जलविद्युत् कम्पनीको बाटो खुला

काठमाडौं, १ वैशाख । जलविद्युत् लगानी तथा विकास कम्पनीलाई कर्मचारी नियुक्ति तथा नीतिनिर्माणको बाटो खुलेको छ । कम्पनीको विशेष साधारणसभाले प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारी नियुक्ति र नीतिगत जटिलता अन्त्य गर्न २७ प्रबन्धपत्रको बुँदामा संशोधन गरेपछि बाटो खुलेको हो ।
नीतिगत जटिलताका कारण १८ कर्मचारी नियुक्ति गर्नुपर्ने कम्पनीमा एकजना पनि नियुक्त हुन सकेको थिएन । कम्पनीले कुनै आयोजनामा लगानीका लागि नीतिनिर्माणसमेत पूरा गर्न सकेको   थिएन ।
स्थापनाको नौ महिनापछि कम्पनीलाई जलविद्युत् क्षेत्रमा लगानीका लागि नीति तयार गर्न सजिलो भएको छ । ‘विशेष साधारणसभाले कम्पनीका लागि कर्मचारी नियुक्ति र केही नीतिगत जटिलता अन्त्य गरेको छ,’ कम्पनी व्यवस्थापन समूहका सदस्य चतर्भुज ज्ञवालीले भने ‘अब एक/डेढ महिनाभित्र कम्पनीले काम अघि बढाउँछ ।’
कम्पनीको कर्मचारी तथा आर्थिक प्रशासन नियमावली स्वीकृत भैसके पनि अझै स्रोत संकलन नीति तथा कार्य सञ्चालन निर्देशिका स्वीकृतिकै चरणमा छन् । केही जटिलता थपिएपछि लगानी र असुली नीति निर्माणका लागि कम्पनीलाई समस्या थियो । अब चाँडै कम्पनी सञ्चालनका लागि आवश्यक नीति, नियमावली र निर्देशिका बन्ने दाबी ज्ञवालीले गरे । कम्पनीका अध्यक्ष एवं ऊर्जासचिव हरिराम कोइरालाले कम्पनीलाई जलविद्युत् क्षेत्रमा लगानी गर्नका लागि सक्रिय गराउनका लागि धेरै गाँठो फुकेको बताए ।
१० मेगावाटमाथिका आयोजना स्वदेशी लगानीमा निर्माण गर्नका लागि ऋण उपलब्ध गराउनेलगायतका उद्देश्य राखी गत २७ असारमा कम्पनी स्थापना गरिएको थियो । सरकारी निकायको पाँच अर्ब तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष र बिमा संस्थानको एक/एक अर्ब गरी कम्पनीको कुल पुँजी आठ अर्ब रुपियाँ रहने उल्लेख छ ।

प्रतिक्रिया