छुवाछुत बिरुद्धका कानून कार्यान्वयन भएन

काठमाडौँ, १८ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कानून आएपनि छुवाछुतको मुद्दालाई अपराधका रुपमा निर्मूल गर्न नसकिएको बताएका छन् ।

बिद्यमान कानुनको कार्यान्वयन हुन नसक्दा जातीय छुवाछुत अन्त्य हुन नसकेको धारणा उनको थियो ।

जागरण मिडिया सेन्टरको आयोजनामा राजधानीमा आज भएको संचारमा दलित सवाल राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै नेम्वाडले शान्ति र संविधानसंगै दलितका मुद्धा माथि उठ्ने र छुवाछुतजस्ता अपराध नहुने बताए ।

‘तोकिएकै मितिमा संविधान जारी गर्न सकिए र कानूनको सबल कार्यान्वयन गर्ने हो भने छुवाछुत हट्ने छ ।’ उनले भने ।
शान्ति र संविधानसँगै दलित सवाल जोडेर हेर्नुपर्ने बताउँदै नेम्वाङले राजनीतिक

दलहरुमा आफ्ना सर्त र अडान त्यागेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएकोमा खुसी व्यक्त गरे ।

शुक्रबार सेना समायोजन विशेष समितिले गरेको निर्णय स्वागतयोग्य भएको बताउदै नेम्वाडले अब गतिरोध तोड्निे र यसले संविधान जारी हुने अवस्था आउने बताए ।

नियमावली संशोधन गरेर भएपनि समयसीमा भित्रै संविधान जारी गर्न सबै लाग्नु पर्ने उनले सो अवसरमा बताए । निरन्तर सतर्कता र खबरदारी जारी राख्न पनि ने्म्वाडले सबैलाई आग्रह गरे ।

कार्यशालामा जेवी विश्वकर्मा, गुणराज लइटेल र रामकृष्ण रेग्मीले दलित समुदाय र नेपाली मिडियासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा मुलुकभरका एक सयभन्दा बढी पत्रकारहरुको सहभागिता थियो ।

यसैबीच, जागरण मिडिया सेन्टरले दलित सवाललाई समाचार माध्यममा स्थापित गराउन भूमिका निभएकामा जागरण राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कान्तिपुरकी अमृता अनमोल, गोरखापत्रका लक्ष्मण दर्नाल र रेडियो कृष्णसारका टेकेन्द्र बस्याललाई पुरस्कृत गरेको छ ।

प्रतिक्रिया