‘परमाणु आतंकवादबाट विश्व सुरक्षामा खतरा’

सोल, १३ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले परमाणु आतंकवादबाट विश्व सुरक्षामा सबैभन्दा ठूलो जोखिम उत्पन्न हुने सम्भावना रहेको बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा परमाणु सम्मेलन उद्घाटन हुनुअघि राष्ट्रपति ओबामाले यस्तो बताएका हुन् ।
‘आतंकवादी र आपराधिक समूहहरूले परमाणु हतियार हात पार्ने प्रयत्न गरिरहेको हामी सबैलाई थाहा छ । साथै, रेडयोधर्मी सामग्री हात पारेर बम बनाउन उनीहरू प्रयासरत छन् । त्यसैले परमाणु आतंकवाद विश्व सुरक्षाको सबैभन्दा ठूलो बन्न पुगेको छ,’ उनले भने । साथै, उनले पर्याप्त सुरक्षा व्यवस्था नमिलाई परमाणु हतियार भण्डारण गरिएको भनाइसमेत राखे ।
राष्ट्रपति ओबामाले अमेरिकासँग आवश्यकताभन्दा बढी परमाणु हतियार नरहेको जिकिरसमेत गरे । अमेरिका र उसका साझेदार राष्ट्रहरूको सुरक्षामा खलल उत्पन्न नहुने गरी परमाणु हतियारको भण्डार घटाउन अमेरिका तयार रहेको उनले उद्घोष गरे । ओबामाले इरान र उत्तर कोरियालाई परमाणु महत्त्वाकांक्षा त्याग्न सचेतसमेत गराए । परमाणु महत्त्वाकांक्षाका कारण इरान र उत्तर कोरियाले मित्रहरू गुमाउँदै गएको दाबी गर्दै उनले यस्तै अवस्था रहे यी राष्ट्र थप एक्लिने चेतावनी दिए । ओबामाले भने, ‘उत्तर कोरियाले आक्रामकता  र आफूसँग रहेको परमाणु हतियारबाट इच्छित लक्ष्य हासिल गर्न सकेको छैन । यसबाट उसले स्वाभिमान खोजेको होला तर ऊ झन् एक्लो हुँदै गएको छ ।’
परमाणु सम्मेलनमा सहभागी हुन पुगेका चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग समेत राष्ट्रपति ओबामाले भेट गरी उत्तर कोरियाको परमाणु हतियारबारे छलफल गरेका छन् । छलफलमा ओबामाले आफ्ना चिनियाँ समकक्षीलाई उत्तर कोरियाको सम्भावित आक्रामक गतिविधिविरुद्ध अमेरिकासँग सहकार्य गर्न मनाउने प्रयास गरे ।
छलफलमा ओबामाले लामो दूरीसम्म प्रहार गर्न सक्ने रकेटको प्रक्षेपण गर्ने तयारीमा उत्तर कोरिया लागिपरेको भन्दै यसबाट उत्तरलाई रोक्न चीन अग्रसर हुनुपर्ने भनाइ राखेका थिए । उत्तर कोरियाले उक्त रकेटले सेटलाइट बोक्ने दाबी गरिरहेको भए पनि अमेरिकाले यसलाई ‘क्षेप्यास्त्र प्रक्षेपण’ को संज्ञा दिएको छ । उत्तर कोरियाले अपि्रल १२ देखि १६ को बीचमा रकेट प्रक्षेपण गर्ने तयारी गरेको छ । उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्म भएको सय वर्ष पूरा भएको अवसरमा रकेट प्रक्षेपण गरी उत्तरले शक्ति प्रदर्शन गर्न लागेको बताइन्छ

प्रतिक्रिया