बहिर्गमित लडाकुद्वारा पार्टी कार्यालय कब्जा

सुर्खेत, ९ चैत । बहिर्गमनमा परेका लडाकुले सरकार र पार्टीले माग पूरा नगरेको भन्दै एकीकृत नेकपा (माओवादी)को सुर्खेतस्थित जिल्ला कार्यालय र भेरी–कर्णाली राज्यसमितिको कार्यालय कब्जामा लिएका छन् । ७५ जनाको सङ्ख्यामा आएका उनीहरूले बिहीबार दिउ“सो ३ बजेदेखि दुवै कार्यालय कब्जामा लिएका हुन् ।

अयोग्य लडाकुले नेता तथा कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएका छन् । ‘माग पूरा नभएसम्म कसैलाई पनि कार्यालय प्रवेश गर्न दिदैनौ,’ बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य नारदमणि पौडेलले भने, ‘पर्‍यो भने पार्टी कार्यालयमा आगो लगाउन पनि तयार छौ ।’ उनले बिहीबारदेखि ती कार्यालय आफूहरूको भएको दाबी गर्दै कसैले बल प्रयोग गरेर भित्र प्रवेश गर्न खोजे कार्यालयभित्रै थुन्ने बताए । ‘जनयुद्धकाल’मा झै आगजनी गर्ने उनको भनाइ छ ।
‘हामीले पार्टीमा ज्ञापनपत्र बुझाएर नेतृत्वको ध्यानाकर्षण गरायौ तर पार्टीले माग पूरा गर्न पहल गरेन,’ उनले आक्रोश पोखे, ‘त्यसैले अन्तिम सङ्घर्षमा उत्रिएका हौ ।’ उनले बर्हिगमित लडाकुको आक्रोश कसैले रोक्न नसक्ने दाबी गर्दै तत्काल समस्या समाधानका लागि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताए ।
‘विभिन्न आश्वासन बाडेर हामीलाई युद्धमा हिडाए । अहिले बिचल्लीमा पारेर उम्किन खोज्दै छन् तर हामी छाड्दैनौ,’ बर्हिगमित जनमुक्ति सेना नेपालका मध्यपश्चिम सचिव खडगबहादुर रम्तेलले भने, ‘अहिलेको लडाइ १० वर्षे जनयुद्धजस्तै हो ।’ पार्टीले आफूहरूको भविष्य अन्योलमा पारेको उनी बताउछन् । अब पार्टीले नै भविष्यको ग्यारेनटी लिनुपर्ने उनले बताए । उनले गास, बास र कपासको उचित व्यवस्था नभए सङ्घर्षले उग्ररूप लिने चेतावनीसमेत दिए ।
पार्टी कार्यालय कब्जामा लिदासमेत नेताहरूले समस्या समाधानका लागि कुनै पहल नगरेको उनीहरूको आरोप छ । जिल्ला इन्चार्ज कृष्णप्रसाद धमला, सेक्रेटरी भीमबहादुर मल्ललगायतका नेता सम्पर्कमै नआएको रम्तेलले बताए ।
अयोग्य लडाकुले पार्टी कार्यालय कब्जा गरेपछि स्थानीय प्रशासनले कार्यालयको सुरक्षाका लागि प्रहरी परिचालन गरेको छ । अयोग्य लडाकुले पार्टी कार्यालय कब्जामा लिए पनि माओवादीका स्थानीय नेताले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया