असन्तुष्ट लडाकुले शिविर छाडे

चितवन, २ वैशाख । शक्तिखोर शिविरका असन्तुष्ट माओवादी लडाकुले चेक नबुझी शिविर छाडेका छन् । सेनामातहतमा पुनः वर्गीकरण सुरु भएलगत्तै असन्तुष्ट लडाकुले शिविर छाडेका हुन् ।
‘सेनाको कब्जामा हामी कसरी बस्न सक्छौं,’ शिविर छाडेर बाहिर निस्किसकेका एक लडाकुले भने, ‘हामी पनि सेना हौं । सम्मानजनक व्यवहार नभएपछि कब्जामा बस्न सक्दैनौँ ।’
शिविरमा भएका लडाकु पनि चेक बुझेर घर हिँड्न हतारिएका छन् । शनिबार साँझ साढे छ बजेसम्म चेक वितरण गरिएको सेना समायोजन विशेष समितिका संयोजक बालानन्द शर्माले पाँच सय ६० ले चेक लिएको बताए ।
शिविर बाहिर रहेका तीन सय ८३ ले शुक्रबार स्वैच्छिक अवकाश रोजेर चेक बुझेका थिए । उनीहरुले आफ्ना खाट, टेबल, भाँडाकुँडा शिविरबाट बाहिर निकालिसकेका छन् ।  शिविरमा सेना प्रवेशअघि नै केहीले सामान स्थानीयलाई कम मूल्यमा बेचेका थिए । शक्तिखोरमा यसअघिको वर्गीकरणमा दुई हजार दुई सय १४ ले समायोजन रोजेका थिए । सेनाले शिविरमा सुरक्षा दिइरहेको छ । भरतपुर ब्यारेकका गणपति ज्योतेन्द्र महतले आफूहरु जाँदैमा अधिकांश सामान नभएको दाबी गरे । उनले भने, ‘लडाकु कोकति भित्र बाहिर छन्, थाहा भएको छैन ।’
यस्तै, सुर्खेत दशरथपुरस्थित माओवादी लडाकुको छैटौँ डिभिजनबाट शनिबार  अवकाश रोज्ने दुई सय ४९ लडाकुलाई बिदाइ गरिएको छ । अवकाशबापत पाउने कुल रकमको आधा रकम दिएर बिदाइ गरिएको सेना समायोजन विशेष समितिका सदस्य एवं टोली प्रमुख डा. दीपकप्रकाश भट्टले जानकारी दिए । एक हजार पाँचसय ५१ लडाकु रहेको डिभिजनका चार सय लडाकुले स्वैच्छिक अवकाश रोजेको उनले जनाए । यस्तै, कैलालीस्थित सातौँ डिभिजनमा एकसय ९२ लडाकुले अवकाश रोजेर चेक बुझेका छन् ।  सातौं डिभिजनमा एक हजार सातसय ६२ लडाकु छन् । त्यसमध्ये दुई सहायक शिविरमा पाँचसय ४० छन् ।

जनयुद्धमा होमिएकामा पछुतो

सुर्खेत, २ वैशाख । ‘हामीलाई पार्टीले अढाइ लाख रुपियाँमा बेच्यो,’ १६ वर्षमै जनयुद्धमा होमिएर प्लाटुन सहायक कमान्डर भएकी कोटडाँडा-५ मुगुकी २४ बर्षीय दिलमाया रावतले भनिन्, ‘त्यतिखेर पढाइ छाडेर युद्धमा हिँडियो, अहिले पार्टीले बिचल्ली पारेर छाडिदियो ।’
२०६० सालमा कक्षा ८ मा पढ्दै गर्दा माओवादीमा होमिएकी रावत जीवनका उर्वर समय तीन वर्ष युद्ध लडिन् भने विस्तृत शान्ति सम्झौतापछिका पाँच वर्ष लडाकु शिविरमा बिताइन् । लडाकु शिविर एकाएक सेनालाई जिम्मा दिने निर्णयपछि उनी आक्रोशित छिन् । ‘यही अवस्था चाहेको भए जनताका लागि भनेर किन हामीलाई युद्धमा लडाइयो,’ उनले प्रश्न गरिन् ।
‘त्यतिबेला पढिएन, बन्दुक बोकेर जनताको मुक्तिका लागि हिँडियो, अहिले आफ्नै मुक्तिको खोजीमा भौँतारिनुपर्ने भयो,’ उनले भनिन्, ‘मनभरि पछुतो बोकेर घर र्फकँदैछु, सायद ऋण खोजेर विदेश जानु पर्ला ।’
रावतजस्तै, दशरथपुरस्थित छैटौँ डिभिजनका अधिकांश लडाकु आफ्नै भविष्यप्रति चिन्तित छन् । देश र जनताका लागि बन्दुकको नालबाटै राज्यसत्ता कब्जा गरेर नयाँ जनवादी सत्ता स्थापना गर्ने सपना बोकेका लडाकु माओवादीले घर न घाटको बनाएर छाडेको बताइरहेका छन् ।
‘आफ्नै जीवन बर्बादीको बाटामा अघि बढिरहेको छ,’ कम्पनी कमान्डर चन्द्रबहादुर घर्तीले भने, ‘स्वैच्छिक अवकाश लिएर व्यवसाय गर्ने सोच बनाएको छु ।’ दैलेखका ३५ बर्षीय घर्ती २०५९ सालदेखि युद्धमा लागेका थिए । उनले पनि माओवादीले झुठा आश्वासन बाँडेर नेपाली युवाको भविष्य अन्धकार बनाएको बताए ।

प्रतिक्रिया