विवादकै बीच दुई भ्रातृसंगठन विस्तार

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको असहमतिकै बीच नेपाल तरुण दल र महिला संघ गठन गरेका छन् ।
सहमतिविपरीत नेपाल विद्यार्थी संघको केन्द्रीय समिति विस्तार गरिएको भन्दै देउवा पक्षका संघका नेता रिले अनशनको तयारीमा रहेका बेला सभापति कोइरालाले शनिबार दुई भ्रातृसंगठनको केन्द्रीय समितिलाई पूर्णता
दिएका हुन् ।
नेविसंघको केन्द्रीय समिति विस्तारको निर्णय सच्याउन देउवा पक्षले दबाब दिइरहेका बेला संस्थापनले तरुण दल र महिला संघ पनि आफूखुसी गठन गरेको देउवा पक्षको आरोप छ । सात दिनभित्र सबै भ्रातृसंगठन गठन गर्ने गत २१ माघको सहमतिविपरीत ७२ दिनपछि कोइरालाले तरुण दल र महिला संघको ३९/३९ सदस्यीय तदर्थ समिति गठन गरेका हुन् । दुवै संगठनमा संस्थापनको बहुमत रहने गरी सदस्य मनोनयन गरिएको छ ।
सभापति कोइरालाले नेविसंघको केन्द्रीय समिति गठनपछि विवाद समाधान गर्न उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिएका थिए । सहमतिका लागि उपसभापति पौडेलसहित नेताहरू वरिष्ठ नेता देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए तर देउवाले सहमतिअनुसार संघको केन्द्रीय समिति गठन नभएको भन्दै संघको विवाद मिलाएपछि मात्र अन्य भ्रातृसंगठन विस्तार गर्न आग्रह गरेको स्रोतको दाबी छ । देउवासँगको भेटमा पौडेलले संघको केन्द्रीय समितिमा केही नाम थप गर्ने तयारी भएको जानकारी गराएका थिए ।
देउवालाई भेट्न पुगेका नेताहरूले सभापति कोइरालाले भ्रातृसंगठनका प्रमुखहरू तोक्दा सभापतिसँग बहुमत रहने गरी समिति गठन गर्ने सहमति भएको भन्दै आफ्नो पक्षबाट २० र देउवा पक्षबाट १७ जना पर्ने गरी ३७ जनाको समिति बनाउन भनेको जानकारी गराएका थिए । देउवा पक्षले भने तरुण दल र महिला संघको ३१/३१ जनाको समिति गठन गर्ने सहमति पहिले नै भइसकेको दाबी गरेको छ ।
कांग्रेस मुख्यसचिव वसन्त गौतमद्वारा शनिबार जारी विज्ञप्तिमा दुवै संगठनमा संस्थापन पक्षका २२ र देउवा पक्षका अध्यक्षसहित १७ जना केन्द्रीय सदस्य छन् । विज्ञप्तिअनुसार पार्टीको निर्देशनमा रही ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न तदर्थ समितिलाई जिम्मेवारी दिइएको छ । तदर्थ समितिका सभापति र सदस्य आगामी अधिवेशनमा उम्मेदवार बन्न नपाउने उल्लेख गर्दै महाधिवेशन सम्पन्न नभएसम्म भ्रातृसंस्थाको केन्द्रीय कार्यसमितिको कार्यसम्पादन गर्न पनि भनिएको छ ।

नेपाल तरुण दल
संस्थापन पक्ष
रमेशप्रसाद खरेल, गणेश भट्ट, मुकेश गुप्ता, नारायण भट्टराई, नृप सुनुवार, सुदीपनरसिंह राणा, प्रमोद रिमाल, सरिता केसी, विनोद पन्त, मेदिनी सिटौला, टेकराज पौडेल, सविता सिलवाल नवलकिशोर यादव, राम रोकाया, उद्धव कोइराला, नवराज श्रेष्ठ आकाश, लक्ष्मी खतिवडा, दिनेश राई, कमल पराजुली, जीवन डंगोल, गोविन्द रानाभाट र दामोदर लम्साल ।
देउवा पक्ष
जन्मेजय तिमिल्सिना, राधा घले, कृष्णदत्त पनेरू, चिरञ्जीवी जोशी, सञ्जयकुमार श्रेष्ठ, गोपाल देउवा, कुमार ढकाल, सनतकुमार मण्डल, मुक्ति अधिकारी, धनराज थुङवान्पो, महेश दाहाल, लोकेन्द्र खाँण, राजकिशोर सिंह, मदन बुढाथोकी, सुबोध प्रधान र गणेश खड्का ।

महिला संघ
संस्थापन पक्ष
मालती सोडारी, जीवना वादे श्रेष्ठ, पुष्पलता लामा, लक्ष्मी बोहोरा, टीका भण्डारी, मधु शाही, हरिप्रभा खड्गी, सहनशीला श्रेष्ठ, चन्द्रा जोशी, माया रानामगर, राजन विक, रिजन श्रेष्ठ, हीरादेवी शर्मा, पुष्पा श्रेष्ठ, विष्णु दाहाल सुब्बा, रविकला खनाल, मुक्ता यादव, सुभद्रा भट्टराई, बिजुला बर्मा, रीता शाही, वसन्ती भट्ट र रिना उप्रेती ।
देउवा पक्ष
नानुमैया बास्तोला शिवाकोटी, कमला राई, प्रमिला दास, शान्ति कार्की, विजया केसी, निर्मला क्षेत्री, ओमकला गौतम, आनन्दी राना, अम्बिका न्यौपाने, बबिता केसी, दिव्येश्वरी शाह, कल्पना केसी, ललितकला गुरुङ, सरिता शर्मा, लीला बोखिम र आभा शर्मा ।

प्रतिक्रिया