ह्विप र खनालको भारतयात्रा

नेकपा (एमाले) संसदीय दलले पार्टीका सबै नेता र सभासद्लाई राजधानी नछाड्न ह्विप जारी गरेको भोलिपल्टै अध्यक्ष झलनाथ खनाल मुलुकबाहिर गएका छन् । ह्विप जारी गरेको मसी सुक्न नपाउदै दलका अध्यक्षले नै त्यसको उल्लङ्घन गरेपछि नकारात्मक सन्देश प्रवाहित भएको छ । संसदीय दलले मुलुकको वर्तमान समस्याप्रति वस्तुगत मूल्याङ्कन गर्दै ह्विप जारी गरेको थियो । यो ह्विप जारी भएपछि समस्या समाधानप्रति एमाले गम्भीर भएको ठानिएको थियो । शान्तिप्रक्रिया टुङ्ग्याउने र संविधान लेखनमा देखिएका अवरोधलाई पन्छाउन एमाले गम्भीर छ भन्ने सन्देश गएको थियो । तर, अध्यक्ष खनाल नै ह्विप उल्लङ्घन गर्दै उपचारका लागि भनेर दिल्ली गएपछि तमाम अपेक्ष् शिथिल बनेका छन् । आफै ह्विप जारी गर्न लगाउने र आफै पहिलो उल्लङ्घनकर्ता बन्ने एमाले अध्यक्षको व्यवहारले एमालेमा भनाइ र गराइमा रहेको भिन्नतालाई उजागर गरेको छ । एमालेले आफ्नो छवि उकास्न बेलाबखत गर्ने यस्ता विरोधाभासी कार्य रोक्नुपर्छ ।
मुलुक अहिले सङ्क्रमणकालमा छ । शान्तिप्रक्रिया टुङ्गिएको छैन । संविधान लेख्ने काम असरल्लै बाकी छन् । राज्यको शासकीय स्वरूप, शासन प्रणाली, सङ्घीयता र अन्य विषयमा ठूला दलबीच गम्भीर मतभेद बाकी छन् । यो समय शीर्ष नेताहरूले एक मिनेट पनि खेर फाल्न नमिल्ने समय हो । समयको यही महत्वलाई बुझेर एमाले संसदीय दलले ह्विप जारी गरेको हुनुपर्छ । तर, त्यो ह्विप नेताले नै उल्लङ्घन गरेपछि अरूका लागि पनि बाध्यकारी रहेन । यस कार्यले पार्टीभित्रको अनुशासनलाई पनि खुकुल्याउने काम गर्छ । अध्यक्ष खनाल उपचार गराउन विदेश जानै हुदैन भन्ने सोच कसैले राख्नु हुदैन । नेताहरू स्वस्थ, भद्र, अनुशासित, कर्तव्यनिष्ठ, पारदर्शी साथै मुलुक र जनताप्रति दायित्वबोध भएको हुनैपर्छ । नेता भनेका राष्ट्र र जनताका निधि हुन् । यो विवादरहित सोच र मान्यता हो तर, समयले सुम्पिएको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा नराखी विदेश भ्रमणमा निस्कनु उपयुक्त होइन । अध्यक्ष खनालको रोगको उपचार नेपालमै हुन्थ्यो भने उनी किन विदेश जानुपर्‍यो ? जनताले स्वाभाविक प्रश्न गर्छन् । खनाल मात्र होइन अन्य पार्टीका नेता पनि उपचारको बहानामा विदेश जाने गरेका छन्, जसले गर्दा नेपालमा उपचार नहुने रोग बोकेर निको हुनकै लागि विदेश जादा पनि जनताले विश्वास गर्न छाडेका छन् । यो विश्वास खण्डित गर्ने कार्य नेताहरूबाटै भएको हो ।
अध्यक्ष खनालका बारेमा पनि डाक्टरहरूले नेपालमै उपचार सम्भव थियो भनेका छन् । नेपालमै उनको रोगको उपचार सम्भव थियो भने बाहिर नगएको भए हुने थियो किनभने अहिले मुलुकमा सङ्गीन अवस्था छ । एकएक पलको महत्व छ । यो महत्वलाई बुझेर नेपाली कांग्रेस र अन्य दलले पनि राजधानी नछाड्न आफ्ना नेता र सभासद्लाई ह्विप जारी गरेका छन् । तर, ह्विपको पालना भने कुनै पार्टीका नेताले गरेका छैनन् । विदेश भ्रमणको निम्ता पाएपछि छाड्नै नमिल्ने कामसमेत छाडेर नेताहरू जाने गरेकाले पनि नकारात्मक पक्ष बढी हाबी भएको हो । रोगको उपचार गर्न जानुपर्छ, तर पारदर्शी भएर । ह्विप उल्लङ्घन गरेर होइन । अहिलेको समय भनेको सदुपयोग गर्नुपर्ने समय हो । राष्ट्र र जनताका लागि इतिहास निर्माण गर्नुपर्ने समय यही हो । तसर्थ सबै पार्टीका नेता र सभासद्ले १४ जेठसम्म विदेश भ्रमणका सबै कार्यक्रम रद्द गरेर शान्ति र संविधानका लागि समय दिनुपर्छ ।

प्रतिक्रिया