खोजखबर

“हामी सभासद् निरीह छौं”

सौर्य अनलाइन २०६८ चैत १४ गते ३:०३ मा प्रकाशित

तपाईंकै शब्दमा तपाईंको परिचय ?
म लीला भण्डारी । जन्म २०३३ साल भदौ २९ गते धनगढी–३ कैलाली । आमा अम्बिकादेवी र बुबा गणपति भण्डारी । दुई दिदीबहिनी र एक भाइमध्ये म दोस्रो सन्तान हु । हाल फूलबारी गाविसमा बस्छौ । अहिले शिक्षा राज्यमन्त्रीको जिम्मेवारीमा छु ।
के गर्नुहुन्छ आमाबुबाले ?
खेतीपाती नै हो ।
आफू मन्त्री, आमाबुबा किसान । मन्त्री भएपछि भेट्न जानुभयो ? कस्तो प्रतिक्रिया दिनुभयो उहाहरूले ?
घर गएकी छु । खुसी हुनुभयो । परिवारमा एउटा मात्रै भाइ थियो । त्यो पनि सहिद भएकाले पीडामिश्रित खुसी मान्नुभएको थियो ।
सुदूर गाउकी छोरी, कसरी राजनीतिमा हामफाल्नुभयो ?
सानैदेखि अलि विद्रोही स्वभावकी थिए । नभएको कुरा कसैले गर्‍यो भने प्रतिवाद गर्थें । समाजमा धेरै खालका विभेद थिए । आर्थिक उत्पीडन, चरम अन्याय, वर्गशोषण, थियो । अझै छ । महिला विभेदको अन्त्य गर्नुपर्छ भन्ने चेतनाको विकास भयो । त्यो सम्भावना मैले माओवादीमा देखे“ अनि राजनीतिमा लागे ।
तपाईंले राजनीति गर्दाताका र आज कत्तिको परिवर्तन पाउनुभयो ?
धेरै परिवर्तन भयो त म भन्दिन । विगतको विभेद सीमित समाज, व्यक्तिमा प्रतिविम्बन हुन्थ्यो । आज विभेदविरुद्ध लड्नुपर्छ भन्ने चेतना जागेको छ । दमन र शोषण बाहिरिन थालेको छ ।
तपाईं आफू र सम्बद्ध पार्टी एमाओवादीले साच्चै महिलाको उत्थान गरेको लाग्छ ?
महिलाका विषयमा दुई तीन कुरामा गर्व लाग्दो काम गरेको लाग्छ । महिलाहरूले अस्तित्व लुटाएर पनि लड्न सक्ने क्षमता देखाए । बलिदानीमा पछि हटेनन् । सेनाको ‘फर्मेसन’मा निडर भएर लडे । मिन्स, गर्भवती हुदा पनि लडे । आज खुला परिस्थितिमा आउदा राज्यका हरेक निकायमा महिलाको संख्या बढेको छ ।
 तपाईंले पनि अस्तित्व लुटाउने अवस्था आयो र ?
मैले त लुटाउनु परेन । तर त्यो दानवीय यातना मेरो कमान्डका धेरै दिदीबहिनीले भोग्नुपरेको छ ।
उनीहरू आज सम्मानित अवस्थामा पुगे कि बाटैमा छुटे ?
अझै त्यो अवस्था सिर्जना भएको छैन । त्यो सम्झदा दुःख लाग्छ । जुन आदर्श, मूल्य, मान्यता भूमिगत हुदा पार्टीमा थियो , अनुशासन, विश्वास र अवसर दिने कुरा थियो, विस्तारै अहिले ‘महिला सक्दैनन्’ भन्ने मानसिकता हाबी हुन थालेको छ । राजनीतिक रूपमै शोषण हुने हो कि भन्ने चिन्ता बढेको छ ।
तपाईं सभासद् पनि, महिलाका पक्षमा तपाईंले सरकार र पार्टीमा के त्यस्ता आवाज उठाउनुभयो, जो कति सुनिए कति सुनिएनन् ?
छोराकै तराजुमा छोरीलाई पनि राख्नु जरुरी छ । शिक्षा, अधिकार, पैतृक सम्पत्तिको हक कानुनी रूपमै समान बनाउनु जरुरी छ । अन्यायपूर्ण शब्द नै राख्नु हुदैन । सबै निकायमा समानुपातिक अवसर महिलालाई चाहिन्छ ।
आरक्षण नि त ?
यो शब्द आफैमा ठीक छैन । आरक्षण दिनु हुदैन । यो हेपाहा प्रवृत्ति हो । दाबाका साथ भन्छु, नेपालमा महिला बढी छन् । अनि उनीहरूले नै अधिकार माग्ने ? चाहे जुनसुकै पार्टी होस्, ठाउमा पुगेपछि ‘हा.. महिला त हुन्’ भन्ने परिपाटी जिउदै छ । यो सोच बदलिनुपर्छ ।
माओवादीले विद्रोह गर्दा त चमत्कारै हुन्छझै गरेको थियो त ?
अहिले लेनदेनको राजनीति छ । सहमति, सहकार्यको राजनीति भइरहेको छ । लिनु र छाड्नुपर्ने बाध्यता सबैको छ । महिलाका मुद्दा सबैको साझा मुद्दा बन्नुपर्ने हो । यसमा कन्जुस्याइ भइरहेको छ । आमाको नामबाट नागरिकता दिने कानुन पनि लागू गर्न गराउन सरोकारवाला नै तयार छैनन् ।
आफै राज्यमन्त्री हुनुहुन्छ, दबाब दिनुहुन्न ?
हामी ‘क्याबिनेट’ मन्त्री होइनौ तर पनि दरो मत पठाएका हुन्छौ । यो हुदैन कसैले भन्दैन । लागू भइदिदैन । नीति बनाउने र लागू गर्नेबीच तालमेल नै छैन ।
सर्वहारा वर्गको पार्टी एमाओवादीको जीवनशैली पनि फेरिदै गएको छ नि ?
सिद्धान्त बनाउने नै आफैसग चुक्यो भने त्यो कतै पनि लागू हुन सक्दैन । हामी संघर्षबाट आएका हौ, अरूसग जीवनशैली तुलना गर्नु हुदैन । घाइते, बेपत्ता धेरै छन् । आज हामी माथि छौं । धेरैले हामीलाई आशाको आखाले हेरिरहेका छन् । जनताको स्तरभन्दा नेताको स्तर फरक देखिदै छ, त्यो राम्रो संकेत होइन । स्वाभाविक परिवर्तन ठीकै हो तर आकस्मिक फरकपन देखिन थालेको छ । नेतृत्वले सचेत हुन जरुरी छ ।
तपाईं भागीदार सरकारका निर्णय हचुवाका भरमा भएजस्तो लाग्दैन ?
युद्धमा भएगरेका घटनालाई उल्ट्याउन हुदैन भन्ने निर्णय ठीक हो । केही विषय सोच्दै नसोचेर निर्णय गर्नु राम्रो थिएन, जो विवादित बने ।
युद्धमा धेरै मान्छे मारिए, ग्लानि हुदैन ?
लडाइ नापेतौलेजस्तो हुदैन रहेछ । केही निर्दोष पनि परेका छन् । हिजोका दिनमा राज्यले विभेद गर्दै आफू निकटकालाई राहत दियो, आज हामीले दिन लाग्दा विरोध हुन्छ ।
तपाईंले वर्गको कुरा पनि उठाउनुभयो । वर्ग त तपाईंको पार्टीभित्र पनि त देखि“दै छ नि ? ठूलठूला घरमा बस्ने । गाडी चढ्नैपर्ने रहर के हो ?
त्यसको पनि लडाइ जारी छ । हिजो बकुल्लाछाप लगाएर चुनाव लडेका हाम्रा नेताहरूको महल देखिन थाल्यो भने छाडिदैन । आङ्खनो स्वार्थअनुकूल पार्टीलाई कसैले प्रयोग गर्छ भने ऊ सजायको भागीदार हुन्छ ।
भइरहेकै छैन र ?
त्यस्तालाई हिजो तास खेलेकामा पिटाइ खाने, रक्सी खाएकामा हातखुट्टा भाँ“चिएका जनताले हिसाब गर्नुपर्छ । आदर्शभन्दा बाहिर जाने नेतालाई हिजो यातना सहने जनताले कारबाही गर्नुपर्छ ।
तपाईं कत्तिको सफल आमा हो ?
भूमिगत जीवनमा हुदा मेरी छोरीले मलाई ‘आन्टी’ भन्थिन् । घर आयो भने कहिले जाने भनेर सोध्थिन् । खासै माया दिन सकिन कि ? म मन्त्री बन्ने हल्ला चल्दा पनि नबन्नुस् भन्थिन् । छाडेर जान्छु भनेर होला
राज्यमन्त्री भएपछि खाना बनाउनुभएको छ ?
प्रायः आमा र बहिनीले बनाउ छन् । फुर्सद पाएका बेला भान्सामा पस्छु । बनाउन सघाउ छु ।
युद्धमा कति मान्छे कुट्नुभयो ? मार्नु पनि भयो कि ?
मेरो हातबाट मान्छे नै मार्ने काम त भएन । पार्टीले खटाएको काममा कारबाहीमा भाग भने लिए  नै । आत्मग्लानि हुने घटना भएको छैन ।
मान्छे मारेर कुर्सी उक्लेजस्तो लाग्दैन ?
त्यसो होइन । क्रान्तिमा नापेतौलेजस्तो हुदैन भनिसके नि ।
शान्ति र संविधान निर्धारित समयमै पूरा होला  ?
बनाउनुपर्छ । बन्छ । नेताहरू कस्सिएर लाग्नुपर्छ । हामी सभासद्हरू त निरीह छौ । हामीलाई दलका नेताले हस्ताक्षरकर्ता मात्रै बनाइदिएका छन् । हामी बेकम्मा पनि होइन, कामिला पनि भएनौ ।
प्रस्तुति, शिवराज योगी

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय