एकै वर्ष साढे ६ हजार जलपक्षी बढे

काठमाडौ, ११ चैत । पछिल्लो एक वर्षको अवधिमा जलपक्षीको सङ्ख्या ६ हजार पाच सय ८१ ले बढेको छ, जसबाट जलपक्षीको सङ्ख्या ३७ हजार एक सय ५४ पुगेको छ । सन् २०११ मा जलपक्षीको सङ्ख्या ३० हजार पाच सय ७३ थियो ।
पाच संरक्षित क्षेत्र र पाच सिमसार गरी ५५ ठाउमा गत ३० पुसदेखि १५ माघसम्म गरिएको ‘मध्य हिउदे जलपक्षी’ गणनाले एकै वर्षमा यस्तो बढोत्तरी देखाएको हो । मध्य हिउदे जलपक्षी गणना कार्यक्रमका राष्ट्रिय निर्देशक डा हेमसागर बरालले चितवन राष्ट्रिय निकुञ्ज र जगदीशपुर जलाशयमा पन्छीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए । ‘वासस्थानमा सुधार भएकाले होला, चितवन र जगदीशपुर जलाशयमा जलपक्षीको सङ्ख्या उल्लेख्य बढेको छ,’ उनले सौर्यसग भने, ‘त्यसैले पहिलोपटक एकै वर्षमा जलपक्षीको सङ्ख्यामा साढे ६ हजारभन्दा बढीले वृद्धि भएको हो ।’
गणनाअनुसार चितवनमा तीन हजार एक सय र जगदीशपुर जलाशयमा पाच हजार तीन सय ६३ ले बढेको छ । जलपक्षीको सङ्ख्या गत वर्ष चितवन र जगदीशपुरमा क्रमशः सात हजार ६ सय २१ र तीन हजार सात सय ८७ थियो । यसपटक बढेर क्रमशः १० हजार सात सय २१ र नौ हजार एक सय ५० पुगेको छ ।
पोखरा, शुक्लाफाटा र कोसी टप्पुमा भने जलपक्षीको सङ्ख्या घटेको छ । पोखरामा नौ सय १२, शुक्लाफाटामा दुई सय ३६ र कोसी टप्पुमा चार सय २० घटेका छन् । घोडाघोडी, बढैया र कर्णालीमा अघिल्लो वर्षकै सरह आकडा आएको छ । ती ठाउमा क्रमशः एक हजार एक सय ५४, नौ सय ९१ र एक हजार ४६ वटा पन्छी छन् । गणनाले लुम्बिनीमा दुई हजार पाच सय २५ र काठमाडौंमा चार सय ९५  रहेको देखाएको छ । अघिल्लो वर्ष लुम्बिनीमा तीन हजार सात सय ३७ र काठमाडौंमा दुई सय ८५ वटा थिए । अघिल्लो वर्ष ७९ प्रजातिका चरा रहेकामा यो वर्ष ८१ पुगेको डा बरालले बताए ।
गणना कोसी टप्पुका सिमसार, पोखरा, चितवन, शुक्लाफाटा र लुम्बिनी आसपासका सिमसार, जगदीशपुर ताल, राप्ती नदी, बढैया ताल, बर्दिया, घोँडाघोडी ताललगायतमा गरिएको थियो । त्यसका लागि दुई सयभन्दा बढी पन्छीप्रेमी स्वयंसेवक खटिएका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सरकारको सिमसार संरक्षण तथा सदुपयोग परियोजना, राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्ड एजुकेसन सोसाइटी, टाइगर माउन्टेन ग्रुप, कोसी क्याम्प, शुक्लाफाटा वाइल्डलाइफ क्याम्प, हिमाली प्रकृति, लुम्बिनी बुद्ध गार्डेन, नेपाल पक्षी संरक्षण सङ्घ, नेपाल पक्षीविद् सङ्घ र स्थानीय सङ्घसंस्थाको सहकार्यमा गणना भएको थियो ।
२६ वर्षदेखि जलपक्षी गणना गरिदै आएको छ । नेपालमा सिमसारमा निर्भर  करिब दुई सय प्रजातिका चरा पाइन्छन् ।

प्रतिक्रिया