आठ करोड गायब !

काठमाडौं, १४ चैत । ढुकुटीका कारण प्रहरी हिरासतमै आत्महत्या गरेकी धादिङको थाक्रे–७ की ४२ वर्षीया भवानी तामाङले उठाएको आठ करोड रुपिया गायब भएको छ । उनले गत माघ र फागुनमा मात्रै ढुकुटी र सापट गरी सात करोड ५५ लाख ५५ हजार रुपिया र सुन ६० तोला जम्मा गरेको पाइएको छ । तर, सो रकमबारे न प्रहरीसग जानकारी छ न त उनको परिवारसग नै .
महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार दुई महिनामा ४३ जनाले भवानीले महगो ब्याजदरमा ऋण लिएको उजुरी हालेका थिए । उजुरीका आधारमा उनले तीन करोड १२ लाख ५५ हजार र ६० तोला सुन लिएकी थिइन् । त्यसैगरी, उनले ढुकुटीबाट त्यही अवधिमा चार करोड ४३ लाखभन्दा धेरै रकम उठाएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार उनले फागुन पहिलो साता बनेपाबाट ६० लाख, माघ पहिलो साता कालीमाटीबाट २० लाख, स्वयम्भूबाट ६० लाख, बानेश्वरबाट ४० लाख, अनामनगरबाट २० लाख, कीर्तिपुरबाट ४९ लाख र मैतीदेवीबाट ६ लाख रुपिया उठाएकी थिइन् । उनले कालीमाटी लिकमार्गका बबी सिंहबाट ६ लाख, सुनसरीको धरान–१५ की गीता राईबाट ८३ लाख र भीमसेनथानका गणेश श्रेष्ठबाट १५ लाख रुपिया लिएकी थिइन् । कुलेश्वरकी गीता पौडेलबाट ११ लाख र ककनीकी हीरा तामाङबाट तीन लाख रुपिया उनले लिएको देखिएको छ । स्रोतका अनुसार भीमसेनथानका नरेन्द्र जोशीबाट पनि उनले ठूलै रकम लिएकी थिइन् ।
प्रहरी वृत्तका डिएसपी टेकबहादुर तामाङले उजुरी दिने व्यक्तिबाहेक अरूको रकमबारे आफूलाई जानकारी नभएको बताए । डिएसपी तामाङका अनुसार उजुरीमा दाबी गरिएको रकम विषयमा प्रहरी अनुसन्धान गर्दै छ । उनले भने, ‘मृतकका परिवारका सदस्य शोकमा भएकाले अहिले अनुसन्धान अघि बढाइएको छैन । केही दिनपछि नै प्रहरी अनुसन्धान गर्न लागिपर्नेछ ।’ ढुकुटी रकम भनेरचाहि उजुरी नपरेको उनले बताए । भने, ‘ढुकुटी बैंकिङ कसुरअन्तर्गत पर्ने भएकाले यो मुद्दा हेर्ने अधिकार प्रहरीलाई छैन ।’
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली घटनाबारे अनुसन्धान गर्ने जिम्मा प्रहरीकै भएको बताउ“छन् । प्रवक्ता ज्ञवाली भन्छन्, ‘ढुकुटीबाट पैसा उठाउने कार्यविरुद्धको मुद्दा सरकारवादी भएकाले यसको अनुसन्धान गर्ने जिम्मा प्रहरीकै हो ।’
आत्महत्या गर्नुअघि भवानीले ‘सुसाइड नोट’मा दुई करोड उठ्नुपर्ने रकम रहेको उल्लेख गरेकी थिइन् । उनले उठिसकेको रकमबारे भने केही लेखेकी छैनन् । उनका पति चन्द्रबहादुरले सो रकमबारे आफूलाई केही जानकारी नभएको सौर्यलाई बताए । उनले भने, ‘अहिलेसम्म भवानीको नाममा न बैंक खाता भेटिएको छ न त घरजग्गा किनेको देखिएको छ ।’
चन्द्रबहादुरको परिवार १८ वर्षदेखि कुलेश्वरमा डेरा गरी बस्दै आएको छ । स्रोतका अनुसार करोडौ रकम जम्मा गरेर १४ फागुनमा बेपत्ता भएकी उनी दुई दिनपछि हेटांैडामा देखापरेकी थिइन् । भोलिपल्टै काठमाडौं आएकी उनले केही व्यक्तिको रकम तिरेको पाइएको छ । १९ गते फेरि बेपत्ता भएकी उनले १ चैतमा प्रहरी वृत्तमा आत्मसमर्पण गरेको दुई दिनमै उनले हिरासतमा आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया