सातौं डिभिजनमा पूर्वलडाकुको धर्ना

सुर्खेत, १४ चैत । पार्टी कार्यालय कब्जामा लिएका बहिर्गमित लडाकुले काठमाडौमा आन्दोलन गर्न आउने चेतावनी दिएका छन् ।
६ दिनदेखि भेरी–कर्णाली राज्य समिति र जिल्ला पार्टी कार्यालय कब्जामा लिएका लडाकुले पार्टीबाट कुनै प्रतिक्रिया नआएकाले काठमाडौ आएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
‘जिल्लाबाट कुनै प्रतिक्रिया आएन, अब पार्टी कार्यालयमा तालाबन्दी गरेर काठमाडौ जादैछौ,’ बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य नारदमणि पौडेलले भने, ‘आन्दोलन टुङ्गोमा पुर्‍याउनेछौ ।’
लडाकुले ९ चैतमा कार्यालय कब्जामा लिएपछि एमाओवादीका नेता तथा कार्यकर्ता कार्यालयमा प्रवेश गर्न पाएका छैनन् भने स्थानीय प्रशासनले कार्यालय सुरक्षाका लागि प्रहरी परिचालन गरेको छ ।
एनेकपा (माओवादी) सुर्खेतका सेक्रेटरी भीमबहादुर मल्लले लडाकुको समस्या जिल्ला तहबाट समाधान हुन नसक्ने बताए ।
उता,
बहिर्गमनमा परेका बहिर्गमित जनमुक्ति सेना नेपालका पूर्वलडाकुले कैलालीस्थित लडाकुको सातौ डिभिजन तालबन्दमा धर्ना दिएका छन् ।
सेना समायोजनपूर्व नै बहिर्गमितको व्यवस्थापनको माग गर्दै लडाकुले धर्ना दिएका हुन् । लडाकुको समस्या बुझ्न मंगलबार वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र  माओवादी सेनाका डेपुटी कमान्डर नन्दकिशोर पुन  तालबन्द आएका थिए ।
बहिर्गमित लडाकुसग वार्ता भए पनि निष्कर्षमा पुग्न सकिएको छैन । छलफल चलिरहेको सातौ डिभिजनका निमित्त कमान्डर जीवन बुढाले बताए ।

प्रतिक्रिया