चेपाङ बस्तीमा चुल्हो बल्न छोड्यो

चितवन, १४ चैत । ‘भोकले छट्पटिएर घास खादा पोहोर छोराको ज्यान गयो,’ चन्द्रलाल चेपाङले भक्कानिंदै भने, ‘यसपालिको अनिकालमा अरु छोराछोरी पनि भोकैले मर्लान् कि भन्ने पिर छ ।’ कोराक–८ धारापानीमा रहेको सिंगो चेपाङ बस्ती यतिबेला अनिकालमा परेको छ । रुखो जमिन र सिं“चाइ अभावका कारण अन्न उत्पादन नभएपछि चेपाङहरु भोकै बाच्न बाध्य भएका छन् । पोहोरको अनिकालमा भोक थाम्न नसकेर घास खादा आठ वर्षीय छोरा मिलनको ज्यान गएको पीडाले चन्द्रलाललाई अहिले पनि पोलिरहेको छ ।
‘घरमा अन्न सकिएको चार महिना भयो,’ चन्द्रलालले भने, ‘मजदुरी गरेर खानलाई पनि गाउमा काम छैन । कहिलेकही चारदिनसम्म भोकै परिन्छ ।’ उनले आठ कक्षा पढ्दै गरेका जेठो छोरा वसन्तलाई पढाइ छुटाएर मजदुरी गर्न धादिङ पठाएका छन् । पाच सन्तानका बाबु चन्द्रलाल वर्षमा ६ महिना अनिकालमै बाच्नुपर्ने बताउछन् ।
धारापानी गाउमा २८ घर चेपाङ छन् । उनीहरु सबै अनिकाल खेपिरहेका छन् अहिले । नौजनाको परिवारको जिम्मेवारी काधमा भएका मानबहादुर चेपाङ भन्छन्, ‘मेलापातबाट आएको ज्यालाले गर्जो नटरेका दिन जंगलमा गिठ्ठाभ्याकुर खोजेर प्राण धान्छौ ।’
धारापानी खोरियाको जग्गा अहिले बाझो छ । ‘अहिलेसम्म मकै रोप्न पनि पाएका छैनौ,’ धारापानीकै बिसुलाल चेपाङले भने, ‘बाह्रमासे खेती गर्न सिचाइ छैन । पानी नभएपछि उब्जाउ हुदैन ।’
स्थानीय कमेरेपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव हितबहादुर तामाङ कोराकको चेपाङ बस्तीमा हरेक वर्ष अनिकाल पर्ने गरेको बताउ छन् । चितवनका पहाडी भेगमा रहेका १० गाविसमा चेपाङ समुदायको बसोबास छ । नेपाल चेपाङ संघका अनुसार चितवनमा २६ हजार चेपाङ छन् । संघका केन्द्रीय महासचिव यमन चेपाङले यतिखेर सबै गाविसमा रहेका चेपाङ समुदायमा अनिकाल परेको बताए । संघले तत्काल केही खाद्यान्न जुटाउन पहल गरे पनि नसकेकाले चेपाङ समुदाय भोकै परेको उनको भनाइ छ  । ‘सरकारी तथा गैरसरकारी निकायले चेतना अभियान मात्रै भन्छन्, तर छाक टार्ने समस्या समाधान गर्न चासो दिंदैनन् ।’
चेपाङ समुदायका अधिकांश युवा कामको खोजीमा मकवानपुरको मनहरि, चितवनको टाडी, नारायणगढ, धादिङको मलेखु र काठमाडौं गएका छन् । गाउमा रहेका महिला र बालबालिकाको बिजोग छ । उनीहरुले जंगलमा रहेको कन्दमूल गिठ्ठाभ्याकुर खाएर प्राण धानेका छन् ।
चितवन सदरमुकाम भरतपुरबाट पूर्वमा पर्छ कोराकको धारापानी । राजमार्गबाट उत्तरपूर्वी क्षेत्रको करिब १५ किलोमिटरभित्र कच्ची सडक गएपछि एक घन्टा हि“डेर कोराक–८ स्थित धारापानी गाउमा पुग्न सकिन्छ । गाउबाट आधा घन्टाको दूरीमा प्राथमिक विद्यालय  छ । गाउमा भोकमरीको समस्याले गर्दा १२–१३ वर्षको उमेर भएपछि बालकहरु पढाइ छाडेर मजदुरी गर्न हिड्छन् ।
गाउमा स्थानीय राजनीतिक दलबाहेक अन्य ठूला नेता पुगेका छैनन् । नेकपा (एमाले) कोराक गाउ कमिटीका अध्यक्ष तेजबहादुर तामाङले धारापानीको समस्या समाधान गर्न कोही पनि गाउ नपुगेको बताए ।

कात्तिकदेखि छैन अन्न
स्यानीमाया चेपाङ
डा“डामा घर छ । सातजनाको परिवार छ । उब्जाउ हुदैन । घरमा अन्न छैन । ज्याला गरेर छोराछोरी पाल्नुपर्छ । बारीको अन्नले ६ महिना पनि धान्दैन । यसपालि त कात्तिकदेखि नै अन्न सकियो । घरमा तीन छोरा र दुई छोरी छन् । जेठो १५ वर्ष र माइलो १३ वर्षको छ । जेठो छोरो त ‘भोकभोकै पढ्न सकिंदैन आमै’ भनेर काठमान्डु गार्मेन्टमा काम गर्न गयो । माइलो पनि पा कक्षा पढ्दै छाडेर धादिङमा मुढा बोक्न गा’छ । बूढाबूढी दिनदिनै ज्याला गर्न गयो, कनिका ल्यायो, फाडो बनाएर खायो । सधै ज्याला पनि पाइंदैन । के गनुर्, दुःखी कर्म रैछ’ ।

गिठ्ठा भ्याकुर खाइन्छ
मानबहादुर चेपाङ
जग्गा भएर मात्रै नहुने रैछ । खोरिया ढुंगा मात्रै छ । उब्जनी छैन । खानेपानीको समस्या छ । खेतमा कसरी पानी लगाएर उब्जनी गर्न पाउनु ? पेट पाल्नै गाह्रो भयो । यो पालि मंसिरदेखि बेसाएर खानुपरेको छ । दिनै ज्याला गर्न जादा हैरान भैसक्यो । ज्यालाबाट कमाइ नभए जंगल गइन्छ । गिठ्ठाभ्याकुर खाइन्छ । १४ वर्षको जेठो छोरो गाउमा खानेकुरा नभएपछि कमाउछु  भनेर बजारतिर गयो । कहिलेकाही घर आउछ । हामी बूढाबूढी छौं । नौजनाको परिवार धान्नै समस्या छ ।  फा“डो खाने बानी बालखदेखि नै पर्‍यो हाम्लाई त । आधा पेट खाएर जेनतेन बाचेका छौं ।’

प्रतिक्रिया