फरक शैलीका दुई स्टार

 

काठमाडौं, ७ चैत । चौथो एसियन फुटबल कन्फेडेरेसन -एएफसी) च्यालेन्जकपमा सोमबार तुर्कमेनिस्तानका कप्तान बर्डी सामुराडोभ एकाएक ‘जिरो’ भए । प्रतियोगिताको फाइनलको अन्त्यतिर उनले निकै कठिन समयको सामना गर्नुपर्‍यो । समकक्षीले कुटौंलाजत्तिकै गरे, खेल सकिएपछि प्रतियोगिताको समापन नहुँदासम्म उनी झोक्रिएर एक्लै बसे ।
खेलको अन्त्यतिर प्राप्त पेनाल्टीमा चुकेपछि सामुराडोभले सो स्थितिको सामना गर्नुपरेको थियो । सो पेनाल्टी सदुपयोग भएको थियो भने सायद अन्तर्राष्ट्रिय फुटबलमा तुर्कमेनिस्तानले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हात पार्ने थियो । खेलको सुरुआतमै गोल गरेर साविक उपविजेता टोलीलाई अप्रत्यासित अग्रता दिलाएका सामुराडोभ तुर्कमेनिस्तान फुटबलका अहिलेसम्मकै महान खेलाडी मानीन्छन् । घरेलु फुटबलमा उनको विशेष ‘शान’ छ । तुर्कमेनिस्तानलाई अन्तर्राष्ट्रिय फुटबलमा यो स्थितिसम्म ल्याइपुर्‍याउन २९ वषर्य यी फर्वार्डको भूमिका कम छैन ।
सन् २००८ मा राष्ट्रिय टिममा डेब्यु गरेका सामुराडोभले अहिलेसम्म ९ गोल गरेका छन् तर ती गोलको ‘तौल’ त्यत्तिकै विशेष छ । चार वर्षअघि भियतनामविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा मध्यएसियाली टोली तुर्कमेनिस्तानले एचसिएम सिटी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । सन् २०१० को एएफसी च्यालेन्जकप प्रतियोगितामा तुर्कमेनिस्तानलाई छनोट गराउन सामुराडोभको भूमिका सबैभन्दा बढी रहयो । उनले छनोटका तीनवटै खेलमा गोल गरेका थिए । सन् २०१० को एएफसी च्यालेन्जकपको फाइनलमा सामुराडोभले सोमबारझ उत्तर कोरियाविरुद्ध टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । यसपटक पनि सामुराडोभ एएफसी च्यालेन्जकपको फाइनल खेल सकिनु १० मिनेट अघिसम्म ‘हिरो’ थिए । टोलीलाई सफल कप्तानी गर्ने क्रममा लगातार दोस्रोपटक फाइनल पुर्‍याए । अनि फाइनल अघिसम्म एउटा पनि गोल नखाएको उत्तर कोरियालाई पहिलो गोलको ‘स्वाद’ चखाए । तर पनि अन्तर्राष्ट्रिय खेल जीवनको उत्तरार्द्धतर्फ धकेलिरहेका उनले राष्ट्रिय टोलीलाई अभूतपूर्व सफलता दिलाउने सम्भव ‘आकाङ्क्षा’ भने पूरा गर्न सकेनन्, ‘आफ्नै’ कारणले  ।
सन् २००३ बाट व्यावसायिक फुटबल खेल्न थालेका सामुराडोभ तुर्कमेनिस्तानको पहिलो श्रेणीको लिग ‘योकारी लिगा’ मा ६ संस्करणका सर्वाधिक गोलकर्ता हुन् । योकारी लिगामा उनले सन् २००९ मा राजेपमिराटको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका थिए भने त्यसको एक वर्षपछि सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका थिए । हाल तुर्कमेनिस्तानी क्लब एएफसी अस्गाबातमा आबद्ध सामुराडोभ एक समय यतिसम्म लयमा थिए कि उनको प्रतिखेलमा गोलऔसत एकभन्दा बढी थियो । सन् २००३ मा स्थापना भएको विश्वविद्यालय क्लब एचटिटियु अस्गावातमा त्यसको एक वर्षपछि आबद्ध हुने क्रममा सामुराडोभले सो क्लबलाई दुईपटक लिग उपाधि, तीनपटक घरेलु प्रेसिडेन्ट्स कप उपाधि र दुईपटक लिगकप उपाधि दिलाएका थिए ।

चेल्सीका पूर्वखेलाडी, मोडल अनि कलाकार
चौथो एएफसी च्यालेन्जकपमा सुरुआतमा उनको खासै चर्चा भएन । तर जब ‘सानो’ टोलीका रूपमा सहभागी भएको फिलिपिन्सले एकपछि अर्को जित र सफलता हात पार्दै गयो उनी पनि एकाएक चर्चामा आए । उनी अर्थात् फिलिपिन्सका फर्वार्ड फिलिप जेम्स योङहज्ब्यान्ड ।
फिलिपिन्स यसपटक एएफसी च्यालेन्जकपमा तेस्रो भयो । यस प्रतियेागितामा दक्षिणपूर्वी एसियाबाट सेमिफाइनल पुग्ने फिलिपिन्स पहिलो टोली बन्यो । टोलीको यस सफलतामा २४ वषर्ीय फिलिपको योगदान पनि विशेष रहयो र उनले पनि विशेष सफलता हात पारे । प्रतियोगितामा कुल ६ गोल गरेर उनी ‘हाइएस्ट स्कोरर अफ द टुर्नामेन्ट’ भए । यस क्रममा उनले दुई खेलमा दुई गोल गरे जसले उनलाई दोस्रो सर्वाधिक गोल गरेका उत्तर कोरियाका मिडफिल्डर पाक नाम चोलभन्दा दुई गोलले अगाडि राख्यो । बलिया टोलीका खेलाडीलाई पछि पारेर यति ठूलो सफलता हात पार्ने फिलिप को हुन् त ?
फिलिप चेल्सीका पूर्वखेलाडी हुन् । उनले विश्वचर्चित इङलिस क्लब चेल्सीमा ११ वर्ष बिताए- जुनियर टिममा सात वर्ष र तीन वर्ष सिनियर टिममा । सन् १९९७ देखि चेल्सीको जुनियर टिममा रहेर खेलेका यिनले सन् २००५ पछि सिनियर टोलीमा खेलेका थिए । सन् २००८ मा चेल्सीले उनलाई मुक्त गरेको थियो । यद्यपि चेल्सीको सिनियर टिममा रहँदासम्म उनले कहिले पनि खेल्ने अवसर पाएनन् ।
उनी बेलायती-फिलिपिनो हुन् अर्थात् उनका बुबा बि्रटिस हुन् भने आमा फिलिपिनो । सन् २००६ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ३४ खेलमा २४ गोल गरिसकेका छन् । फिलिपलाई फिलिपिन्समा युवापुस्ता ‘आइकन’ र ‘सेलिब्रेटी’ का रूपमा लिने गर्छन् । त्यसो हुनुको कारण फिलिप फुटबलमै आबद्ध भएकोले मात्र भने होइन । उनी  चर्चित युवापेन्टर र मोडल पनि हुन् । राम्रो जिउडाल र ‘ग्ल्यामर’ का कारण मोडलिङ क्षेत्रमा फिलिपिन्समा फिलिपको क्रेज नै छुट्टै छ । फिलिपका भाइ जेम्स पनि राष्ट्रिय फुटबल टोलीमा छन् । उनी ‘विङ्गर’ का रूपमा खेल्ने गर्छन् ।

प्रतिक्रिया