सरकार माओवादीकै कारण आफै ढल्छ

काठमाडौं, ९ चैत । कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर सहमतिका लागि मार्ग प्रसस्त नगरे अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी दिए ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले सरकरको दिनगन्ती सुरु भईसकेको भन्दै इतिहासकै भ्रष्ट सरकारमा भट्टराई सरकार दर्ता भएको आरोप लगाए ।

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण स्थगित हुनुलाई राम्रो संकेत भन्दै महतले प्रचण्डले डाक्दैमा शान्ति प्रक्रिया निष्कर्षमा नपुगी महासचिव नेपाल आउन नहुने तर्क गरे ।

एमाले सचिव शंकर पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार बैद्य समूहले नै ढाल्ने बताए । उनले सरकार ढाल्न प्रतिपक्षीहरुले कुनै प्रयास गर्ने आवश्यकता नभएको बताए । उनले भने ‘बैद्यजीले नै राजीनामा माग्नु भएकोछ, प्रतिपक्षीले मागिरहनु पर्दैन, यो सरकार आफै ढल्छ ।’

सचिव पोखरेलले नेपालमा जारी शान्ति प्रक्रिया निष्कर्षमा पुगेर संविधान जारी हुनेमा नेपाली जनताले आशा मारिसकेको बताए ।

बान कि मुन नेपाल आउनु सकारात्मक र अवसरको रुपमा रहे पनि प्रचण्ड आफै शान्तिको विषयमा प्रतिबद्ध नभई कन्फ्यूज रहेकाले भ्रमण स्थगित भएको बताए ।

एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूह शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य अवरुद्ध पार्ने षडयन्त्रमा लागेको आरोप लगाए ।

गजुरेलले अन्तिम समयमा आएर प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग्नु भनेको शान्ति र संविधान निर्माणको कार्यलाई विथोल्नु भएको बताए ।

‘राष्ट्रिय सहमितको वातावरण नबन्दा सम्म प्रधानमन्त्रीको राजीनामा आउँदैन’, गजुरेलले भने, ‘केन्द्रीय समिति बैठकमा नआएर शान्ति र संविधान विरोधी काम गरिरहे चुप लागेर बस्दैनौ ।’

उनले राष्ट्रसंघका महासचिव वान कि मुनको भ्रमण रोक्ने कुलचन्द्र गौतमलगायतका मानवअधिकारवादीलाई राष्ट्रद्रोहीको आरोप लगाएका छन् । माओवादी नेता गजुरेलले मुनको भ्रमण रोक्ने राष्ट्रद्रोहीलाई ठेगान लगाउने चेतावनी दिए ।

राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार आफ्नै पार्टीको अन्र्तद्धन्द्धका कारण ढल्ने दावी गरे ।

प्रतिक्रिया