उपाधि गोरखा ब्वाइजलाई

भोजपुर, १६ चैत । रूपन्देहीको गोरखा ब्वाइज स्पोर्टस क्लब भोजपुरमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधिविजेता बनेको छ । भोजपुर सदरमुकामस्थित टुँडिखेलमा बिहीबार धनकुटा फुटबल क्लबलाई ३-१ ले पराजित गर्दै गोरखा ब्वाइजले उपाधिमाथि कब्जा गरेको हो ।
एन्फा एकेडेमी काठमाडौंलाई पराजित गर्दै फाइनलमा पुगेको गोरखा ब्वाइजले धनकुटालाई खेलको सुरुदेखि नै दबाबमा राखेर उपाधिसहित नगद डेढ लाख रुपियाँ हात पारेको हो । उपविजेता धनकुटाले नगद एक लाख रुपियाँमा चित्त बुझाएको छ । गोरखा ब्वाइजलाई उपाधि जिताउने क्रममा जगुनाथ खड्काले पहिलो हाफको ३९औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए ।
पहिलो हाफ १-० को अवस्थामा सकिएपछि दोस्रो हाफमा धनकुटा आक्रामक रूपमा प्रस्तुत भएको थियो । दोस्रो हाफ सुरु भएको ४ मिनेट नबित्दै धनकुटाका लागि स्थानापन्न खेलाडी मनीश्वर गोम्देनले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । रूपन्देहीका स्ट्राइकरलाई लडाएपछि पाइएको पेनाल्टील्ााई सदुपयोग गर्दै रूपन्देहीका राज पौडेलले खेलको ६४औं मिनेटमा गोल गरी आफ्नो टिमलाई २-१ को अग्रता दिलाए ।
खेलको ८४औं मिनेटमा पुनः रूपन्देहीका राज पौडेलले गोल गर्दै खेललाई ३-१ को अवस्थामा पुर्‍याए । थप गोल गर्न नसकेपछि धनकुटा स्थ्ाानीय दर्शकको साथ पाएर पनि उपाधिबाट वञ्चित रहयो । विजयी टिम तथा खेलाडीलाई एन्फाका केन्द्रीय उपाध्यक्ष कुमारजंग थापाले ट्रफी र नगद डेढ लाख रुपियाँको चेक प्रदान गरे ।
प्रतियोगिताभर पाँच गोल गरेका एन्फा एकेडेमीका स्ट्राइकर हेमन्त गुरुङ उत्कृष्ट गोलकर्ता भए भने म्यान अफ द सिरिज धनकुटाका स्ट्राइकर वर्तमान राई घोषित भए ।

प्रतिक्रिया