भ्रष्टाचार भन्दै अख्तियारमा उजुरी

कैलाली, ७ चैत । खेलकुद प्रतियोगिताको व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणमा ठूलो रकमको भ्रष्टाचार भएको भन्दै दलहरूद्वारा गठित छानबिन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा कारबाहीका लागि उजुरी हालेको छ ।
मङ्गलबार कैलाली जिल्ला प्रशासन कार्यालयमा उनीहरूले भौतिक संरचना निर्माण र तयारीमा भएको करोडौंको अनियमितताले आफ्नो गम्भीर ध्यानाकर्षण भई सो कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै अख्तियारका अतिरिक्त प्रधानमन्त्री कार्यालय र संसदीय लेखा समितिमा लिखित उजुरी हालेका हुन् ।
गत १४ देखि २१ फागुनसम्म सुदूरपश्चिममा भएको खेलकुद प्रतियोगितामा करोडौं रुपियाँ भ्रष्टाचार भएको आफूहरूले प्रमाण फेला पारेकाले बाध्य भएर कारबाहीका लागि न्यायको ढोका घच्घच्याउनुपरेको सर्वदलीय छानबिन समितिका संयोजक तथा नेपाली कांग्रेसका कैलाली नेता नारायणदत्त भट्टले बताए । यो समिति छैटौं खेलकुद प्रतियोगिता सुरु हुनुभन्दा अगाडि गठन गरिएको थियो । पूर्वाधार निर्माण र व्यवस्थापनमा करोडौं रुपियाँ हिनामिना भएको छ । हिनामिना भएको प्रमाणसहित छैटौं तयारी सचिवालय पदाधिकारीहरू र राष्ट्रिय खेलकुद परिषद्लाई विपक्षी बनाई उजुरी हालिएको छ ।
भौतिक संरचनाको निर्माण स्टिमेट तथा मापदण्डविपरीत बनाइएको गुणस्तरहीन सामानको प्रयोग भएकोले महिनादिन नबित्दै खेलमैदान, ट्रयाक भत्किएको तथा पानी जमेर तलाउ भएको, ४२ लाख रुपियाँमा मर्मत गरिएको कभर्डहल चुहिएको, स्टिमेटमा कर्भडहलभित्र काठ प्रयोग हुनुपर्ने भए पनि प्लाइउड प्रयोग छ तथा लाखौं रकममा बनाइएका कोर्टहरू भत्किएका छन्, यो नै भ्रष्टाचारको ठूलो प्रमाण हो- संयोजक भट्टले भने ।
त्यस्तै, प्रतियोगिता सम्पन्न भएपछि बसोबास तथा खानपिनका बिल बढाएर लगेको, उपसमितिमा सदस्य रहेका धेरैजनालाई काममा नआएको भन्दै हस्ताक्षर गराएर भत्ता नदिएको प्रमाण भेटिएको छानबिन समितिका पदाधिकारीहरूले बताएका छन् । छैटौंमा भएको भ्रष्टाचारका लागि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमाले कैलाली सचिव दीर्घ सोडारीले बताए । उनले सामान्य पानी पर्दा नवनिर्मित रङ्गशाला भत्किएको छ । यसले सम्पूर्ण खेलाडी तथा खेलप्रेमीको भावनामा आघात पुगेको उनले बताए ।
सर्वदलीय छानबिन समितिले सदस्य-सचिव युवराज लामाले खेल सकिएलगत्तै खर्च विवरण सार्वजनिक गर्ने आफूसँग प्रतिबद्धता जाहेर गरे पनि हालसम्म केही नगरेर सम्पर्कविहीन भएको संयोजक भट्टले आरोप लगाए । उनले खेलकुदमा भएको सबै खर्चको विवरण यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग गरे । दलको छानबिन समितिको उजुरीपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले आफूले सम्बन्धित निकायमा पत्र पठाउने र के भएको हो भनेर बुझ्ने बताए ।

प्रतिक्रिया