सहमति भए निर्धारित समयमै संविधान

काठमाडौं, १२ चैत । सभामुख सुवास नेम्वाङले दलहरुबीचमा सहमति कायम भए आगामी जेठ १४ भित्र संविधान जारी गर्न सकिने बताएका छन् ।

शान्ति र संविधानका लागि सर्वदलीय युवा सभासद् दवाव समूहले आज उनकै कार्यकक्ष सिंहदरबारमा ज्ञापनपत्र बुझाएपछि नेम्वाङले संविधानका विवादित मुद्दामा सहमति खोज्ने कार्य अन्तिमचरणमा पुगेकाले संविधान आउनेमा आफू आशावादी रहेको बताए ।

युवा सभासद्ले शान्ति र संविधानका लागि निरन्तर दवाव दिन आवश्यक भएको उल्लेख गर्दै सभामुख नेम्वाङले कुनैपनि सभासद् उपत्यका छाडेर वाहिर नगई संविधानका लागि क्रियासील हुनुपर्नेमा जोड दिए ।

भेटपछि युवा सभासद्का तर्फबाट कागे्रसका नेता गगन थापाले शान्ति प्रक्रियाको मूलभूत विषयमा सहमति भइसकेपछि संविधान निर्माणले गति लिने बताए ।

एमाले सभासद् यमलाल कँडेलको संयोजकत्वमा रहेको दवाव समूहमा विभिन्न पार्टीका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने करिब ७० जना सभासद् संलग्न छन् ।

दवाव समूहले आगामी जेठ १४ भित्रै संविधान जारी गर्नका लागि सबै पार्टीका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाउँदै आएको छ ।

प्रतिक्रिया