सम्झनामा भैरव अर्याल


खेमकुमारी र होमनाथका छोरा भएर विसं.१९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका हुन् भैरव अर्याल । नेपाली साहित्यमा कहलिएका साहित्यकार अर्यालको प्रसिद्धिचाहिँ हास्यव्यंग्य शैलीमा नै बढी छ । नेपाली हास्यव्यंग्यका बेजोड प्रतिभा हुन् उनी । हास्यव्यंग्यका शिखर स्रष्टाको मान्यता पाएका छन् भैरवले । नेपाली हास्यव्यंग्य र भैरव अर्याल एकअर्कासँग अभिन्न भएर गाँसिएका छन् । उनका ‘काउकुती’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दस औतार’, ‘टेढो ऐना’, ‘कारिन्दाको दिनचर्या’ हास्यव्यंग्यका लोकपि्रय कृति हुन् ।
भैरव अर्यालसँग मेरो २०१६ सालदेखि संगत भयो । उनी बाँचुन्जेल निकै घनिष्ठ साथीका रूपमा सम्बन्ध झांगियो । ज्यादै नजिकबाट उनका बानी बेहोरा, सिर्जनात्मकता र प्रगति हेर्ने अवसर पाएँ । २०१८ मा भैरवकै प्रेरणाले रमेश विकलसमेतको सहयोगमा मैले ‘रचना’ पत्रिका प्रकाशित गरेको हुँ । भैरव अर्यालका नाममा पहिलो हास्यव्यंग्य ‘टी पार्टी’ ‘रचना’को पहिलो अंकमा छापिएको हो । त्यसो त २०१७ सालमा ‘रूपरेखा’ पत्रिकामा ‘नयाँ भाका र नयाँ कवित्त’ शीर्षकमा उनको निबन्ध छापियो । तर त्यहाँ लेखकको नाम-‘इभरब प्रसाद अर्जेल’ छपिएको थियो । भैरवको पहिलो हास्यव्यंग्य संग्रह ‘काउकुती’ पहिले जगदम्बा प्रकाशनले छाप्ने निधो गरेको थियो । पछि प्रकाशकलाई स्तरहीन लागेछ र लेखकलाई पत्तै नदिई प्रकाशकमा वासुदेव शर्माको नाम राखेर छापियो । यस व्यवहारबाट भैरव निकै खिन्न भए । तर स्तरहीन भनिएको त्यही किताबले लोकपि्रयताको शिखर चुम्यो । हास्यव्यंग्यप्रति पाठकको रुचिलाई कदर गर्दै वासुदेव लुइँटेलले हास्यव्यंग्यका मात्रै पुस्तक छाप्ने संस्था ‘कौवा प्रकाशन’ नै खोले । भैरव वासुदेवसहितका हास्यव्यंग्य लेखकको जमातले कौवा प्रकाशनमार्फत् तहल्का नै मच्चायो त्यसबेेला ।
भैरव आफ्नो प्रसिद्धिबाट जति प्रसन्न थिए, शारीरिक दुर्बलताबाट त्योभन्दा बढी पीडित हुन्थे । विभिन्न मञ्चमा कविता पढ्न, गोष्ठीहरूमा सहभागी हुन, प्रवचन दिन, अन्तर्वार्ता दिन उनलाई निम्त्याइन्थ्यो । तर निम्तो मान्ने स्थितिमा हुँदैनथे । उनको घाँटीको स्वरनली सुकेर बोली बिग्रेको, मसिनु र अस्वाभाविक थियो । त्यसैले सभा समारोहहरूमा प्रस्तुत हुन असजिलो हुन्थ्यो । सिर्जनात्मक उच्चताका धनी भएर पनि घाँटीको समस्याले ग्रस्त हुँदा हीन भावनामा पिल्सिने गर्थे उनी । १६ वर्षको उमेरदेखि उनलाई यो रोग लागेको रहेछ । घाँटी दुखेर असह्य हुँदा बेलाबेला उनको हात घाँटीको नशामा पुगेको देखिन्थ्यो । त्यसमाथि चुरोटको अम्मल थपिँदा पीडा पराकाष्ठामा पुग्थ्यो ।
भैरवले सुरुमा संस्कृत पढे, गोकर्णकै जागिरदार बद्रीनाथ आचार्यको नक्साल डेरामा उनको भान्से भएर । संस्कृतको सम्पूर्ण मध्यमा परीक्षाको र्फम भर्न भा.रु. दस लाग्थ्यो । भैरवलाई त्यति जुटाउन हम्मेहम्मे पर्‍यो । अनि उनले एउटा जुक्ति झिके । त्यसबेलाका युवराज महेन्द्रलाई उनले र्फम भर्न रकम माग्दै कवितामा बिन्तीपत्र लेखेर नारायणहिटीमा पठाए । एक दिन एउटा घोडचढी सिपाही नक्साल चारढुंगेमा आएर भैरवप्रसाद अर्जेल भन्ने को हो ? कहाँ बस्छ ? भन्दै खोज्न लागेछ । छिमेकीहरूले डेरा बताएपछि सिपाहीले घोडा कड्काउँदै भैरवकहाँ पुगेर भनेछ-‘म नारानहिटीबाट आएको !’ अब सातोपुत्लो उडेछ भैरवको । युवराजलाई त्यस्तो पत्र लेखेकामा पक्रन आएछ, अब थुनामा, दण्ड सजायमा परिने भइयो भनेर थुर्थुर भएछन् । घोडाबाट ओर्लेर सिपाहीले एउटा खाम दिएर बुझेको सही गराएछ, भर्पाइको कागजमा । हात कमाउँदै खाम खेलेछन् भैरवले । त्यहाँ र्फम भर्ने रकमसहित पढाइमा सफलताका निम्ति शुभकामना समेत लेखेर पठाएका रहेछन् युवराज महेन्द्रले । अपार खुसी र उमंग छायो अब भैरवमा । उनले र्फम भरे, जाँच दिए र परीक्षा उत्तीर्ण गरे । त्यसबेला नक्सालमा संस्कृतकै विख्यात विद्वान् शेषराज रेग्मीकहाँ पढ्न जान्थे उनी । उनका सहपाठी अर्का लेखक बल्लभमणि दाहाल भैरवको यो प्रसंग रमाइलोसँग सुनाउँथे पछिसम्म ।
भैरव २०११ सालमा शिक्षक भएर पोखराको कन्धनी डाँडा स्कुलमा पढाउन गए । पूर्वसभामुख तारानाथ रानाभाट पनि त्यसबेला भैरवका विद्यार्थी थिए । स्कुल बिदाको एक दिन विद्यार्थीहरू लिएर वनभोजमा गएछन् भैरव । तालमा पौडी खेल्न जाँदा एकजना विद्याथ्र्ाी डुबेर मरेछन् । यस घटनाबाट उद्विग्न भएर भैरव स्कुलको जागिर छाडेर काठमाडौं आए । यता आएर पनि साँखुको पासीखेल स्कुलमा शिक्षक नै भए । त्यसबेलाचाहिँ उनले क्रान्तिकारी छवि देखाए । प्रधानमन्त्री टंकप्रसाद आचार्य साँखुबाट काठमाडौं र्फकंदै गर्दा आफ्ना विद्यार्थीको जुलुस निकालेर बाटो छेक्न आफूसमेत उभिए । ‘स्कुलको भवन नभएको, बेन्च नभएको सकस बेहोरेर पढ्नुपरेको यस्तो अवस्था सुधार नगर्ने सरकार मुर्दावाद !’ भन्दै नारा घन्काउन लगाए भैरवले । प्रधानमन्त्रीले माग पूरा गर्ने कबोल गरेपछि मात्र बाटो छाडे विद्यार्थीले । त्यस घटनापछि जोरपाटीतिर भैरवलाई कम्युनिस्ट भैरव भन्न थालेछन् । उनले पार्टीको सदस्यताचाहिँ कहिल्यै लिएनन् ।
‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त भए भैरव । खोलापारिको पुरेत बाजे, बकम्फुस शर्मार्जस्ता नाममा भैरवका समसामयिक व्यंग्य कविता ‘हालखबर’ मा छापिन थाले । हास्यव्यंग्यमा उनको कलम तिखारिँदै गयो । ‘रूपरेखा’, ‘रचना’, ‘सिंहनाद’ आदि पत्रिकामा छापिएका व्यंग्य निबन्धले उनको प्रसिद्धि बढ्दै गयो । कविता सजिलोसँग लेख्थे तर हास्यव्यंग्य लेख्न निकै सकस पथ्र्यो भैरवलाई । घरमा, डेरामा, अफिसमा अनेक बाधा परेर मेरै घरमा कोठाभित्र थुनेर पनि लेखाएको छु ‘रचना’ का निम्ति निबन्ध । त्यस्तोबेला अफिसमा बिदा लिन लगाएर चुरोट-बिस्कुट-पानीको बन्दोबस्त गरेर कोठाको ढोकामा ताल्चा मारिदिन्थेँ । पिसाव फेर्न कोपरा हुन्थ्यो । साँझतिर ताल्चा खोलिदिन्थेँ । उनकै सहमतिबाट यी कुरा गरिन्थे । दुई-तीन दिन त्यस्तो क्रम चलेपछि कहिले एउटा, कहिले तीनवटा निबन्ध तयार गर्थे भैरव । त्यसरी लेखिएका निबन्ध बेजोडका बन्थे । ‘रचना’मा जति छापिए ती निबन्ध भैरवबाट त्यसरी नै लेखाइएका हुन् ।
भैरव अरूका नाममा किताब लेखिदिनुपर्ने शोषणमा पनि परेका छन् कतिपटक । कसैको ‘जापान भ्रमण’ कसैको ‘पत्रकारिता’ कसैको ‘नेपाली महिला’जस्ता सिंगै किताब नै लेखिदिएका छन् उनले बाध्यतामा परेर । ‘गोरखापत्र’मा हुँदा आफ्नै कविता सारेर छाप्न पठाएर कवि बन्न खोज्ने कतिलाई आफैँले कविता लेखिदिएर, छापिदिएर प्रोत्साहित पनि गरेका छन् । कति नयाँ कवि लेखकका रचना परिमार्जित अथवा पुनर्लेखन नै गरिदिएर, छापिदिएर पनि प्रतिभालाई सघाउने बानी थियो भैरवको । ‘गोरखापत्र’मा हँुदा भैरवले यसरी प्रोत्साहित गरेका कति व्यक्ति आज चर्चित स्थापित लेखक बनेका छन् । त्यस्ता केही भैरवप्रति कृतज्ञ छन् भने केही कृतघ्न पनि छन् । भैगो तिनको पोल नखोलौँ ।
भैरव पहिले मद्यपान गर्दैनथे । एकपटक पत्रकार टोलीसँग पाकिस्तान जाने मौका पर्‍यो । साथी थिए अर्का पत्रकार-व्यंग्यकार बालमुकुन्ददेव पाण्डे । उनैले भैरवलाई पहिले बियर चखाए । पछि हि्वस्कीका पेग बढी नै तन्काउने पारेर रक्सीप्रवीण बनाइदिए । पहिलेका अभक्षविरोधी सात्विक भैरवलाई पाक भ्रमणबाट फर्केपछि अर्कै रूपको मद्यप्रेमी देखेर हामी साथीहरू चकित भएका थियौँ ।
गोरखापत्रका सम्पादक रामराज पौड्यालले पत्रकारितासम्बन्धी पुस्तक लेख्ने रहर गरेछन् । भैरवलाई आफ्नो घरमा लगेर अफिसमा बिदा मिलाएर आफ्नो पत्रकारिता पुराण पूर्ण गराउने काममा खटाएछन् । त्यस्तोबेला काम सकेर थकित गलित भएर फकर्ंदै गरेका भैरवलाई बाटोमा भेट्थ्यौँ हामी । उनी भन्थे, ‘अरू रामभक्ति गर्छन् मचाहिँ अचेल हराम भक्तिमा परेको छु, त्यही गरेर फर्केको हुँ ।’ आफ्ना सम्पादकबारे यस्तो प्रतिक्रिया दिँदै रुन्चे हाँसो हाँस्तै हामीलाई समेत हसाउँथे ।
‘गोरखापत्र’मा भैरव अर्यालका हाकिम भएर अर्का हास्यव्यंग्य लेखक केशवराज पिंडाली आइपुगेछन् । त्यस घटनालाई भैरव आफ्नै पाराले यसरी व्यक्त गर्थें ‘हेर न, अरूका तालुमा आलु फल्छ मेरो तालुमा त पिंडालु पो फल्यो !’ मरी-मरी हाँस्थ्यौँ हामी ।
भैरव र म एकपटक सँगै दिल्ली यात्रामा थियौँ । रेलमा अर्का एकजना परिचित व्यक्ति सहयात्री बने । हामी तल सिटमा बसेका थियौँ । ती सहयात्री माथिल्लो बर्थमा सुत्न उक्लिए । अनि भैरवसँग तलको सिटका आफ्ना सामान माग्दै गए, भैरव दिँदै गए । हुँदाहुँदा उनले भने, ‘भैरवजी त्यो जुत्ता दिनुस् त !’ यो सुन्नासाथ भैरवको कन्पारो तात्यो र उनले क्रोधोन्मत्त भएर उनकै जुत्ताले ती व्यक्तिको पुर्पुरो सेकिदिए । भैरवको त्यस्तो रौद्ररूप पहिलोपटक देखेँ मैले ।
िि
सिर्वप्रथम २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन् भैरवले । तीन दशकको र्सिजनायात्रामा कविता, निबन्ध, समालोचनाका गरी एकदर्जन बढी पुस्तक छापिएका छन् उनका । पत्रपत्रिकामा छरिएका थुप्रै रचना पुस्तकाकारमा आउन अझै बाँकी छन् ।
नेपाली पत्रकारिता पनि भैरवको योगदानबाट लाभान्वित भएको छ । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे । पछि ‘गोरखापत्र’को सम्पादन समूहमा रहे । ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे । ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो । साहित्य र पत्रकारिताका विविध क्षेत्रमा उनको प्रतिभा छरिए पनि हास्यव्यंग्यमा चाहिँ उनलाई सिद्धि नै प्राप्त भएको मानिन्छ । हास्य र व्यंग्यको शिष्ट संयोजन, राष्ट्रिय, अन्तर्राष्ट्रिय विसंगति र विरोधाभासप्रति कठोर प्रहार गर्न खप्पिस मानिन्छन् भैरव अर्याल । आफ्नै मौलिक उखान टुक्कालाई सही प्रयोग गर्दै कहिल्यै असंगत नठहरिने विषयको सफल छनोटजस्ता विशेषताले नै भैरवका हास्यव्यंग्य अतुलनीय ठहरिएका हुन् । नेपाली साहित्यका पारखी पाठकहरूबाट यिनै कारणले ‘हास्यव्यंग्यका शाश्वत शिल्पी’ भन्ने मान्यता कमाएका छन् अर्यालले ।
नेपाली साहित्यमा भैरवका योगदानको कदर गर्दै सामाजिक क्षेत्रबाट पनि उनको स्मृतिलाई जीवन्त पार्न सार्थक काम भएका छन् । उनको कर्मथलो काठमाडौंको जोरपाटीमा भैरव पुरस्कार गुठी, भैरव स्मृति भवन, सालिकसहितको भैरव स्मृति पार्क, भैरव पुस्तकालय स्थापित गरिएका छन् । हेटौँडामा पनि उनको सालिक स्थापना भएको छ । काठमाडौं र मकवानपुरबाट प्रत्येक वर्ष भैरव अर्यालका नाममा हास्यव्यंग्यका प्रतिभाहरूलाई तीनवटा पुरस्कार प्रदान गरिन्छ । उनको सम्झनामा नेपाल सरकारले हुलाक टिकट प्रकाशनमा ल्याएको छ । आधुनिक नेपाली साहित्यका यस्ता चहकिला तारा भैरव अर्यालको निधनचाहिँ दुःखद् भयो । २०३३ असोज १९ गते राति काठमाडौं गोकर्णको पुलबाट हाम फालेर आत्महत्या गरी बागमतीमा जीवन बिसाए अर्यालले ।
आफ्नो मृत्यु स्वाभाविक हुँदैन भन्ने संकेत पटकपटक दिइसकेका थिए भैरवले । दिल्लीमा भैरवको घाँटीकै उपचार निम्ति गएका थियौँ हामी । उनलाई त्यहीँ एकजना साथी बाबुराम पौडेलकहाँ छाडेर म फर्किएँ । उपचार हुन नसकेर उनी हरिद्वार, आगरा, बनारसतिर घुम्दै काठमाडौं फर्किए । फर्केर उनले सुनाएको यात्रा वर्णन यस्तो थियो, ‘हरिद्वारमा गंगामा आफूलाई सेलाइदिउँ भन्ने सोचेँ सँगै गएका साथी बाबुरामले कुनैबेला पनि एक्लै छाडेनन् । आगरा र बनारस जाँदा रेल दुर्घटना होस् भनेर कत्ति कल्पिएँ साबुत नै रहेँ । बनारसमा पनि गंगामा सिद्घउिँ भन्ने लाग्यो-शिव भट्टराई र बलराम उपाध्याय -वाम नेता) ले छाड्दै छाडेनन् । बनारसबाट रक्सौलसम्म पनि सुरक्षित नै आइपुगेपछि काठमाडौं जान वीरगन्जमा एउटा ज्यादै थोत्रो, टन्न सामान भरिएको ट्रक खोजेर चढेँ । त्रिभुवन राजपथमा कतै त्यो ट्रक खसेर सिद्धिन पाए हुन्थ्यो भनेर कल्पना गरिरहेँ । सरदार ड्राइभरले साबुत नै ल्याइपुर्‍यायो । कति सकस-हन्डर खेप्नु छं त्यसै के मर्थें चाहेर पनि !’
काठमाडौंमा कहिले घरकै झ्यालबाट हाम्फालेर, कहिले त्रिशूलीसम्म पुगेर पुलबाट खस्ने आँट नआएर फर्केका घटना दोहोर्‍याइरहेका थिए भैरवले । अन्त्यमा २०३३ सालमा अफिसलाई, परिवारलाई, समाजलाई मृत्युपत्र लेखेर आफूलाई विसर्जन गरे बागमतीमा भैरवले । आफूले आफैँलाई सिध्याए पनि भैरव आफ्ना लोकपि्रय कृतिहरूमा बाँचिरहेका छन् । नेपाली हास्यव्यंग्यको सगरमाथा भनेर पाठकहरूले उनको कीर्ति झन्झन् चुलीमा उकास्तै लगिरहेका छन् । यति सीमित पृष्ठमा भैरव-गाथा गाउन सकिँदैन । नेपाली हास्यव्यंग्यको शाश्वत शिल्पीलाई हार्दिक वन्दना !

प्रतिक्रिया