पति भागेपछि दलित किशोरीको बिचल्ली

नेपालगन्ज, ९ चैत । ‘पहिला माया नगर्नुहोस् भन्दा मान्नुभएन, अहिले छाडेर जानुभयो,’ रुकुम कोटजहारी–३ की १५ वर्षीया पुष्पा विकले भनिन्, ‘छाडेर गएपछि दुईदिनदेखि भोकै बसेकी छु ।’

बिहे गरेको दुई सातामै पत्नीलाई नेपालगन्जमा छाडेर कोटजहारी–३ का चित्र मल्ल बेपत्ता भएका छन् । १९ फागुनमा पुष्पालाई गाउबाट भगाएर बाकेको बागेश्वरी मन्दिरमा बिहे गरेका मल्ल मङ्गलबारबाट बेपत्ता भएका हुन् ।
उनी बेपत्ता भएपछि कोठामा भोकै बसेकी पत्नी पुष्पाको बिचल्ली भएको छ । ‘उहाको मोबाइल अफ छ, मेरो पनि लिएर जानुभयो,’ उनले भनिन्, ‘खानेकुरा किन्ने पैसा नभएपछि कोठामा रोएरै बसेकी छु ।’
पतिले नागरिकतालगायत सबै कागजात लगेको पुष्पाले बताइन् । कोटजहारी उच्च माविमा कक्षा ३ मा पढ्दादेखि मल्लसग मायाप्रेम भएको उनले बताइन् । विक कक्षा ८ मा पढिरहेकी थिइन् भने मल्ल शारदा उच्चमाविमा कक्षा ११ मा पढ्दै थिए । बिहेका कारण विकको परीक्षा पनि बिथोलिएको छ ।
‘चौरजहारी गएपछि पनि फोनमा कुरा भइरहन्थ्यो,’ उनले भनिन्, ‘तर, आमाले कथित तल्लो जातकी भनेर धम्की पनि दिनुभयो ।’ घरमा आमाले नमानेपछि ‘छुटौ’ भन्दा मल्लले ‘नेपालगन्ज लगेर राख्छु’ भनेर भगाएको र दाजु शेरबहादुरको उपस्थितिमा मन्दिरमा विकलाई सिन्दूर हालेका थिए ।
सासूससुराले अस्वीकार गर्ने डरले घरबाहिर राख्ने सहमतिमा विवाह गरिएको उनले बताइन् । नेपालगन्जमा केही दिन होटेलमा बसेपछि गणेशपुरमा कोठा लिएर उनीहरू बस्न थालेका हुन् ।
कलिलै उमेरमा विवाह गरेकी विक भन्छिन्, ‘सायद परिवारको दबाबले ममाथि धोका हुदै छ ।’ घरमा बुझ्दा मल्लकी आमाले ‘मेरो छोरा बिगार्नेलाई कुवामा खसालिदेऊ’ भनेपछि उनी थप त्रसित भएकी छन् । पतिले अलपत्र छाडेपछि उनी गाउ फर्किन सकेकी छैनन् ।

प्रतिक्रिया