परीक्षा दिने नक्कली सभासद पक्राउ

रौतहट, १५ चैत ।    रौतहट जिल्लामा एकीकृत माओवादीका एक सभासदको नामबाट एसएलसी परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा परीक्षा अनुगमनमा खट्टिएको टोलीले जुडिवेला परीक्षाकेन्द्रमा नक्कली परीक्षार्थी साहित्य लामालाई पक्राउ गरेको हो ।

मकवानपुर जिल्ला क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित एकीकृत माओवादीका सभासद प्रेमबहादुर पुलामीको नाममा परीक्षा दिने मकवानपुर नामटार गाविस वडा नम्बर–८ का २५ बर्षीय लामालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।

मकवानपुर फापरवारी गाविस वडा नम्बर–४ ठेगाना भएका माओवादी सभासद पुलामीले जनज्योति उच्च मा.वि. चन्द्रनिगाहपुरबाट फारम भरेका थिए ।  ०३५५०४६ (वि) सिम्बल नम्बरबाट परीक्षामा सुरुदेखि नै लामाले सभासद पुलामीको परीक्षा दिएको खुलासा भएको छ ।

गत वर्षमात्र प्रवेशिका उत्तीर्ण गरेका लामाले आर्थिक प्रलोभनका कारण सभासद पुलामीको परीक्षा दिएको प्रहरी समक्ष बयान दिएका छन् ।

पक्राउ परेका लामाको साथबाट सभासद पुलामीको प्रवेश पत्रसंगै प्रहरीले लामाकै अर्को नक्कली प्रवेश पत्रपनि बरामद गरेको छ । प्रहरीले सभासद पुलामीलाई कारबाही गर्न खासै ईच्छा नदेखाएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया