चीन र भारतलाई अमेरिकी चेतावनी

वासिङ्टन, ९ चैत । इरानी तेलमाथि बढी निर्भर रहने भारत, चीनलगायत राष्ट्रले जुनको अन्त्यसम्म इरानी तेल आयातमा कटौती नगरे उनीहरूविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी अमेरिकाले दिएको छ । भारत र चीनसहित जम्मा १२ मुलुकलाई अमेरिकाले यस्तो चेतावनी दिएको हो । यी दुई मुलुकबाहेक दक्षिण कोरिया, दक्षिण अफ्रिका, इन्डोनेसिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, ताइवान र टर्कीतर्फ अमेरिकी चेतावनी लक्षित रहेको बताइन्छ ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले मङ्गलबार एक वक्तव्य जारी गर्दै इरानी तेल आयात कटौती गरेर अमेरिकी प्रतिबन्धबाट बच्न १२ मुलुकलाई चेतावनी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार अमेरिकी विदेशसचिव भिक्टोरिया नुलान्डले अमेरिकी भनाइअनुरूपको काम गरेर मात्रै ती राष्ट्रले अमेरिकी प्रतिबन्धबाट उन्मुक्ति पाउने आशयको भनाइ राखेकी हुन् ।
इरानी तेल आयात घटाउन नमान्ने राष्ट्रमाथि कहिले प्रतिबन्ध लगाइन्छ भनी संवाददाताले सोधेको प्रश्नको जवाफमा विदेशसचिव नुलान्डले भनिन्, ‘तेल आयात घटाउन यी राष्ट्र कत्तिको सफल हुन्छन् भन्ने कुराले कहिले प्रतिबन्ध लगाउने भन्ने कुरा निर्धारण गर्नेछ ।’
युरोपेली सङ्घस“ग आबद्ध राष्ट्र र जापानजस्तै ती १२ राष्ट्रले पनि इरानी तेल आयात घटाउन अग्रसरता लिनुपर्नेमा उनले जोड दिइन् । यसअघि विदेशमन्त्री क्लिन्टनले जापान, बेल्जियम, चेक गणतन्त्र, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, नेदरल्यान्ड, पोल्यान्ड, स्पेन र  बेलायतले उल्लेख्य मात्रामा इरानी तेलको आयात कटौती गरेको भन्दै उनीहरूलाई अमेरिकी प्रतिबन्ध लाग्नसक्ने मुलुकको सूचीबाट झिकिएको घोषणा गरेकी थिइन् ।
जापानले जस्तै भारत, चीनलगायत राष्ट्रले इरानी तेलको आयात १५ देखि २२ प्रतिशतले कटौती गरे अमेरिकालाई मान्य हुन्छ भनी सोधिएको प्रश्नमा विदेशसचिव नुलान्डले भनिन्, ‘भूकम्प र सुनामीका कारण परमाणु ऊर्जा केन्द्र भत्किएकाले जापानको अवस्था भिन्न छ । अन्य राष्ट्रबाट हामीले त्योभन्दा बढी आशा गरेका छौ“ ।’
अमेरिकाले यस्तो चेतावनी दिएपछि चीनले वैधानिक तवरबाटै तेल आयात गरिरहेको जनाएको छ । कुनै पनि राष्ट्रको आन्तरिक कानुनलाई आधार बनाई अन्य राष्ट्रमाथि लगाइने प्रतिबन्ध आपूmलाई स्वीकार्य नहुने चीनले प्रस्ट पारेको छ । (एजेन्सी)

प्रतिक्रिया