माओवादी हिंसाको राज्य चलाउन चाहन्छः पौडेल

काठमाडौं, ८ चैत । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादीले अहिले पनि हिंसाको राजनीति नछोडेको आरोप लगाएका छन् । उनले माओवादीले मुलुकमा हिंसा र आतंकको राज्य चलाउन खोजेको बताए ।

एकीकृत माओवादी निकट मजदुरको कुटपिटबाट घाइते क्यासिनो तारामा कार्यरत कांग्रेस निकट मजदुर महादेव सुवेदीको स्वास्थ्य अवस्था बुझ्न आज नक्सालस्थित हिमाल अस्पताल पगेका पौडेलले माओवादीको हिंसा मोहका कारण मुलुकले निकास पाउन नसकेको बताए ।

उनले माओवादीले आफ्ना अराजक र हिंसात्क गतिविधि नियन्त्रण नगरे त्यसले माओवादीलाई नै क्षति पुराउने चेतावनी दिए ।

होटल हायत रिजेन्सीमा रहेको क्यासिनो तारामा कार्यरत सुवेदीलाई हिजो बिहान माओवादी निकट मजदुरको समूहले कुटपिट गरेर घाईते बनाएको थियो । कांग्रेस नेता पौडेलले घटना बारे छानविन गरी दोषीउपर कारवाही अगाडी बढाउन आफूले पहल गर्ने बताए ।

घाइतेको अवस्था बुझ्न टे«ड युनियन कांगे्रसका अध्यक्ष लक्ष्मण बस्नेत लगाएतका मजदुर नेताहरु पनि हिमाल अस्पताल पुगेका थिए ।

क्यासिनोमा कार्यरत माओवादी निकट मजदुर पवन हटुवालको समूहले सवेदीलाई कुटपिट गरेको भन्दै घाईतेका आफन्तले तत्काल कारबाही गर्न माग गरेका छन् ।

युनियन गठनको विषयलाई लिएर क्यासिनो तारामा कांग्रेस र माओवादी मजदुरबीच पटकपटक झगडा हुँदै आएको छ ।

प्रतिक्रिया