एक सातामा सेना समायोजा प्रक्रिया टुङ्गिन्छ

चितवन, १२ चैत । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एक साताभित्र सेना समायोजन प्रक्रिया टुङ्गिने दाबी गरेका छन् ।

चितवनमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पुनः स्वेच्छिक अवकाशमा जाने र समायोजनको प्रकृया पुरा गर्ने कार्यतालिका अनुसारनै काम हुने बताका हुन् ।

शिविरमा रहेका ९ हजार छ सय लडाकु मध्ये छ हजार पाँच सय मात्रै समायोजनमा जाने भएको भन्दै दाहालले स्वेच्छिक अवकाशको काम पनि एकैपटकमा सकाउन लागिएको बताए । त्यसका लागि दलहरुका बीच छलफल भइसकेको अध्यक्ष दाहालको भनाई छ ।

माओवादी अध्यक्ष दाहालले अबको दुई महिना भित्रै संविधानपनि जारी हुने दाबी गरे । अहिले दलहरुबीच विवाद नगरेर सम्झौता गर्ने अवस्था रहेको भन्दै दाहालले भने, ‘माओवादी, कांग्रेस र एमालेलगायतका दलहरुले संविधान बनाउन विवाद होइन कतिसम्म छोड्न सक्किन्छ त्यो सम्झौता गर्ने समय हो ।’

स्थानीय सरकारका सम्बन्धमा पूर्व जनप्रतिनिधीहरुको जिज्ञासालाई मेटाउँदै दाहालले यस बिषयमा संविधानमै स्पष्ट व्यवस्था गरिने प्रतिवद्धता जनाएका छन् । उनले स्थानीय निकायको निर्वाचन भने संविधान जारी हुनुअघि गर्न नसकिने बताए ।

कांग्रेस नेता रामशरण महतले राज्य पुनर्संरचनामा स्थानीय निकायको भूमिका कस्तो हुने भन्ने बारेमा विवाद रहेको बताए । उनले संविधानमै स्थानीय निकायको भूमिकाका बिषयमा व्याख्या सहित राख्न सुझाएका थिए ।

प्रतिक्रिया