डिभिजन सडकले नै सडक मिच्यो

दाङ, १२ चैत । मध्यपश्चिम डिभिजन सडक कार्यालय घोराहीले नियम मिचेर कार्यालयको पर्खाल निर्माण गरेपछि विरोध भएको छ ।
कार्यालय मातहतका सडक निर्माणका लागि पर्खाल, घर र टहरा भत्काउनेले आङ्खनै कार्यालयको पर्खाल भनेर सडक मिचेर निर्माण गरेको हो । घोराही तुलसीपुर सडक सीमामा रहेको पर्खालको जग चार मिटरको दूरीमा छ । कार्यालयको मूल गेटबाट दायाबाया दुई सय मिटरभन्दा पनि बढी लम्बाइको पर्खालले सडक मापदण्डको सीमा मिचेर नगर क्षेत्रको सडक विस्तारमा समेत अवरोध पुर्‍याएको छ ।
सडक कार्यालले सडक सीमा मिचेको मात्र छैन, कम्पान्डभित्र बनेका भवनको नक्सा नगरपालिकाबाट पाससमेत गरेको छैन । घोराही नगरपालिकाका सहायक अधिकृत सुबोध रेग्मी भन्छन्, ‘नगरको सडक विस्तार गर्ने क्रममा पटकपटक सार्न अनुरोध गर्‍यौ तर सडक डिभिजनले वास्ता गरेन ।’ सडकले स्थानीय स्वायत्त शासन ऐनअनुसार नगरपालिकामा सम्पत्ति करसमेत तिरेको छैन । सडकले आङ्खनो सीमामा पर्ने नाला सफा गर्ने मान्छेसमेत नराखेर नगरपालिकालाई थप बोझ थपेको घोराही नगरपालिकाले जनाएको छ ।
सडक डिभिजनका प्रमुख अनन्त आचार्यले बजेटकै कारण काम गर्न नसकिएको बताए । उनले भने, ‘बजेट कम भएका कारण पर्खाल सार्न सकिएको छैन । अरू काम पनि था“ती छन् ।’ जिल्लामा एक सय ३८ किलोमिटर कालोपत्रे, दुई सय ५७ किलोमिटर ग्राभेल, चार हजार ९२ किलोमिटर कच्ची सडक हेर्ने कार्यालयले आफैले सीमा मिचेकोमा नगरवासीले विरोध गरेका छन् ।

प्रतिक्रिया