त गाईहरू भेट्टाउन निकै दौडनुपरेको थियो ।
गाउँमा आँपको एउटा सार्वजनिक बगैँचा नै थियो । मानिसहरूमा आँप रोपे धर्म हुन्छ भन्ने विश्वासका कारण त्यो ठाउँमा आँपको बगैँचा बनेको रहेछ । काँचो आँप त कति खाइन्थ्यो कति, ठेगानै छैन । आँपले बिगार गरेको मलाई अहिलेसम्म थाहा छैन ।
लगभग एक घन्टा हिँडेपछि पुगिन्थ्यो रिडी बजार । हजुरबुबा-हजुरआमा त्यहीँ बस्नुहुन्थ्यो । गाउँबाट उहाँहरूलाई दूध, दही, तरकारी, फलफूल अनि घ्यू पुर्‍याउन गइरहन्थ्यौँ । रिडीमा हाम्रो खेत थियो, माथि गाउँमा चाहिँ बारी । खेतमा फलेको अन्न बोकेर माथि गाउँ उक्लिन्थ्यौँ ।
मैले चार वर्षको हुँदा अक्षर चिनेँ । काठको पाटीमा रातो माटो राखेर काठकै कलमले अक्षर कोरेर पढ्थ्यौँ । एकैचोटि दुई कक्षामा भर्ना भएको थिएँ, नेपाल राष्ट्रिय निमावि, भटकुवामा । त्यहाँ पाँच कक्षासम्म पढेँ । त्यो स्कुल त्यति बेला प्रावि मात्र थियो । त्यसपछिको पढाइका लागि दाङ, टरिगाउँको महेन्द्र माविमा जाने निधो भयो ।
दाङ जानाका पछाडि एउटा मात्र कारण थियो, मेरा ठूला दाजु भक्तिराम २०१५ सालबाटै त्यहाँ पढ्दै हुनुहुन्थ्यो । उहाँ संस्कृत पढ्न भनेर जानुभएको हो । यकिन मिति त सम्झन सक्दिनँ, १८-१९ सालतिर हो कि जस्तो लाग्छ । दाजुसँगै पाँच दिन हिँडेर दाङ पुगेँ । सानै थिएँ । हिँड्न सकेको ठाउँमा हिँडेँ, नसकेको ठाउँमा दाजुले पिठ्युमा बोक्नुहुन्थ्यो ।
टरिगाउँमा शिवप्रसाद लामिछानेको घरमा बस्थेँ । दिउँसो स्कुल जाने अनि बिहान-बेलुका उनका छोरा कृष्णलाई पढाउनुपथ्र्यो । म ११ वर्षको न थिएँ । स्कुल जाँदा विद्यार्थी, घरमा हुँदाचाहिँ शिक्षक । मेरो एसएलसी ०२६ सालको हो । गुल्मीको साह्रै सम्झना आउँथ्यो । बिदामा गएका बेला पुराना स्मृतिले मनलाई उत्साहित गराउँथे ।
दाङबाट बिदामा गुल्मी जाँदा एउटा रमाइलो घटना भएको थियो । सजीवन भन्ने एक प्रकारको वनस्पति हुन्छ । साथीहरूले त्यसको गेडा त बदामजस्तै हुन्छ, खाऊ भनेर हौस्याए । म पनि के कम खाइहालेँ । सुरुमा त मीठै भाथ्यो, पछि बमिट पो भयो । मलाई साह्रै डर लागेको थियो । कतै सजीवनको बोट देख्दा अहिले पनि त्यो घटना याद आइरहन्छ ।
खेल्ने मामिलामा त म च्याम्पियनै थिएँ । डन्डीबियोलाई हामी ‘लारी’ खेल्ने भन्थ्यौं । म सबैलाई हराइदिन्थेँ । मसँग खेल्ने आँट जोकोहीले गर्दैनथ्यो । त्यसमा त म हिरो नै हुन्थेँ । पौडीमा पनि रुचि थियो । माहिलो दाजुजत्तिको त थिइनँ तर उहाँ पछाडिचाहिँ म नै थिएँ । उर्लिंदै गरेको रिडी पौडेरै तरिदिन्थेँ । त्यति बेलाको जोस सम्झँदा अहिले पनि उर्लिरहेको रिडी तर्न सक्छु कि जस्तो आँट पलाउँछ ।
प्रस्तुतिः सरिता सुबेदी

प्रतिक्रिया