खोजखबर

बिस्केटको विश्वास

सौर्य अनलाइन २०६९ वैशाख २ गते २:४८ मा प्रकाशित


ऐतिहासिक नगरी भक्तपुर अहिले गुलजार छ । घरघरमा खुसीयाली छाएको छ । उनीहरूको ओठमा देखिएको मुस्कान अघिपछिको भन्दा बेग्लै छ । महत्त्वपूर्ण सांस्कृतिक चाड ‘बिस्केट जात्रा’ भव्यतासाथ सुरुआत भइसकेको छ । नगरवासी सबै चटारोलाई थान्को लाएर यो महत्त्वपूर्ण चाडमा लम्किएका छन् । ठूलो भिड नगरको मुख्य चोकमा जम्मा हुन्छ, अनि केटाहरू पाखुरा हेर्दै दंग पर्छन्-त्यही पाखुराले रथ जो तान्नु छ । बिस्केट जात्राको इतिहास खोतल्ने हो भने हामी पुराना मल्लकालीन दिनतिर र्फकनुपर्ने हुन्छ । ब्रह्मचारिणी प्राविका प्रधानाध्यापक शिवराम राजचलका अनुसार, ‘बिस्या’बाट अपभ्रंश भएर ‘बिस्का’ र बिस्काबाट पनि अपभंरश भएर कालान्तरमा ‘बिस्केट’ नामकरण भएको जनविश्वास छ । यसको अर्थ ‘बि’ भनेको सर्प र ‘स्याका’ भनेको मारेको अर्थात् सर्प मारेको सम्झनास्वरूप बिस्केट जात्रा मनाउन थालिएको हो ।
आठ रात, नौ दिनसम्म मनाइन्छ यो जात्रा । नाइकेले भैरवमन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि चैत सुरु हुनु चार दिनअघि विधिवत् रूपमा भैरव राखिएको रथ तानेर जात्राको औपचारिक सुरुआत गरिन्छ । टौमढीमा राखिएको रथ तान्ने क्रममा ‘ठने’
-माथिका) र ‘कोने’ -तलका) स्थानीय बासिन्दाले आ-आफ्नो ठाउँमा लैजान प्रतिस्पर्धा गर्छन् । भोलिपल्ट गःहिटीमा पुर्‍याएपछि तीन रात चार दिन त्यहीँ राखिन्छ । चैत मसान्तका दिन भैरवसँगै अजिमाको रथ पनि यसिंख्ोल पुर्‍याइन्छ । यसिंखेलमा लिंगो उठाउने काम हुन्छ । लिंगोमा दुईवटा हलिंपट राखिएका हुन्छन् । उक्त हलिंपटलाई राजकुमारीको नाकबाट निस्केको अजिंगरको प्रतीक मानिन्छ । नयाँ वर्ष अर्थात् वैशाख १ गते साँझ सो लिंगो ढालिन्छ । यो प्रक्रियालाई नाकबाट निस्किएको सर्पलाई युवकले मारेको पौराणिक कथाको प्रतीक मानिन्छ । बिस्केट जात्रा अवलोकन गर्ने व्यक्तिको शत्रु नाश हुने जनविश्वास छ ।
त्यसपछि रथलाई फेरि गःहिटीमा ल्याएर राखिन्छ । वैशाख ४ गते भक्तपुरवासीले नगर परिक्रमासहित सम्पूर्ण देवीदेवतालाई सगुन अर्पण गर्छन् । वैशाख ५ गते भैरव र अजिमाको रथ एक आपसमा जुधाएपछि विधिवत् रूपमा बिस्केट जात्राको एउटा वाषिर्क शृंखला टुंगिन्छ ।

बस्केट जात्राको सुरुआत कसरी भयो ? मल्लकालमा भक्तपुरकी राजकुमारीसँग बिहे गर्न कोही राजकुमार पनि तयार हुँदैनथे, किनभने जसले राजकुमारीसँग बिहे गथ्र्यो भोलिपल्टै उसकोे मृत्यु भइसकेको हुन्थ्यो । यस समस्याबाट एकदम चिन्तित भएका राजाले घोषणा गरे-‘जसले मेरी छोरीसँग बिहे गर्छ, उसैलाई भक्तपुर राज्यको उत्तराधिकारी बनाइने छ ।’ यस्तो भव्य घोषणा गर्दा पनि कतैबाट कोही तम्सिएर आएन, राजकुमारीको दुलाहा बन्न ।
यसरी राजकुमारीलाई बिहे गर्ने दुलाहाको मृत्यु हुनाको खास कारण यस्तो रहेछ- सधैँ मध्यरात राजकुमारीको नाकबाट दुईवटा साना सर्प निस्कन्थे र त्यही सर्पले अजिंगरको रूप लिन्थे । अनि राजकुमारलाई डसेर फेरि राजकुमारीको नाकमै पस्थे । त्यो घटनाको रहस्य कसैलाई थाहा थिएन तर एउटी वृद्धाले एकजना युवकलाई घटनाको विस्तृत जानकारी गराउँछिन् ।
युवकको भेट ती वृद्धासँग हनुमानघाटको किनारमा भयो । उनलाई दरबारमा भएका सबै घटनाबारे थाहा थियो तर कसैलाई भनेकी थिइनन् । भेटमा उनले युवकलाई सबै विवरण सुनाइन् र युवकलाई एउटा शक्तिशाली खड्ग लिएर दरबारमा जान सुझाब दिइन् । प्रधानाध्यापक राजचलका अनुसार, ती महिलाले देवीको रूप लिएर आएकी थिइन् । वृद्धाको सुझाबअनुसार, युवकले दरबारमा गएर राजकुमारीसँग बिहे गर्ने प्रस्ताव राख्यो । धुमधामसाथ बिहे पनि भयो । मध्यरातमा जब राजकुमारीको नाकबाट सर्प निस्कियो, युवक पनि शक्तिशाली खड्ग लिएर सर्पसमक्ष जाइलाग्यो । युवकले सर्पलाई टुक्राटुक्रा पारेर काट्यो ।
उता नगरवासी युवकको पनि मृत्यु हुन्छ भन्नेमा ढुक्क थिए तर नतिजा ठीक उल्टो भयो । भोलिपल्ट बिहानै राजकुमारीसँग युवक सग्लो रूपमा बाहिर निस्कियो । त्यो देखेर सम्पूर्ण नगरवासी र राजपरिवार दंग परे । राजाको घोषणाअनुसार, राजकुमारी र युवकलाई भव्यताका साथ सिन्दुरजात्रासहित दरबारमा भित्र्याइयो । सम्पूर्ण राजकाज त्यसै युवकलाई हस्तान्तरण गरियो । वीरताको सोही खुसीयालीको सम्झनास्वरूप बिस्केट जात्रा मनाउन थालिएको किंवदन्ती पाइन्छ ।
बिस्केट जात्राले भक्तपुरवासीको मात्र होइन, पूरै नेपालको पहिचान बोकेको छ, जसको गरिमा अनि महिमाले विश्वलाई नै नेपालतिर तान्न सक्छ । यसको सम्वर्द्धन र प्रचारप्रसार बढाउने हो भने यसैको मेलो पारेर नेपाल भित्रिने पर्यटकको संख्या अझै बढ्नेछ, यो निश्चित हो । भोलि युरोप पुगेको एउटा नेपालीले शिर ठाडो पारेर भन्न सक्छ- हामी प्राकृतिक पर्यटनमा मात्रै होइन, सांस्कृतिक पर्यटनमा पनि धनी छौँ । नपत्याए बिस्केट जात्रा हेर्न आउनुस् !

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय