सेनाले चौध जनालाई काठमाडौं लग्यो

कैलाली, १४ चैत । बझाङको रिठापाटा-६ देवलमा हिजो भएको जीप दुर्घटनामा परी घाइते भएका १४ जनालाई नेपाली सेनाको एनए ०५३ नाइटभिजन हेलिकप्टर मार्फत थप उपचारका लागि आज बिहान काठमाडौं लिइएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते बझाङ रिठापाटा गाविस ६ देवलकी २८ वर्षीया ज्ञानुदेवी खड्का, सैनपसेला गाविस १ की ४० वर्षीया चन्द्रकला रोकाय र उनकी ४ वषर्य छोरी निरुता, २ वर्षको छोरा वकेश, चैनपुर गाविस २ का प्रेमराज जोशी र गायत्री जोशी -श्रीमान्/श्रीमती), चैनपुर-६ का पूर्णबहादुर रोकाया, भैरवनाथ गाविसकी कोपिला मल्ल, काडेल गाविस ७ की २० वर्षीया विष्ण सार्की, सोही गाविस ३ का रामबहादुर सार्की र पौवागढी गाविस ८ का ध्रुव खातीलाई हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाण्डौं लिइएको हो ।
त्यस्तै, सोही घटनामा परी बैतडी घर भएका जीप चालक रमेश भाट र बैतडीकै जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान शंङकर महर तथा डडेल्धुरा घर भएका बझाङमै कार्यरत प्रहरी जवान पदम बोहरालाई पनि थप उपचारको लागि हेलिकप्टरमै काठमाण्डौंमा लगिएको बझाङका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपालले जानकारी दिएका छन्  ।
सिमखेतबाट झोतातर्फ गइरहेको से१च ३५१ नम्बरको जीप जयपृथ्वीबहादुर सिंह राजमार्ग अन्तरगत देवलमा हिजो दुर्घटना भएको थियो । दुर्घटनामापरी चैनपुर गाविस ६ डांडागाउाकी ३५ वर्षीया केसरी रोकाया, सैनपसेला गाविस २ की ४० वषर्या अमलादेबी जप्रेल र रिठापाटा गाविस ६ देवलकी दुर्घटनामा परी घाइते भएकी ज्ञानुदेवीको ६ महिनाको नाबालक जेनिसको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, सैनपसेला गाविस २ का ३५ वर्षीया दमन जप्रेल, भैरवनाथ गाविस १ का ४० वर्षीया मेघराज गिरी र उनका ३५ वर्षीया भाइ गोरख तथा बैतडी घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी नायव निरीक्षक देवदत्त भट्टको जिल्ला अस्पताल सिमखेतमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसअघि, घाइतेहरुलाई काठमाडौं लग्न हेलिकप्टर व्यवस्था नगरिएको भन्दै आक्रोसित सर्वसाधरणहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा तोडफोड तथा आगजनी गरेका छन् । आक्रोसित भीडले जिल्ला प्रशासन कार्यालयमा रहेका दुई वटा प्रतिक्षालय र मुल गेटमा आगजनी गरेका छन् भने कार्यालयका अधिकांश झयालढोका फुटाइ दिएको छ ।
त्यस्तै जिल्ला विकास समितिको मुलगेट तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीले आक्रोशित भीड नियन्त्रण गर्न दुई राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । प्रजिअ नेपालले अहिले जिल्लाको स्थिति शान्त भएको र क्षतिको विवरण लिइरहेको बताए ।
जीप सडकबाट एकसय मिटर तल खोचमा खसेको थियो । चालकले गाडीमा फोनमा कुरा गर्दै जीप चलाएका कारण जीप दुर्घटना हुन पुगेको सोही जीप दुर्घटनामा सामान्य घाइते भएका सैनपसेलाका शिक्षक धनबहादुर रोकायाले बताए ।

प्रतिक्रिया