नेपालद्वारा केन्या पराजित

अबुधाबी, ९ चैत । नेपालले पछिल्लो एकदिवसीय विश्वकप खेलेको केन्यालाई बिहीबार टी-ट्वान्टी खेलमा पराजित गरेको छ ।
टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि भइरहेको विश्वस्तरको छनोटमा नेपालले सातांै स्थानका लागि बिहीबार भएको सेमिफाइनल प्ले अफ खेलमा केन्याविरुद्ध पाँच विकेटको जित हात पारेको हो । गत मङ्गलबार क्यानाडासँग पराजित भएपछि नेपाल यसै वर्ष श्रीलङ्कामा सञ्चालन हुने टी-ट्वान्टी विश्वकपका लागि छनोट होडबाट बाहिरिएको थियो ।
राम्रो बलिङ प्रदर्शन गरे पनि अघिल्ला खेलमा कमजोर ब्याटिङ गरेको नेपालले केन्याविरुद्ध भने त्यसलाई सुधार गर्‍यो । जितका लागि प्राप्त १ सय ४० रनको लक्ष्य नेपालले दुई बल बाँकी छँदा पूरा गरेको हो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक रहँदा ‘लङ अन’ तर्फ चौका प्रहार गरी कप्तान पारस खड्काले टोलीको जित सुनिश्चित गरे ।
मध्यम लक्ष्य पछयाउने क्रममा नेपालको सुरुआत उत्कृष्ट रहेको थियो । ओपनर अनिल मण्डल -३२) र प्रदीप ऐरी -४५) ले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै जितको बलियो आधार तयार गरेका थिए । ३६ बल खेलेको मण्डलले चार चौका र ३८ बलको सामना गरेका ऐरीले ४ चौका र दुई छक्का प्रहार गरे । सुरुआत राम्रो रहे पनि त्यसपछिका कप्तान खड्काबाहेकका खेलाडीले राम्रो खेल्न सकेनन् । खड्काले २६ रन जोडे । ज्ञानेन्द्र मल्ल ५, मेहबुब आलम ५ र पृथु बास्कोटा ८ रनमा आउट भए । खड्काले छैटैं विकेटका लागि वसन्त रेग्मी -३) सँग १३ रनको साझेदारी गरे । लक्ष्य भेटाउनुअघि  २२ बल खेलेका खड्काले तीन चौका प्रहार गरे । नेपालले अतिरिक्त बापत १७ रन पाएको थियो ।
यसअघि टस जिती ब्याटिङ थालेको केन्याले कप्तान कोलिन्स ओबुयाको ५२ रनको मद्दतमा निर्धारित २० ओभर खेल्दै मध्यम योगफल तयार पारेको थियो । वसन्त रेग्मीको बलमा बोल्ड हुनुअघि ओबुयाले ४२ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए ।
पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेको केन्याका लागि प्रारम्भिक ब्याट्सम्यान डन्कन एलानले ३२ र एलेक्स ओबान्डाले २३ रन जोडेका थिए । आबुया र एलानबीच दोस्रो विकेटका लागि ६४ रनको साझेदारी भएको थियो । बलिङतर्फ नेपालका वसन्त रेग्मी मात्र प्रभावी देखिए । चार ओभरमा २३ रन मात्र खर्चिएका उनले तीन विकेट हात पारे । उनी म्यान अफ द म्याच चुनिए । सन्जम रेग्मीले पनि एक विकेट लिए । यसअघि लिगचरणमा महत्वपूर्ण मानिएको खेलमा क्यानाडालाई १ सय १ रनमा सीमित गरे पनि नेपाल कमजोर ब्याटिङका कारण हार व्यहोर्न पुगेको थियो ।
नेपालले सातैां स्थानका लागि पपुआ न्युगिनीको सामना गर्ने भएको छ । विहीबार नै सातैां स्थानका लागि भएको अर्को सेमिफाइनल प्ले अफ खेलमा पपुआ न्युगिनीले इटालीलाई १२ रनले पराजित गर्‍यो । लिगचरणमा नेपाल पपुआ न्युगिनीसँग पराजित भएको थियो ।

अफगानिस्तान विश्वकपमा
नामिबियालाई बिहीबार ४७ रनले पराजित गरी अफगानिस्तानले यस वर्ष श्रीलङ्कामा हुने
टी-ट्वान्टी विश्कप क्रिकेट प्रतियोगितामा सहभागिता निश्चित गरेको छ । यसअघि गत संस्करणमा पनि अफगानिस्तान सहभागी भएको थियो ।
विश्वस्तरको छनोटअन्तर्गत समूह विजेताबीचको भिडन्तमा अफगानिस्तानले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य पछयाएको नामिबिया १८ ओभर एक बलमा ९९ रनमा सीमित भयो । आगामी टी-ट्वान्टी विश्वकपमा छनोट हुने अफगानिस्तान पहिलो एसोसिएट तथा एफिलिएटेड सदस्य टोली हो ।
एसोसिएट तथा एफिलिएटेडबाट विश्वकपमा दुई टोली सहभागी हुन पाउने प्रावधान छ । बाँकी अर्को टोलीको टुङ्गो भने यही छनोट प्रतियोगिताबाट हुनेछ । हारका बाबजुद नामिबियालाई छनोटको अर्को अवसर हुनेछ । सेमिफाइनल प्ले अफ खेलेर आएका टोलीबीचको खेलको विजेता र नामिबियाबीच हुने भिडन्तको विजेता विश्वकपमा छनोट हुने अर्को टोली बन्नेछ ।

प्रतिक्रिया