ठमेलको तेस्रोलिंगी चोक

एक लज्जाम् परित्यज्य सर्वत्रः विजयी भवेत्’ अर्थात् त्यही एउटा लाज छाडेपछि मानिस सबैतिर विजयी होला । ठमेलमा साँझ भेटिएका तेस्रोलिंगी आफूले सारा संसार जितेको भावमा देखिन्छन् र विनालाज, हिच्किचाहट यायावरीय शैलीमा हिँडिरहेका महिला/पुरुषलाई मस्किँदै सोधिरहेका हुन्छन्- ‘जाने हो ?’ उताबाट ‘हो’ को स्वीकृति आयो भने अझ मस्किन्छन्, ‘१६ सय लाग्छ ।’ -शरीरको मोल अझै बढ्ने सम्भावना हुन्छ) । मागअनुसार सहमत भए त ठीकै छ, नत्र त्यो बटुवाले भव्य हप्की खानुपर्छ र लुरुक्क त्यहाँबाट अलप हुनुपर्छ । त्यसैले भन्न मन लाग्छ, यी तेस्रोलिंगी विजयी मानव हुन् ।
पश्चिममा भव्य सांगि्रलाको छवि बोकेको देशको मुख्य पर्यटकीय केन्द्रमा विश्वका ख्यातिप्राप्त व्यक्तिको उति बाक्लो उपस्थिति हुँदैन तर खोज्दै गए भेटिन्छन् एडमन्ड हिलारीदेखि रिकी मार्टिनसम्मको ठमेल महायात्राको कहानी । त्यसो त ठमेलमा ‘एकेडेमिक’ मात्र भेटिँदैनन्, न कुनै हलिउड मोडल जोआना क्रुपा नै हुन्छन्, यहाँ त साँझ बाटैभरि ‘तेस्रोलिंगी’ वा ‘समलिंगी’ छ्याप्छ्याप्ती भेटिन्छन् ।
‘एक्स्क्युजमी म्याम’, पछाडिबाट ढाड देखिएकी भद्दा मेकअपसहितकीे अजंगकीे एउटी तेस्रोलिंगीलाई हालैको एक साँझ ‘तेस्रोलिंगी जिन्दगी’बारे रिपोर्टिङ गर्न जाँदा सञ्चयकोष भवनअगाडि -यो चोकलाई हामी ‘तेस्रोलिंगी चोक’ भन्न सक्छौं) सिग्रेट देखाउँदै सोधेँ- ‘सल्काउने हो ?’
‘ह्वाई नट ?’ रातो क्रिम दलिएको अनुहार पूरै उज्यालो बनाएर उनले भनिन्, ‘लाइटर दिनुस् त ।’
‘तिम्रो नाम ?’
‘ऋत्विक’
‘ऋत्विक ???’ निधार खुम्च्याएर र आँखा च्यातेर दुवै हात ट्याक्सीको स्टेरिङ घुमाएजस्तो गर्दै मैले भने । केटीजस्तै कपाल कोरीबाटी गरेर, साडी या कुर्ता लगाएर, शृंगारसहित गहना लगाएर हिँडेका ‘गे’ यहाँ थुप्रै भेटिन्छन् । अघि मात्रै मैले केही ‘गे’ भेटेको थिएँ, ऋत्विकचाहिँ ‘लेस्बियन’ रहिछन्
-रोमको लेस्बोस् सहरका नामबाट ‘लेस्बियन’ शब्दको उत्पति भएको हो) । त्यतिबेलै एउटा खाली रिक्सा ‘प्वापाउँ, प्वापाउँ’ भन्दै चोकतिर दौडियो । उनले के भनिन्, मैले सुन्न सकिनँ । रातको ठमेल निकै मादक देखिन्छ । काठमान्डु गेस्ट हाउसअगाडिको रेस्टुरेन्टबाट चर्को संगीत आइरहेको छ- ‘ओ रे मनवा तु तो बाबरा हे…तु ही जाने तु क्या सोचता हे ।’ सिडी पसलहरू ‘चदरिया…झिनी रे झिनी र ओम मणिपद्मे हुँ’ को इन्स्ट्रयुमेन्टल धुनहरू सुनाइरहेका छन् । साहुजीहरूको ध्यान पसलमा राखिएका सामग्रीभन्दा बढी बहुरूपी विदेशी ग्राहकतिर तानिएको छ, सकिनसकी टुटेफुटेको अंग्रेजीमा बार्गेनिङ गर्दै छन् । बाइक र गाडीहरू रुँदैछन्-ट्वाँ ट्वाँ, टी टी…।
अँ ! म अघिको ‘ऋत्विक’को कुरा गर्दै थिएँ । २४ वषर्ीया ‘ऋत्विक’ शारीरिक रूपले महिला हुन् । सिन्धुपाल्चोकका धेरैले उनलाई ‘सपना’ भनेर चिन्छन् । नाम सपना भए पनि जबदेखि उनले आफ्ना शारीरिक अवयवबारे जान्ने भइन्, उनको व्यवहारमा क्रमशः पुरुषजन्य चरित्र पो देखिन थाल्यो । जननेन्द्रीय महिलाको, हाउभाउ पहिरन शैली ठ्याक्कै पुरुषको । विद्यालयमा अरू साथी प|mक लगाएर जान्थे, उनी पाइन्ट लगाएर । सपनालाई युवतीले लगाउने मेकअप, नेल-पोलिस, लाली-पाउडर प्रयोग गर्न रुचि नै भएन । बरु राम्री केटी देखे जिस्क्याउन मन लाग्थ्यो । उनी केटीसँगै आकषिर्त हुन्थिन्, गुच्चा खेल्ने पुरुष भिडतिर पुग्थिन् । पुरुषमा हुने जैविक गुण उनमा देखियो । कहिल्यै पनि पुरुषतिर आकषिर्त भइनन् ।
पुरुष पोसाक, पुरुष नाम, पुरुष सम्बोधनमा देखिएकी ‘ऋत्विक’ अहिले लभमा छिन् रे ! वीरगन्जकी एउटी महिलासित । ‘मिले बिहे गर्ने हो’, उनी भन्छिन्, ‘जिन्दगी जसोतसो चलिहाल्छ ।’ घर-परिवार छाडेर काठमाडौं पसेकी उनको नाममा विशाल आकाशमुनि एक इन्च जग्गा छैन, कतै एक रुपियाँ जगेडा छैन । ‘तिमी यौनकर्मी लेस्बियन हौ’ भन्ने मेरो आरोपलाई तत्काल दुत्कार्छिन्- ‘म सोख र रहर पूरा गर्न साथीहरूसँग डुलेको मात्रै, कुनै राम्री फेला पर्छे कि !’
जीवनको नाम- हिँड्नु । यो रोकियो भने जिन्दगी नै कहाँ हुन्छ र ! मुस्किल, पीडा, अड्चन, तनाब- यी सबै त मौसमजस्तै आउँछन्, जान्छन् । तर, जिन्दगी बस् चलिरहन्छ, कहिले दौडिन्छ कहिले बिस्तारै हिँड्छ-पेन्डुलमजस्तो । ऋत्विकको जिन्दगीचाहिँ भन्छ- जिन्दगी साँच्चै पेन्डुलम रहेछ ।
लामो कुराकानीपछि मैले उनलाई सोधेको थिएँ -‘तिम्रो तस्बिर खिच्न सक्छु ?’
‘नाइँ’, यति कुरा गरिन्जेल पनि उनलाई पत्तो थिएन, म ‘खबरीलाल’ हुँ, मैले हातमा डायरी पनि त लिएको थिइनँ, नत्र उनी कुरा गर्न तयार नहुन सक्थिन् । उनलाई मिडियामा आउने रहर छैन, आफ्नो परिचय लुकाएरै बस्न रुचाउँछिन् ।
‘धुम्रपान बहुत रुचाउँछु’, उनले भनिन्, ‘यो मेरो जिन्दगीको सबैभन्दा प्यारो वस्तु हो ।’ तेस्रोलिंगीले उडाएका धुवाँको अम्मलमा छिरिसकेको ठमेलले दंग पर्दै सिगारको लामो सर्को अकाशतिर फाल्यो सम्भवतः ।
सपना उर्फ ऋत्विकको कथा बडो अफबिट छ ।
०५८ को अन्त्यतिर पाँच कक्षा पार गर्न नपाउँदै माओवादीले बाबुबाट छिन्दा सिन्धुपाल्चोककी यी बाला १४ की थिइन् । हेर्दा केटाजस्ती देखिने उनलाई ‘बुर्जुवा शिक्षाको काम छैन’ भन्दै आफूसँग जान माओवादीले कर गरे । र, त्यसै दिनदेखि उनी ‘पिएलए’ बनिन् ।
चार दिनसम्म जंगलै-जंगल हिँडाएर रामेछाप पुर्‍याए । कुनै माध्यमबाट घरमा चिठ्ठी पठाइन् -‘बुबा म घर आउन चाहन्छु, पढ्न चाहन्छु ।’ तर बुबाको हातमा चिठ्ठी परेन । गाउँलेसँग खोसेरै खान सिकाइयो उनलाई । बन्दुक चलाउन, हाम फाल्न, रूख चढ्न सिकाइयो । एक दिन सात फिटमाथिबाट हामफल्दा खुट्टा नराम्ररी भाँच्चियो । तीन महिनासम्म जंगलको कुनै निर्जन घरमा ‘रेस्ट’ गरिन् । गोलीगठ्ठाको भारी बोकेर दिनभर उकालो हिँड्दा उनी बेहोस हुन थालिन् ।
१० दिनको बिदा मिलाएर घर फर्किएकी उनी फेरि जंगल नर्फकने सुरले घरै बसिन् । उपचार गर्न बुबाका साथ काठमाडौं आइन् र पुरुष भएर हिँड्ने उनको सपना काठमान्डुले पूरा गरिदियो । काठमान्डु आएपछि चितवनकी एउटी युवतीसँग घनिष्ठ सम्बन्ध बन्योे । केही समय सँगै बसे । अहिले ती युवती कहाँ छिन् थाहा छैन । उनका तेस्रोलिंगी साथी धेरै छैनन् । एचआइभी/एड्स र यौनरोग नियन्त्रणसम्बन्धी काम गर्ने एक गैरसरकारी संस्थामा काम गर्छिन् उनी । उनी ‘यौन व्यवसायी’ शब्दलाई घृणा गर्छिन् र आफूलाई ‘यौन क्रियाकलापमा उदार’ भन्न रुचाउँछिन् ।
िि
पि्रकृतिले आफ्नो सिर्जनाको निरन्तरताका लागि दुईथरी मानिसको अस्तित्व दिएको छ । तेस्रोलिंगीको अलग अस्तित्व उदय भएपछि पछिल्लोपटक एउटा नयाँ बहस जबर्जस्त आउने गरेको छ, ‘के तेस्रोलिंगी महिला र पुरुषजस्तै अस्तित्वका मानिस होइनन् ?’ संसारमा प्रकृतिले प्रदान गरेका भिन्नतालाई अस्तित्वसँग गाँसेर हेर्ने हो भने तेस्रोलिंगी पनि उही र समान अस्तित्वको भागी हुन्छ र हुन पाउँछ । तर, उसका मौलिक भिन्नताहरू छन्- जसबाट सिर्जनाको कल्पना गर्न सकिँदैन । यो अर्थमा सृष्टिको भूमिमा त्यो पटबाँझो जमिन हो, मरुभूमि हो ।
तेस्रोलिंगी जुनकीरीजस्ता लाग्छन्, साँझ परेपछि मात्रै उनीहरूको चमक देखिन्छ । परीजस्तै पहिरनमा छन् तर शरीरको प्राकृतिक उज्यालो हराएका जुनकीरी । प्राकृत सिर्जनाको मुहान बन्द भएपछि त्यसबाट आउने वासना, सौन्दर्य र उपयोगिता सबै कृत्रिम हुन्छ, त्यसैले परम्पराले उनीहरूलाई नाम दिएको छ- ‘हिजडा’ । प्रकृति आफैँमा स्वधर्म हो, धर्मच्यूत प्रकृतिको नीरसताले नै साँझ मात्र उनीहरूलाई सडकमा उतारेको हो कि झैँ लाग्छ । जन्मिँदै पुरुष भएकालाई महिलाका लुगा र शृंगार मन पर्ने, उमेर बढ्दै गएपछि आकर्षण्ा पनि पुरुषहरूप्रति नै हुँदा अनि महिला भएर जन्मिएकामा पुरुषका गुण देखिँदा उनीहरूको जीवन कति अफ ट्रयाक हिँड्दो हो ! त्यस भयानक परिवर्तनमा उनीहरूको भूमिका हुँदैन । प्रकृतिसँगको पौठेजोरीमा विजय प्राप्त गरे पनि त्यो फगत क्षणिक र नीरस हुन्छ, त्यसैले केशरमहलमा साँझ कुरेर बस्नुपर्ने बाध्यता आइलाग्छ ।
तेस्रोलिंगीको परिवारलाई हुने मानसिक तनाब कति भयानक होला ! छोराले विवाह गरेर दुलही भित्र्याउला, नातिनातिनाको मुख हेराँैला भन्दै बुढेसकालीन सपना सजाइरहेका हुन्छन् बाबुआमा । त्यसविपरीत छोरोचाहिँ उल्टै बाइफाले केटीजसरी चटक्क मिलाएको सारी, गहनासहित शृंगार गरेर केटाकै श्रीमती भएर हिँडेको देख्दा अरूहरू मज्जाले हाँस्लान्, बाबुआमाको अनुहारचाहिँ कति निमुखो देखिँदो हो त्यतिबेला । नेपालमा २५ लाखको हाराहारीमा तेस्रोेलिंगी भएको दाबी गरिए पनि हालसम्म तीन लाख ५० हजार मात्र खुलेर आएका छन् ।
िि
अिार्य, अनार्य, हिन्दू, बौद्ध सबै यो सञ्चयकोष बिल्डिङअघिबाट हिँड्छन् र तेस्रोलिंगीलाई जिब्रो पड्काउँछन् । कोही घृणाको नजरले हेर्छन् । यहाँ सडक बालिका, तेस्रोलिंगी र नगरबधू सँगसँगै आफ्नो पेसा सञ्चालन गर्छन् । २० बर्से रेश्मा तामाङलाई हेरौँ न । खासमा उनी पुरुष हुन् । तर, पहिरन र शृंगारले उनको ‘लिंग’ लुक्छ । बाग्लुङबाट ११ वर्षमै काठमाडौं छिरेकी उनले सडकमा थोत्रा प्लास्टिक टिपेर ज्यान पालिन् । उनी पहिले गाँजा, डेन्ड्राइट सबै सुँग्थिन्, टिडिजेसिक पनि हान्थिन् । अहिले सबै छुट्यो तर चुरोटले कहिल्यै छाडेन । ‘जिन्दगी नै धुवाँ हो’, उनी भावुक बन्छिन् । यी समलिंगीलाई लाग्छ- मलाई सबै बटुवाले घृणा गर्छन् । रेश्माको झोलामा छ- आइलाइनर, ब्लु स्याडो, लिपिस्टिक, लोसन, पाउडरका बट्टा । अरूलाई एकपटकको यौन सम्पर्कका लागि सात सय लिइने गरेकामा आफूलाई भोग्नेले एक हजार तिर्ने गरेको रेश्मा बताउँछिन् ।
ऋत्विक उर्फ सपना ‘सबै महिला वा पुरुष आफ्नो कपाल, अनुहार, शारीरिक बनोट, उचाइ र कस्तो कपडा लगाएकी छु भन्नेबारे सोच्छन् र त्यसैमा आधारित भएर आफ्नाबारे दृष्टिकोण बनाउँछन्’ भन्छिन्-‘मेरो शरीरभित्र के छ, कट्टुभित्र के छ भन्ने सोचेर समय खर्चिने तन्नेरी धेरै छन् ।’ अनुहारभरि जथाभाबी नसुहाउँदो सौन्दर्य प्रशाधन घसेका तेस्रोलिंगी सुन्दर हुन् कि होइनन् ? नेपाल र भारतजस्ता सामाजिक परिवेशमा सुन्दरताको फरक मापदण्ड छ । गोरो वा गोरी देखिनु उनीहरूको मुख्य चाहना हो । त्यसैले उनीहरू आफैँ पैसा खर्च गरेर अनुहारमा चमक ल्याउन चाहन्छन् ।
ऋत्विकसँग कुरा गर्दागर्दै उनको आँसु झरिसकेछ ।
‘किन रोएकी ?’ उनलाई थुमथुम्याउने यो सही प्रश्न होइन । तर…, उनी जवाफमा सिग्रेट सल्काउँछिन् । धन्न जुरुक्क उठेर हिँडिनन् । यहाँ सबैका आफ्नै दुःख छन् । यीजस्तै संघर्षरत वर्गले नै हो दुःख पाउने ।
ऋत्विकको दुःख धरहराजत्तिकै ठिंग उभिएको छ, कसैको भरविनै । उनको तस्बिर क्यामेरामा कैद नभए पनि सञ्चयकोषअघिको यो लोकेसनमा आउँदा उनका पाउजुको छमछम सुनिएला । हिजो साँझ यतै टहलिँदा उनको झल्को आएको थियो । उनी रोइरहेकी थिइन्- सुँक्कसुँक्क ।
यो ‘तेस्रोलिंगी चोक’मा धेरै छन् सपनाविहीन ‘सपना’का रङ खुइलिएका कहानीहरू । तर, गाउँबाट सहर पस्ने बेरोजगार युवा र पर्यटकको आगमन ह्वात्तै बढेपछि ठमेल हरेक दिन दसैँ र इद मनाउँछ । खैर, ठमेलले यी ‘सपना’लाई खुला आकाशको ओत त दिएको छ !

प्रतिक्रिया